सम्पादकीयः बाँदरको दीर्घकालीन व्यवस्थापन आवश्यक



नेपालका पहाडी जिल्लामा पछिल्लो समय बाँदरको आतंक किसानका लागि ठूलो चुनौती बनेको छ । वर्षभरि दुःख गरेर लगाएको मकै, गहुँ, कोदो, फापर, आलु, फलफूल तथा तरकारी बाली केही घण्टामै बाँदरको समूहले नष्ट गरिदिने अवस्था सिर्जना भएको छ । यसले किसानको श्रम, समय र लगानीमाथि मात्र प्रहार गरेको छैन, गाउँघरको सामाजिक र आर्थिक संरचनालाई समेत कमजोर बनाउँदै लगेको छ । खेतीपातीबाट जीवन धान्ने परिवारहरू निराश बनेका छन् भने कतिपय गाउँमा बसाइँसराइको क्रम समेत तीव्र भएको देखिन्छ । पहाडी भेगका किसानले अहिले खेतबारीमा काम गर्नुभन्दा बाँदर धपाउन बढी समय खर्चिनुपरेको छ । विद्यालय जाने उमेरका बालबालिकासमेत किताब बोकेर पढ्नुभन्दा बालीको चौकीदारी गर्न बाध्य छन् । यसले उनीहरूको शिक्षा, मानसिक विकास र बालअधिकारमाथि प्रत्यक्ष असर पु¥याएको छ । किसानको दिनचर्या खेती उत्पादन बढाउनेभन्दा पनि उत्पादन जोगाउने संघर्षमा सीमित भएको छ । बाँदरको समस्या नयाँ होइन, तर पछिल्ला वर्षहरूमा यसले विकराल रूप लिएको छ ।

वन क्षेत्र विस्तार, प्राकृतिक वासस्थानमा परिवर्तन, खाद्यान्नको अभाव तथा मानव बस्ती नजिकको सहज पहुँचका कारण बाँदरहरू गाउँ र खेतबारीतर्फ आकर्षित भएका छन् । अर्कोतर्फ, गाउँबाट युवाशक्ति विदेशिनु र खेतीयोग्य जमिन बाँझो रहनु पनि यस समस्याको एउटा कारण हो । मानव गतिविधि कम भएका क्षेत्र बाँदरका लागि सुरक्षित वासस्थान बन्दै गएका छन् । यति गम्भीर समस्या हुँदाहुँदै पनि राज्यका तर्फबाट प्रभावकारी र दीर्घकालीन समाधान खोजिएको देखिँदैन । स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबीच जिम्मेवारी एकअर्कामा थोपर्ने प्रवृत्ति विद्यमान छ । कतिपय स्थानमा विद्युतीय बार, सामुदायिक निगरानी, बाँदर नियन्त्रण टोली वा क्षतिपूर्ति कार्यक्रम सञ्चालन गरिए पनि ती पर्याप्त र दिगो हुन सकेका छैनन् । किसानले भोगिरहेको पीडाको तुलनामा सरकारी पहल अत्यन्त न्यून देखिन्छ । बाँदरलाई मार्ने वा हिंसात्मक उपाय अपनाउने विकल्प उपयुक्त होइन । वन्यजन्तु संरक्षण र मानव जीवनयापनबीच सन्तुलन कायम गर्नु आजको आवश्यकता हो । त्यसका लागि वैज्ञानिक अध्ययनका आधारमा बाँदर व्यवस्थापन नीति निर्माण गर्नुपर्छ ।

बाँदरको सङ्ख्या, वासस्थान, आहार र व्यवहारबारे विस्तृत अनुसन्धान गरी दीर्घकालीन योजना तयार गर्न आवश्यक छ । आवश्यक परे नियन्त्रण तथा स्थानान्तरणका उपायहरू पनि कानुनी र वैज्ञानिक ढङ्गले अघि बढाउन सकिन्छ । त्यसैगरी, किसानलाई बाली क्षतिको उचित क्षतिपूर्ति दिने व्यवस्था गर्नुपर्छ । कृषिबीमा कार्यक्रमलाई प्रभावकारी बनाउँदै वन्यजन्तुजन्य क्षतिलाई पनि समेट्न आवश्यक छ । स्थानीय तहहरूले सामुदायिक विद्युतीय बार, आधुनिक प्रविधिमा आधारित निगरानी प्रणाली तथा सामूहिक खेती प्रणालीलाई प्रोत्साहन गर्नुपर्छ । बाँदरले कम क्षति पु¥याउने वैकल्पिक बाली प्रवद्र्धन गर्ने विषयमा पनि अनुसन्धान र विस्तार सेवा प्रभावकारी बनाउनुपर्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा, पहाडका किसानलाई निराश हुन नदिने वातावरण निर्माण गर्नुपर्छ । खेतीपातीबाट जीविकोपार्जन गर्न नसक्ने अवस्था बनेमा बसाइँसराइ अझ बढ्नेछ, गाउँहरू रित्तिनेछन् र खाद्य सुरक्षामा गम्भीर असर पर्नेछ । कृषि उत्पादन घट्दा देशको आयात निर्भरता झन् बढ्नेछ । त्यसैले बाँदर आतंकलाई सामान्य समस्या ठानेर बेवास्ता गर्नु उचित हुँदैन । किसानको पसिना र परिश्रमको सम्मान गर्ने हो भने उनीहरूको बाली जोगाउने जिम्मेवारी पनि राज्यले लिनुपर्छ । पहाडको खेती, संस्कृति र जीवनपद्धति जोगाउन बाँदर व्यवस्थापनलाई राष्ट्रिय प्राथमिकताको विषय बनाउनु आजको अपरिहार्य आवश्यकता हो । अन्यथा, बाँदरले नष्ट गरेको बालीसँगै पहाडको कृषि सभ्यता र गाउँको जीवन्तता पनि क्रमशः हराउँदै जाने खतरा बढ्दै जानेछ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार २३ गते मंगलबार