एआईले शिक्षकलाई के गर्छ ? स्थापित कि विस्थापित ?



अहिलेको पाठ्यक्रमले हरेक विषय र तहको प्रकृति अनुसार पच्चिसदेखि पचास प्रतिशतसम्म प्रयोगात्मक र परियोजना कार्य गर्नेगरी क्रियाकलापहरूको ढाँचा तयार गरिएको छ । यसरी पाठ्यक्रमले तोकेको ढाँचा अनुसार सिकाइ गर्नका लागि विद्यार्थीहरूले समूहमा काम गर्नुपर्ने हुन्छ । फिल्डमा गएर अवलोकन र अन्तक्र्रिया गर्नुपर्ने हुन्छ ? किताब पढेजस्तै गरेर कतिपय गाउँसमाजको अध्ययन गरेर त्यसबाट प्राप्त हुने अनुभूति र अनुभवबाट समेत सिक्नुपर्ने हुन्छ ।

जीतबहादुर शाह

भेरीगङ्गा नगरपालिका, सुर्खेतको एउटा विद्यालयका केही शिक्षक प्रतिनिधि र केही विद्यार्थीहरूलाई एउटा गैरसरकारी संस्थाले गोष्ठीमा बोलाएछ । गोष्ठीमा अन्य क्रियाकलापहरूका अतिरिक्त शिक्षक र विद्यार्थीहरूको अलग–अलग समूह निर्माण गरेर एउटै विषयमा समूह कार्य गर्नका लागि सहजीकरण पनि गरिएछ । समूह कार्यमा स्वभावैले विद्यार्थीहरूको भन्दा शिक्षकको राम्रो हुनुपर्ने हो । किनभने शिक्षकहरू भनेका सहजकर्ता हुन्, गुरु हुन्, मार्गनिर्देशक हुन् । साथै शिक्षकहरू अनुभव र ज्ञानको हिसावले पनि विद्यार्थीहरू भन्दा अगाडि नै हुन्छन् । तथापी समूह कार्यको प्रस्तुतिको क्रममा जसले पनि सहजरूपमा ठहर गर्न सकिने गरी विद्यार्थीहरूको समूह कार्य राम्रो र छिटोछरितो पनि देखियो । यो कुरा अरुले त ठहर गरे नै, स्वयम् उनीहरूका शिक्षकहरूले समेत महसुस गरे । यो कुरा कसरी सम्भव भयो ? गुरु ‘गुड’ भइरहे, चेला भने चिनी भइसके भनेझै यो कुरा कसरी सम्भव भयो त ? भन्ने बारेमा वहस हुदैगर्दा विद्यार्थी समूहले कुनै पनि छलकपट नगरीकनै भने ः हामीले एआई (कृत्तिम बौद्धिकता) पनि प्रयोग गरेका थियौँ जसले हामीलाई समूह कार्यको फर्मेट र विषयवस्तु उत्पादनमा सहज र छिटोछरितो भएको थियो । माथिको दृष्टान्तमा उल्लेख गरिएझै आधुनिक विज्ञान र प्रविधिको तीव्र विकाससँगै आजको विश्वमा कृत्रिम बौद्धिकता (एआई)ले जीवनका हरेक क्षेत्रलाई प्रभावित पारेको छ । शिक्षा क्षेत्र पनि यसको प्रभावबाट अछुतो रहन सकेको छैन् । च्याटजीपीटी, जेमिनी, क्लाउड, माइक्रोसफ्ट कोपाइलट, पर्पलिसिटी, डिपसिक, ग्रोक, मेटाएआई जस्ता जेनेरेटिभ एआर्ई उपकरणहरूको आगमनसँगै कक्षाकोठा, शिक्षण विधि र सिकाइ प्रक्रियामा ठूलो हलचल आएको छ । यो परिवर्तनलाई हेरेर धेरैमा एउटा गम्भीर प्रश्न उब्जिएको छ । के एआर्ईले शिक्षकलाई विस्थापित गर्छ वा अझै स्थापित गर्छ ? यो प्रश्न केवल प्रविधिको भविष्यसँग मात्र होइन, मानव सभ्यता, शिक्षाको मूल्य र भविष्यको जनशक्ति निर्माणसँग जोडिएको छ । हामीले यसको प्रयोग गर्छौ कि गर्दैनौँ ? गरेपछि कसरी र कुन कामका लागि गर्छौ ? र यसलाई हामी सहयोगीको रूपमा प्रयोगमा ल्याउछौँ वा मालिकको रूपमा ? भन्ने जिज्ञासाहरूको खोजी गर्ने क्रममा ‘हामीलाई एआईले स्थापित गर्छ वा विस्थापित ?’ भन्ने सवाल यतैकतै अल्झिएको छ ।

पाठ्यपुस्तकलाई नै सर्वश्व ठान्ने र एकपटक बनाएको नोट वा पाठ्ययोजनालाई वर्षौँसम्म प्रयोगमा ल्याउने शिक्षकहरूका निम्ति एआईले अब खतराको घण्टी बजाएकै हो । सिकारुलाई सिकाइमा सक्रिय हुनुपर्छ भन्ने तर आफू सिकाइमा सक्रिय नहुने शिक्षकहरूले साँच्चिकै अब शिक्षण पेसामा अल्झिराख्नुमा सम्मानको प्राप्ति होइन कि समस्याभित्र बल्झिनु भन्दा अरु देखिदैन् । समयअनुसार चल्न नसक्ने जोकोहीलाई पनि नदी र सागरले कसिङ्गरहरूलाई पाखा लगाएजस्तै अल्छी शिक्षकहरूलाई पनि पाखा लगाउने सम्भावना प्रवल देखिएको छ । कतिवर्ष पहिले नै साहित्यमा नोवेल पुरस्कार विजेता भारतीय साहित्यकार रविन्दनाथ टैगोरले भन्नु भएको थियो कि शिक्षक वा गुरु भनेको मैनबत्तीजस्तै हुनुपर्दछ जो अरुलाई बाल्नका लागि आफू नै पहिले बल्नु पर्छ । कतिवर्ष पहिले आर्जन गरेको शिक्षा र अध्ययन गरेको हाल निभिसकेको विषयवस्तुका आधारमा शिक्षण गर्नका लागि कक्षामा जानु भनेको आफू निभेर पनि अरुलाई बाल्नका लागि गरिएको दुष्प्रयास भन्दा अरु हुन सक्दैन । मलाई त लाग्ने गर्दछ कि बालबालिकालाई रुची र आवश्यकताअनुसारको परिवेश कक्षामा निर्माण गर्न सकिदैन र पुरानै थोत्रा विषय र विधिहरू लिएर कक्षाकोठामा जानु भनेको पानी नआउने धाराको टुटी पानी आउदैन भन्ने जानकारी भएर पनि पटकपटक खोल्नुजस्तै मुखर्ता भन्दा अरु केही हुन सक्दैन । विगतमा प्रविधिले शिक्षकलाई सहयोग गर्ने साधनको रूपमा मात्र काम गरेको थियो, जस्तै— प्रोजेक्टर, कम्प्युटर वा अनलाइन कन्टेन्ट । तर एआर्ईले केवल सूचना देखाउने मात्र होइन, आफैँ सोच्न, विश्लेषण गर्न, प्रश्नहरूको उत्तर दिन र विद्यार्थीका व्यक्तिगत क्षमता अनुसार सिकाइ सामग्री तयार गर्न सक्ने क्षमता राख्छ, त्यो पनि केही सेकेन्डमा । प्रत्येक विद्यार्थीको क्षमता र कमजोरी पहिचान गरी उसै अनुसारको पाठ्यसामग्री प्रदान गर्नसक्छ एआईले । शिक्षकको प्रशासनिक कार्यमा सहयोग पुग्ने गरी हाजिरी बनाउने, परीक्षाका प्रश्नपत्र तयार गर्ने, गृहकार्य जाँच्ने र रिपोर्ट कार्ड बनाउने जस्ता समय लिने कामहरू केही सेकेन्डमै सम्पन्न गर्नसक्छ एआईले । विद्यार्थीहरूले जुनसुकै समयमा आफ्ना जिज्ञासा मेटाउन सक्ने डिजिटल सहयात्रीको रूपमा एआईले भूमिका निर्वाह गर्नसक्छ । यी सबै क्षमताहरू देखेर धेरैले अब विद्यालय र विश्वविद्यालयमा मानिस शिक्षकको आवश्यकता पर्दैन भन्ने अनुमान गर्न थालेका छन् । तर, यो दृष्टिकोणले शिक्षाको वास्तविक मर्म र शिक्षकको बहुआयामिक भूमिकालाई पूर्ण रूपमा बुझ्न सकेको देखिदैन ।

कतिपय गतिलै लेखकहरूले पनि नेपालको पाठयक्रम ठिक छैन भनेर भाषण गरेको र लेखेको देख्छु । म त भन्छु, पाठ्यक्रम ठिकसँग लेखिएको छ तर यसको अभ्यास त्योअनुसार हुन सकेको छैन् । पाठ्यक्रमले कुनै पनि सिकाइ उपलब्धिलाई ज्ञान (के), सिप (एस), अभिवृत्ति (ए), मूल्य (भि) र काम गर्ने क्षमता (ए) को तराजुमा राखेर सक्षमता मापन गरिनु पर्छ भनिएको छ । मानौँ सिकाइउपलब्धिको रूपमा कुनै कक्षाको कुनै विषयमा स्याउ खेती गर्ने तरिका र यसको महत्वको बारेमा आवश्यक सिपको विकास गर्न भनिएकोमा हामीले स्याउखेतीको तरिका र यसको महत्वको बारेमा किताबमा भएको कुरा पढ्दै र त्यही विषयमा प्रश्नोत्तर गर्दै भ्याइदिन्छौँ । यो भनेको त पाठ्यक्रमले अपेक्षा गरेको पाँचओटा मध्ये एउटा पक्ष ज्ञान मात्र हो । यसको खेती वा प्रयोगको सिप पनि सिकाउन सक्नु प¥यो जुन पाठ्यक्रमको सिपसँग सम्बन्धित सक्षमतासँग प्रयुक्त भयो । यसो गर्दै गर्दा विद्यार्थीमा स्याउको खेती र यसको महत्वको बारेमा के कस्ता धारणाको विकास भयो ? नकारात्मक वा सकारात्मक ? आशावादी वा निराशावादी ? जुन प्रवृत्तिसँगसँग सम्बन्धित भयो । यस क्रियाकलाप वा पाठबाट सिकेको कुराको महत्व के देखियो त भन्ने कुरा मूल्यसँग सम्बन्धित रहयो भने यी सबै क्रियाकलाप र सिकाइबाट जीवनमा के गर्न सकिन्छ त ? जुन कुरा काम गर्ने क्षमतासँग सम्बन्धित भयो । यी सबै सक्षमतामा आधारित क्रियाकलापहरू एउटा सक्षम शिक्षकबाट गर्न सम्भव हुन्छ, जुन एआईले गर्न सक्दैन । अहिलेको पाठ्यक्रमले हरेक विषय र तहको प्रकृति अनुसार पच्चिसदेखि पचास प्रतिशतसम्म प्रयोगात्मक र परियोजना कार्य गर्नेगरी क्रियाकलापहरूको ढाँचा तयार गरिएको छ । यसरी पाठ्यक्रमले तोकेको ढाँचा अनुसार सिकाइ गर्नका लागि विद्यार्थीहरूले समूहमा काम गर्नुपर्ने हुन्छ । फिल्डमा गएर अवलोकन र अन्तक्र्रिया गर्नुपर्ने हुन्छ ? किताब पढेजस्तै गरेर कतिपय गाउँसमाजको अध्ययन गरेर त्यसबाट प्राप्त हुने अनुभूति र अनुभवबाट समेत सिक्नुपर्ने हुन्छ । यसरी सिक्ने क्रममा शिक्षक र विद्यार्थीहरूको बीचमा, विद्यार्थी र विद्यार्थीहरूको बीचमा, विद्यार्थी र गाउँबस्तीको बीचमा, विद्यार्थी र गाउँवस्तीका मानिसहरूको बीचमा हुने अन्तक्र्रिया, अवलोकन र अध्ययनबाट आत्मीयता, हार्दिकता, सहानुभूति, परानुभूति, सहयोग, दया, माया, प्रेम, करुणा, सुख, दुःख, हाँसो, खुसी आदिजस्ता संवेगहरूको विकास हुने गर्दछ विद्यार्थीहरूमा ।

यस्तो अवस्थाका कतिपयका दुःख देखेर आफ्नो आँखा रसाउने र मन भक्कानिने गर्दछ । कतिपयले गरेको कार्य देखेर अङ्गालो हालेर धन्यवाद दिनु पर्ने हुन्छ । यसरी हुने सिकाइ अन्तक्र्रियात्मक हुने गर्दछ, कथानक किसिमको हुने गर्दछ र संवेगात्मक र भावनात्मक पनि । यसरी सिकाउन सक्ने क्षमता हुदैन एआई र प्रविधिसँग ।
अध्ययनको क्रममा बेलायतमा गएका मोहनदास करमचन्द्र गान्धीले रेलको यात्रा गर्ने क्रममा उनलाई बसिरहेको सिटबाट उठाएर दोस्रो दर्जाको नागरिक वा सोसरहको व्यवहार गरी रेलको अर्को डिब्बामा बस्न लगाइयो जसको परिणामस्वरुप उनको मनमा अग्रेजहरूप्रति प्रतिशोधको आगो बल्यो र भारत आएर अग्रेजविरुद्धको आन्दोलनको अगुवाई गरेर भारतको राष्ट्रपितामा उनको नाम दर्ज भयो । युवराज सिद्धार्थ गौतम राजदरबारबाट बाहिर निस्केर विभिन्न स्थानको भ्रमण गर्ने क्रममा जीवनमा पहिलो पटक मानिस बिरामी भएको देखे, मानिस बुढो भएको देखे र मानिस मरेको देखे । यसले उनलाई हजारौं किताव अध्ययन गरेर आर्जन गरेको ज्ञानभन्दा पनि महान ज्ञान प्राप्त भयो र परिणामतः उनले सुखसयलले भरिएको दरबार छोडेर सन्तरुप धारण गरी जंगलतिर लागे । त्यसपछि फर्किदा विश्वका शान्तिका दुत गौतम बुद्ध भएर आफ्नो परिचय बनाए । त्यसैले म त भन्छु, शिक्षकहरूले विद्यार्थीहरूलाई राम्रोसँग चिनेर उनीहरूसँग सहकार्य गरौँ, उनीहरूलाई बुझेर स्यावासी, सहयोग र परामर्श प्रदान गर्न अल्छी नगरौँ । एआईले दिने सूचना र ज्ञानलाई पनि संकलन र ग्रहण गरौँ । यसको नेतृत्व विद्यार्थीहरूलाई नै गर्ने अवसर दिऔँ । कुन एआईले के भन्छ त्यो बारेमा पनि छलफल गरौँ । आवश्यकता पर्दा समन्वय गर्ने भूमिका शिक्षकले निर्वाह गरौँ । यस्ता क्रियाकलापहरूलाई अघि बढाउन सक्यौँ भने एआर्ई हाम्रो निम्ति मात्र एउटा सहयोगी हुन सक्छ न कि मालिक । अहिले ज्ञान जता पनि पोखिएको छ । पहिलेजस्तो ज्ञानको लागि गुरू नै खोज्नु पर्ने छैन । पुस्तकहरू पनि बग्रेल्ती मिल्छन् पहिलेजस्तो एउटा किताबका लागि डाडा काटेर जानु पर्दैन । यस्ता कामको जिम्मा एआईले नै दिए हुन्छ । बरु एआईले दिने ज्ञानको तुलनात्मक अध्ययन गर्ने बानी गरौँ । अहिले इन्टरनेट र साइबरमा सत्यभन्दा भ्रम छरिएको अवस्था छ । वाइएन हरारीले लेखेको एक्काइसौँ शताब्दीका एक्काइस पाठहरू नामको किताबमा अब त हुँदाहुँदा एआईले मानिसको दिमाग नै ह्याक गर्ने अवस्था आइसकेको छ उल्लेख छ ।

बाटोमा डो¥याएर ल्याउँदै गरेको खसीलाई जति भेटिन्छन् ती सबैले कुकुर भनेर कुरा गर्न थालेपछि ती खसी डो¥याउने मानिसले कुकुर पो रहेछ भनेर खसीलाई छोडेर हिडेजस्तै सत्य कुरालाई असत्य रहेछ भन्दै असत्य कुरालाई सत्य भनेर पछि लाग्नु पर्ने स्थिति देखिएको छ । यसका लागि शिक्षकले शिक्षण सिकाइका क्रममा पाँच ‘इ’ को साइकललाई अबलम्बन गर्नु पर्ने देखिन्छ । पहिलो त विद्यार्थीहरूलाई विभिन्न तरिकाबाट काम दिएर ध्यानाकर्षण गराउदै इन्गेज गराउनु पर्दछ । काममा इन्गेज भएपछि कुरा पत्ता लाग्यो त भनेर एक्सप्लोर (अन्वेषण) गर्न प्रेरित गर्ने, एक्सप्लोर भएको कुरालाई स्पष्टसँग लिपिबद्ध अर्थात एक्सप्लेन गर्ने, एक्सप्लेन भएको कुरालाई अझै इलाबोरेट अर्थात सविस्तार व्याख्या गर्ने र अन्तमा कामको इभालुसन गर्ने । यी सबै प्रक्रियामा शिक्षकले विद्यार्थीहरू सँगसँगै रहेर सहयोग र सहकार्य गर्ने कुरामा कञ्जुस्याइ भने गर्नुहुँदैन । पौराणिक कालतिर मानिस अर्थात देवतालाई राक्षसहरूले दुख दिएजस्ते अहिले मानिसलाई भौतिक सुखसुविधाले दुख दिएको अवस्था छ । अभिभावकलाई पनि सन्तान भन्दा प्यारो भौतिक सम्पत्ति लागेर सम्पत्ति जोड्नमै जुनी बिताएको देखिन्छ । शिक्षकको अवस्था त्यस्तै छ । सेवा सुविधा भनेजस्तो भएन भनेर आफ्नो जिम्मामा आएका भविष्यका कर्णधार बालबालिकालाई वेवास्ता गर्ने प्रवृत्ति बढ्दो छ । यस्तो स्थिति बढ्दै गयो भने त गुगलक्लासमा पढ्ने र परीक्षा दिन मात्र स्कुल जाने स्थिति आउने सम्भावना पनि देखिन्छ । उल्लिखित परिस्थितिबाट बालबालिकाहरू सानैदेखि अभिभावक र शिक्षकबाट पाउने माया र प्रेमबाट बञ्चितिमा परेका छन् । यस्तो अवस्थामा विद्यार्थीहरूलाई उनीहरूको पृष्ठभूमिको गहन अध्ययन गरेर अध्यापन गर्ने, उनीहरूको सक्षमताहरूको पहिचान गरेर तिनै सक्षमताहरूको प्रवद्र्धन गर्दै सिक्नका लागि प्रोत्साहित गर्ने तरिकाबाट शिक्षकले आफूलाई परिमार्जन गरेर अघि बढ्न सकेमा एआईले सहयोगी भएर शिक्षकलाई अझ राम्रो शिक्षकको रूपमा स्थापित हुन योगदान पु¥याउने देखिन्छ । अधिकांश शिक्षकहरूको अहिलेको पारा परिवर्तन भएन भने एआईले लखेट्ने सम्भावना पनि त्यत्तिकै प्रवल छ । बाँकी हजुरहरूको मर्जी ।

  • No tags available
प्रकाशित मिति : २०८३ भदौ ४ गते बिहीबार