बाँकेको बैजनाथ गाउँपालिका–२ पितमारी पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइ बन्दै गएको छ । कुनै समय सामान्य खुला चौरका रूपमा रहेको यो क्षेत्र अहिले हरियाली, खुला वातावरण र प्राकृतिक सौन्दर्यका कारण घुमफिर तथा फोटो–भिडिओ खिच्ने आकर्षक गन्तव्यका रूपमा चिनिन थालेको छ । सामाजिक सञ्जालमा पितमारीका दृश्यहरू फैलिँदै जाँदा यहाँ पुग्ने मानिसको सङ्ख्या पनि बढ्दो छ । तर, पर्यटकको चाप बढ्दै जाँदा यस क्षेत्रको व्यवस्थापनमा भने सम्बन्धित निकायले आवश्यक ध्यान दिन सकेको देखिँदैन । कुनै पनि ठाउँ पर्यटकीय गन्तव्यका रूपमा विकास हुनु आफैँमा सकारात्मक उपलब्धि हो । यसले स्थानीय अर्थतन्त्र चलायमान बनाउँछ, रोजगारीका अवसर सिर्जना गर्छ र गाउँको पहिचानलाई फराकिलो बनाउँछ । पितमारीको सम्भावना पनि यही हो । यहाँ आउने पर्यटकले स्थानीय चिया–नास्ता, कृषि उत्पादन, हस्तकला तथा अन्य सेवामार्फत स्थानीय समुदायको आम्दानी बढाउन सक्छन् । तर, यो सम्भावनालाई व्यवस्थित ढंगले अघि बढाउन नसके अहिलेको आकर्षण केही समयपछि अव्यवस्थाको सिकार बन्न सक्छ । पितमारीमा पर्यटकको सङ्ख्या बढेसँगै फोहोर व्यवस्थापन सबैभन्दा महत्वपूर्ण विषय बनेको छ । प्लास्टिकका बोतल, खानेकुराका प्याकेट तथा अन्य फोहोर जथाभावी फालिने अवस्था सिर्जना भयो भने प्राकृतिक सौन्दर्यसँगै पर्यटकको आकर्षण पनि घट्नेछ ।
त्यसैले स्थानीय तहले तत्काल फोहोर संकलनका लागि डस्टबिन राख्ने, नियमित सरसफाइ गर्ने र फोहोर व्यवस्थापनको दिगो प्रणाली विकास गर्नुपर्छ । पर्यटकले पनि आफूले उत्पादन गरेको फोहोर आफैँ व्यवस्थापन गर्ने संस्कार विकास गर्न आवश्यक छ । त्यस्तै, पितमारीमा व्यवस्थित पार्किङ, सार्वजनिक शौचालय, खानेपानी, बस्ने ठाउँ, सूचना बोर्ड र सुरक्षाको व्यवस्था आवश्यक छ । पर्यटक गन्तव्य भन्नासाथ केवल प्राकृतिक सुन्दरता पर्याप्त हुँदैन । आधारभूत पूर्वाधार पनि उत्तिकै महत्वपूर्ण हुन्छ । पहिलोपटक पितमारी पुग्ने पर्यटकले कहाँ जाने, के हेर्ने, कुन क्षेत्रमा प्रवेश गर्न मिल्ने र कुन ठाउँ जोखिमयुक्त छ भन्ने जानकारी सहजै पाउन सक्नुपर्छ । अर्को महत्वपूर्ण पक्ष भनेको स्थानीय समुदायको सहभागिता हो । पितमारीको विकास स्थानीय नागरिकलाई पन्छाएर सम्भव छैन । स्थानीयलाई पर्यटकीय गतिविधिसँग जोडेर उनीहरूकै लगानीमा चिया पसल, स्थानीय परिकार, कृषि उत्पादन बिक्री केन्द्र, फोटो सेवा, गाइड तथा अन्य व्यवसाय सञ्चालन गर्न प्रोत्साहित गर्नुपर्छ । यसो गर्दा पर्यटनबाट सिर्जना हुने आम्दानी गाउँमै रहनेछ र स्थानीयले पितमारीको संरक्षणलाई आफ्नै हितसँग जोडेर हेर्न थाल्नेछन् । पितमारीको विकास गर्दा यसको प्राकृतिक स्वरूप बिगार्ने गरी अनियन्त्रित संरचना निर्माण गर्नु पनि उचित हुँदैन । अहिलेको आकर्षण नै खुला वातावरण, हरियाली र प्राकृतिकपन हो । त्यसैले विकासका नाममा जथाभावी कंक्रिटका संरचना थप्नेभन्दा वातावरणमैत्री र योजनाबद्ध पूर्वाधार निर्माणमा जोड दिनुपर्छ । पर्यटकीय क्षेत्रको विकास र वातावरण संरक्षणबीच सन्तुलन कायम गर्न सकिए मात्रै पितमारी दीर्घकालीन गन्तव्य बन्न सक्छ ।
यस क्षेत्रको दीर्घकालीन गुरुयोजना बनाउनु पनि आवश्यक छ । पितमारीलाई केवल सामाजिक सञ्जालमा भाइरल भएको ठाउँका रूपमा होइन, बाँकेको एउटा व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने स्पष्ट योजना आवश्यक छ । गाउँपालिका, वडा कार्यालय, स्थानीय समुदाय, पर्यटनसँग सम्बन्धित निकाय र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छ । सम्भाव्यता अध्ययन गरेर पूर्वाधार, प्रचार–प्रसार, सुरक्षा, वातावरण संरक्षण र स्थानीय रोजगारीलाई समेट्ने योजना बनाउनुपर्छ । पितमारीको अर्को सम्भावना भनेको डिजिटल पर्यटन प्रवद्र्धन हो । यहाँ आउने पर्यटकले खिचेका फोटो तथा भिडिओ सामाजिक सञ्जालमा राख्दा यसको प्रचार आफैँ भइरहेको छ । स्थानीय तहले पनि व्यवस्थित फोटो तथा भिडिओ सामग्री उत्पादन गरेर पितमारीलाई राष्ट्रियस्तरमा चिनाउन सक्छ । तर प्रचारभन्दा पहिले व्यवस्थापनमा ध्यान दिनु जरुरी छ । पर्यटक बोलाएर आधारभूत सुविधा दिन नसक्नु दीर्घकालमा गन्तव्यकै लागि नकारात्मक प्रचार बन्न सक्छ । पितमारी आज सम्भावनाको चरणमा छ । यसलाई व्यवस्थित गर्न सके बाँकेको नयाँ पर्यटकीय पहिचान बन्न सक्छ; बेवास्ता गरे भीड, फोहोर र अव्यवस्थाले यसको आकर्षण समाप्त पार्न सक्छ । त्यसैले अहिले नै सम्बन्धित निकाय गम्भीर बन्नुपर्छ । पर्यटक बढेपछि मात्र योजना बनाउने होइन, पर्यटकको चाप बढ्दै गरेको अवस्थामै आवश्यक पूर्वाधार र व्यवस्थापनको तयारी गर्नुपर्छ । पितमारी कुनै एक व्यक्ति वा संस्थाको मात्र सम्पत्ति होइन, यो स्थानीय सम्भावना र प्राकृतिक सौन्दर्यसँग जोडिएको साझा गन्तव्य हो । यसको संरक्षण, प्रवद्र्धन र व्यवस्थापनमा सबैको जिम्मेवारी छ । पितमारीलाई भाइरल भएको ठाउँमै सीमित नराखी व्यवस्थित, सुरक्षित, स्वच्छ र दिगो पर्यटकीय गन्तव्य बनाउनेतर्फ अब स्थानीय सरकार र सरोकारवाला निकायले ठोस कदम चाल्नैपर्छ ।









प्रतिक्रिया दिनुहोस्