कोहलपुर (बाँके) ।
बाँके जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्रोतको उपभोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’भन्ने मूल नारासहित बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।शनिबार एक औपचारिक समारोहका बीच लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले बाँके जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेका हुन् ।
स्वास्थ्य मन्त्री घिमिरेले स्वस्थ समाज निर्माणका लागि खोप अभियान अनिवार्य रहेको बताए । उनका अनुसार खोप अभावका कारण बालबालिकामा हुने जटिल रोगहरुबाट बचाउनको लागि खोप अभियान अपरिहार्य रहेको र सोहीअनुसार प्रदेश सरकारले अभियान सञ्चालनलाई प्राथमिकता दिएको छ । ‘स्वस्थ बालबालिका र स्वस्थ समाज निर्माण अहिलेको आवश्यकता हो ।पछिल्लो समय नसर्ने रोगको प्रभाव बढ्दो अवस्थामा छ । यो निकै चिन्ताको विषय हो । त्यसैले त्यस्ता रोगबाट बच्नको लागि हामी सचेत हुन जरुरी छ,’ उनले भने ।
कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य सञ्जुकुमारी चौधरीले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा स्वास्थ्य सुधारको महत्वपूर्ण उपलब्धि भएको बताइन् । उनका अनुसार घोषणाका लागि महिला स्वास्थ्य स्वयम्सेविकाहरुको महत्वपूर्ण भूमिका रहेको छ । उनले घोषणा महत्वपूर्ण कार्यक्रम भए पनि त्यसलाई कायम राख्न आवश्यक रहेकोमा जोड दिइन् ।
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव दुर्गालक्ष्मी श्रेष्ठले नसर्ने रोगहरुको प्रभाव न्यूनीकरणका लागि खोप अभियान अपरिहार्य रहेको बताइन् । उनका अनुसार लुम्बिनी प्रदेशमा शिशु मृत्युदर धेरै रहेको छ । मृत्युदर रोक्नका लागि सचेतना अभियान अत्यावश्यक रहेको उनको भनाइ थियो ।
९४ प्रतिशत बालबालिका खोपको पहुँचमा
बाँकेका ९४ प्रतिशत बालबालिकाले आवश्यक सबैखाले खोपको मात्रा प्राप्त गरेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणासभामा पूर्ण खोप सुनिश्चितासम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै कार्यालय प्रमुख सुनिता पौडेलले बाँकेमा घरधुरी सर्वेक्षणको क्रममा १६ देखि २३ महिनासम्मका ११ हजार ५ सय ६४ जना बालबालिकाको खोपको मात्रा यकिन गरिएको बताइन् ।
उनका अनुसार तीमध्ये १० हजार ७ सय ९९ जनाले खोपको सबै मात्रा प्राप्त गरेका छन् । बाँकी रहेका ७ सय ६५ जना बालबालिकामध्ये १८ जना शून्य डोज र ७४७ जना बालबालिका ड्रपआउट बालबालिका पहिचान भएको कार्यालय प्रमुख पौडेलको भनाइ रहेको छ । यसैगरी बाँके जिल्लाका आठ स्थानीय तहका ११ हजार ५ सय ६४ जना बालबालिकालाई पूर्ण खोपको पहुँचमा ल्याउन सफल भएको उनले बताइन् ।
जिल्ला समन्वय समिति बाँकेका प्रमुख तथा जिल्ला पूर्ण खोप समन्वय समितिका अध्यक्ष ज्ञानेन्द्रबहादुर चौधरीको अध्यक्षतामा सम्पन्न भएको घोषणासभामा जिल्लास्थित सरोकारवालाहरुको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्