सुर्खेत ।
जिल्लाको सिम्ता गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनायुक्त पालिकाका रूपमा औपचारिक घोषणा गरिएको छ । पाँच वर्षमुनिका सबै बालबालिकाले राष्ट्रिय नियमित खोप कार्यक्रमअन्तर्गत पाउनुपर्ने सम्पूर्ण खोप समयमै प्राप्त गरेको पुष्टि भएपछि गाउँपालिकाले आवश्यक सबै मापदण्ड पूरा गर्दै यो मान्यता हासिल गरेको हो ।
‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित आयोजित विशेष समारोहमा उक्त घोषणा गरिएको थियो । यसअघि गाउँपालिकाका सबै नौ वटै वडालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको गाउँपालिका अध्यक्ष ऐनबहादुर चन्दले बताए । उनलाई पालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । प्रमाणपत्र जिल्ला खोप समन्वय समितिका कार्यवाहक अध्यक्ष एवम् नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष मधुवन विसीले हस्तान्तरण गरेका हुन् ।
विकट भूगोल, स्वास्थ्य सेवाको सीमित पहुँच र जनचेतनासम्बन्धी चुनौतीका बाबजुद सिम्ता गाउँपालिकाले हासिल गरेको उपलब्धि जिल्लाकै लागि गौरवको विषय बनेको विसीले बताए । यो सफलता स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि तथा अभिभावकहरूको साझा प्रयासको परिणाम भएको उल्लेख गर्दै आगामी दिनमा पनि पूर्ण खोप सुनिश्चितताको अवस्थालाई दिगो रूपमा कायम राख्न सबै पक्षको निरन्तर सक्रियता आवश्यक रहेको उनले औँल्याए ।
‘स्वास्थ्य क्षेत्रमा जनशक्ति वृद्धि भए पनि स्वास्थ्य सूचकांकमा अपेक्षित सुधार हुन सकेको छैन,’ उनले भने, ‘स्थानीय तह, स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरूले अझ जिम्मेवार र प्रभावकारी रूपमा सेवा प्रवाह गर्नुपर्ने देखिन्छ ।’ जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका खोप फोकल पर्सन घनबहादुर बुढाले सिम्ता गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता प्राप्त गरेसँगै बालबालिकाको स्वास्थ्य सुरक्षा थप सुदृढ भएको बताए ।
उनका अनुसार हालसम्म सुर्खेतका सात वटा स्थानीय तह पूर्ण खोप सुनिश्चितता तथा दिगोपनायुक्त घोषणा भइसकेका छन् भने बाँकी पालिकाहरू पनि आवश्यक मापदण्ड पूरा गर्ने अन्तिम चरणमा छन् । सुर्खेत जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपनायुक्त जिल्ला घोषणा गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष ऐनबहादुर चन्दले पूर्ण खोप सुनिश्चितता घोषणा गाउँपालिकाका सम्पूर्ण नागरिक, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा सरोकारवालाको साझा मेहनतको उपलब्धि भएको बताए ।
कुनै पनि बालबालिका खोपबाट वञ्चित नहोस् भन्ने उद्देश्यका साथ स्वास्थ्यकर्मीहरू गाउँ–गाउँ र घर–घरमा पुगेर सेवा प्रवाह गरिएको उल्लेख गर्दै आगामी दिनमा पनि खोप कार्यक्रमलाई अझ प्रभावकारी, गुणस्तरीय र दिगो बनाइने उनले प्रतिबद्धता व्यक्त गरे । गाउँपालिका उपाध्यक्ष गोमा शर्मा रेग्मीले स्वस्थ बालबालिका नै स्वस्थ समाज र समृद्ध राष्ट्रको आधार भएको बताइन् ।
नियमित खोप कार्यक्रमलाई सफल बनाउन अभिभावकको भूमिका सबैभन्दा महत्वपूर्ण हुने भन्दै प्रत्येक अभिभावकले आफ्ना बालबालिकालाई तोकिएको उमेर र समयमा अनिवार्य रूपमा स्वास्थ्य संस्थामा लगेर खोप लगाउन उनले आग्रह गरिन् । राष्ट्रिय नियमित खोप कार्यक्रमअन्तर्गत जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई बीसीजी, ओपीभी, आईपीभी, पीसीभी, रोटाभाइरस, दादुरा–रुबेला तथा जापानी इन्सेफलाइटिस लगायतका सबै खोप सुनिश्चित भएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनायुक्त घोषणा गरिएको हो ।
घोषणा कार्यक्रममा गाउँपालिकाका नौ वटै वडाका वडा अध्यक्ष, स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, विभिन्न सरोकारवाला निकायका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । सुर्खेत जिल्लामा २०३५ सालदेखि राष्ट्रिय नियमित खोप कार्यक्रम सञ्चालन हुँदै आएको छ ।









प्रतिक्रिया दिनुहोस्