खेलाडी उत्पादनको प्रस्थानविन्दु खजुरा गोल्डकप



गोल्डकप खजुराको लागि यो ऐतिहासिक खेल महोत्सव नै हो । यसले खजुराको पहिचान मात्र बदलेको छैन, बरु स्थानीय खेलाडी उत्पादन र खेल पर्यटनको विकासमा एउटा ठूलो आशाको दियो जगाएको छ । अन्तर्राष्ट्रिय भिडन्त र खजुराको ग्लोबल पहिचान खजुरास्थित मिनी रंगशाला मैदानले पहिलोपटक अन्तर्राष्ट्रियस्तरको भिडन्तको साक्षी बन्ने अवसर पायो । जसले खजुरालाई विश्व फुटबलको मानचित्रमा चिनाउन ठूलो मद्दत ग¥यो ।

खगेन्द्र दाहाल

खेलकुद केवल हार र जितको मैदान मात्र होइन । यो त समाजलाई जोड्ने सेतु, युवा ऊर्जालाई सही दिशा दिने माध्यम र स्थानीय पहिचानलाई विश्वमञ्चमा प्रवद्र्धन गर्ने बलियो इन्जिन पनि हो । लामो समयको खेलकुदको शून्यता र सुस्ताएको फुटबल माहोललाई चिर्दै खजुराले गोल्डकप आयोजना ग¥यो । फुटबलको उर्वरभूमिका रूपमा परिचित खजुराले २०८२ चैत ३० देखि २०८३ वैशाख ६ सम्म प्रथम खजुरा गोल्डकपको आयोजना गरि भव्य रूपमा सम्पन्न गरेर फेरी पनि खजुराको दबदबा कायम राखेको छ । खजुरा गोल्डकप फुटबल प्रतियोगिताले खजुरालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल मानचित्रमा स्थापित गरिदिएको छ । यसको आयोजना गर्न हिम्मत गर्नुनै चुनौतीको विषय थियो । आयोजना गर्ने क्लबलाई ऋण लाग्ने जोखिम उच्च थियो । स्थानीय क्लब, जो जिल्लामै चर्चित छ, न्यू डाँफे स्पोट्र्स क्लबले खजुरा गाउँपालिकाको संरक्षकत्वमा गोल्डकप आयोजनासँगै सम्पन्नसमेत गरेपछि यसको बारेमा चर्चा हुन थालेका छन् । स्थानीय क्लबले गोल्डकपजस्तो प्रतियोगिता आयोजना गर्नु चानचुनको विषय थिएन । गोल्डकप खजुराको लागि यो ऐतिहासिक खेल महोत्सव नै हो । यसले खजुराको पहिचान मात्र बदलेको छैन, बरु स्थानीय खेलाडी उत्पादन र खेल पर्यटनको विकासमा एउटा ठूलो आशाको दियो जगाएको छ । अन्तर्राष्ट्रिय भिडन्त र खजुराको ग्लोबल पहिचान खजुरास्थित मिनी रंगशाला मैदानले पहिलोपटक अन्तर्राष्ट्रियस्तरको भिडन्तको साक्षी बन्ने अवसर पायो । जसले खजुरालाई विश्व फुटबलको मानचित्रमा चिनाउन ठूलो मद्दत ग¥यो । पहिलो प्रतियोगिता आयोजनामै पुरस्कार आर्कषक राखेपछि यसको महत्व झनै बढेको थियो । पुरस्कार राशी प्रदान गर्ने खजुरा ४ ‘डी’गाउँ निवासी हाल अमेरिकामा रहेका लिलबहादुर थापालाई नसम्झिए उनको लागि अन्याय हुनेछ । हरेक प्रतियोगितामा प्रथम राशी उनै थापाले प्रदान गर्दै आएका छन् । खजुराको खेल जगतलाई माथि उठाउन लिलबहादुर थापाको योगदान अतुलनीय छ । स्थानीय खेलाडी उत्पादनमा थपिएको ऊर्जा कुनै समय पश्चिम नेपालकै फुटबलको उर्वरभूमि मानिने खजुराले यो गोल्डकपमार्फत आफ्ना रैथाने खेलाडीहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका नामी खेलाडीहरूसँग प्रतिस्पर्धा गर्ने अभूतपूर्व अवसर दियो । विदेशी र व्यावसायिक खेलाडीहरूको कौशललाई नजिकबाट नियाल्न पाउँदा स्थानीय युवाहरूमा नयाँ जोस र आत्मविश्वास पलाएको छ । क्षितिज मगर र नवीन महतोजस्ता खेलाडीहरूले विधागत पुरस्कार जितेर के प्रमाणित गरिदिएका छन् भने—यदि सही मञ्च र अवसर पाउने हो भने यहि जिल्लाका माटोमा हुर्किएका खेलाडीहरूले पनि अन्तर्राष्ट्रियस्तरका खेलाडीहरूलाई टक्कर दिन सक्छन् । कुलत र प्रविधिको नकारात्मक लतमा फस्दै गएका आजका युवापुस्तालाई मैदानतर्फ आकर्षित गरेर यसले (ग्रासरुट) तल्लो तहदेखि नै नयाँ खेलाडी उत्पादन गर्ने जग बसालेको छ ।

यो प्रतियोगिताले खजुराका कुनाकुनामा लुकेर रहेका प्रतिभाहरूलाई राष्ट्रिय टोलीको जर्सी लगाउने सपना देख्न प्रेरित गरेको छ । प्रथम खजुरा गोल्डकपले खजुरा गाउँपालिकालाई खेल पर्यटनको एउटा बलियो र सम्भावित केन्द्रका रूपमा स्थापित गरिदिएको छ । प्रतियोगिताको सबैभन्दा सुन्दर पक्ष आयोजकले सुरुमा निर्धारण गरिएको प्रवेश शुल्कलाई हटाएर सम्पूर्ण खेलहरू निःशुल्क हेर्न मिल्ने व्यवस्था मिलाउनु थियो । यो रणनीतिक निर्णयले फुटबलको महाकुम्भमा दर्शकहरूको सागर नै ओर्लियो । सात दिनसम्म चलेको प्रतियोगिताभरि ५० हजारभन्दा बढी दर्शकहरूले खेलको प्रत्यक्ष आनन्द लिए भने फाइनल खेलको एकैदिन मात्र १२ हजारभन्दा बढी खेलप्रेमीहरूको विशाल उपस्थिति रहँदा खजुराले एक उचाइ लिएको स्थानीय सतिश निरौला बताउँछन् ।छिमेकी  जिल्लाहरू र सीमापारि भारतबाट समेत खेल हेर्न आएका दर्शकहरूका कारण खजुरा र आसपासका क्षेत्रमा पर्यटकीय चहलपहल ह्वात्तै बढ्यो । खेल अवधिभर बढेको यो आर्थिक गतिविधिले स्थानीय होटल, यातायात, साना सडक व्यवसायी र कृषि उत्पादनको प्रवद्र्धनमा प्रत्यक्ष टेवा पुराएको आयोजक न्यू डाँफे स्पोट्र्स क्लबका अध्यक्ष बालाराम खत्रीले जनाए । खजुरा गोल्डकपले खेलकुदको माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न सकिन्छ भन्ने कुरा पुष्टिसमेत गरेको छ । सहकार्यको अनुकरणीय नमुना र अबको बाटो यो प्रतियोगिता स्थानीय सरकार, खेलकुद संघसंस्था र कर्पोरेट क्षेत्रबीचको एउटा अनुकरणीय सहकार्यको नमुना बनेको प्रतियोगिताका संरक्षक तथा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले बताए । खजुरा गाउँपालिकाको अभिभावकत्व र लुम्बिनी प्रदेश खेलकुद परिषद्को सहयोग रहेको यस प्रतियोगितालाई एमटी एरिनाले टाइटल स्पोन्सर गरि सहयोग पुराएको थियो । प्रतियोगितालाई सम्पन्न गर्न बाँकेका केहि स्थानीय तहहरूले समेत आर्थिक सहयोग गरेका थिए । नेपालगन्ज उपमहानगरपालिका, राप्ती सोनारी, जानकी, बैजनाथ गाउँपालिका, एनसेल तथा म्याक्स टाइगरजस्ता संस्थाहरूले संस्थागत साथ दिएका थिए । पहिलो प्रयासमै ऐतिहासिक सफलता हासिल गरेर खजुरा गोल्डकपले आशा त जगाएको छ, तर यो आशा र उत्साहलाई दिगो बनाउनु अबको मुख्य चुनौती हो ।

खजुरालाई खेल पर्यटनको स्थायी केन्द्र बनाउन र नियमित रूपमा स्तरीय खेलाडी उत्पादन गर्नका लागि खजुरा गाउँपालिका र न्यू डाँफे स्पोट्र्स क्लबले आगामी दिनमा फुटबल एकेडेमीको स्थापना र खेल पूर्वाधारको स्तरोन्नतिमा विशेष लगानी गर्नु आवश्यक देखिन्छ । गोल्डकपपछि खजुरालाई हेर्ने हो भने दर्जन बढी स्थानीय खेलाडी उत्पादन गर्ने प्रतियोगिताहरू सञ्चालन भएका छन् । ‘एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२’ केवल एउटा खेलकुद प्रतियोगिता मात्र थिएन, यो खजुरावासीको साझा सपना, राष्ट्रिय, अन्तर्राष्ट्रिय गौरव र समृद्धिको यात्राको एउटा बलियो प्रस्थानविन्दु पनि थियो । पहिलो संस्करणको यो भव्य सफलताले आगामी संस्करणहरू अझ सशक्त, व्यवस्थित र प्रतिष्ठित हुने विश्वास दिलाएको छ । पहिलो गोल्डकप आयोजना गर्दा सुरुमा बजेट छुटाउन नसके पनि हिउँदे अधिवेशनमार्फत पालिकाले गरेको सहयोग अविस्मरणीय छ । गोल्डकप सञ्चालन गर्न खजुराका स्थानीयले ठूलो त्याग र सहयोग गरेका छन् । देश विदेशबाट खजुरा चिनाउने कार्यक्रम भनेरै सहयोगी जोडिएका छन् । अझ भन्नुपर्दा खजुरा– ४ ‘डी’गाउँवासीले मात्रै १७ लाख जति उठाएर गोल्डकपको लागि प्रदान गरेका छन् । दोस्रोे खजुरा गोल्डकपलाई थप व्यवस्थित बनाउन खजुरा गाउँपालिकाले यस ऐतिहासिक महाकुम्भलाई सफल बनाउन अहोरात्र खटिने आयोजक, संरक्षक खजुरा गाउँपालिकाले नीति र बजेटमै उल्लेख गरिसकेको अवस्था छ । प्रथम खजुरा गोल्डकप सञ्चालन गर्दा गर्मी मौसम अधिक भैसकेको अवस्थामा अबका खेल कात्तिकदेखि फागुनसम्म सक्ने गरि योजना बनाउन आवश्यक देखिएको छ । खेल जसले सञ्चालन गरे पनि खजुराको नाम चिनाउने अवसर हुनेमा कुनै दुईमत छैन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार १५ गते सोमबार