कोहलपुर/ ढकेरीकी शान्ति चौधरीलाई नेचर गाइड (पथप्रदर्शक) बन्ने धोको छ । चोरी शिकारी नियन्त्रण युवा जागरण उपसमिति ढकेरीकी अध्यक्षसमेत रहेकी उनलाई पथप्रदर्शक बनेर पर्यटक घुमाउने रहर छ ।
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको संख्या दिनप्रतिदिन बढ्दै जान थालेपछि पथप्रदर्शकमा युवाको आकर्षण पनि बढ्दै जान थालेको छ । ‘सिबिएपियूअन्तर्गत रहेर पर्यटकीय गतिविधिमा अग्रसर रहँदै आएका छौँ,’ शान्ति भन्छिन्, ‘पर्यटकको सहजताका लागि नेचर गाइड बन्न थालेकी हुँ ।’
स्वयंसेवीरूपमा निकुञ्जभित्र हुने चोरी शिकारी नियन्त्रणका लागि सिबिएपियूका युवा खटिएका छन् । उनीहरूमध्ये केही पथप्रदर्शक बन्ने दौडमा छन् । बाँकेमा मात्रै १५ जनाले पथप्रदर्शकको तालिम लिइसकेको नेचर गाइड एशोसिएसन बाँके अध्यक्ष कलबहादुर थारुले बताए ।
बर्दियाकी गीता न्यौपाने पनि ‘नेचर गाइड’ बन्ने बताउँछिन् । ‘गाउँमा होमस्टे पनि सञ्चालन गर्न लागेका छौँ,’ उनले भनिन्, ‘यहाँ आउने पर्यटकलाई घुमाउन नेचर गाइड बन्न लागेको हुँ ।’
राष्ट्रिय प्रकृतिक संरक्षण कोष (एनटिएनसी) को आयोजनामा गाभर होमस्टेमा भएको पाँच दिने आधारभूत पथप्रदर्शक तालिममा २५ जना सहभागी थिए । बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका उनीहरूले आ–आफ्नो क्षेत्रमा पथप्रदर्शकको काम गर्ने बताए ।
सिबिएपियू सञ्जाल बाँके अध्यक्ष कृष्ण चौधरीले वन्यजन्तु संरक्षणमा लागेका युवालाई स्वरोजगार बनाउन पथप्रदर्शक तालिमले सहयोग गर्ने बताए ।
बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत लालबहादुर भण्डारीले तालिममा सहभागी भएकालाई प्राथमिकता दिएर पदप्रदर्शकको प्रमाणपत्र प्रदान गर्ने बताए । ‘बाँकेमा पथप्रदर्शकको समस्या छ,’ उनले भने, ‘पथप्रदर्शकमा लागेका युवा बेरोजगार बस्नु पर्दैन ।’
बैजनाथ गाउँपालिका अध्यक्ष मनबहादुर रुचालले सम्भावित रोजगारको पहिचान गर्न नसकिएको बताए । ‘पर्यटकीय क्षेत्रमा थुप्रै रोजगारका अवसर छन्,’ उनले भने, ‘यो क्षेत्रमा लागे रोजागरकै लागि खाडी धाउनु पर्दैन ।’ उनले यहाँको पर्यटकीय क्षेत्रका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको बताए ।
तालिममा सहभागीलाई एनटिएनसीका कार्यकारी निर्देशक दिपककुमार सिंह, नेपाल पर्यटन बोर्डका प्रबन्धक केबि शाह, श्रीमेयर गणका मेजर राजन केसीलगायतले सहजीकरण गरेका थिए ।
कोहलपुर मध्यवर्ती क्षेत्र उपभोक्ता समिति अध्यक्ष सावित्रा पुनको सभापतित्वमा भएको समापन समारोहको सञ्चालन एनटिएनसीका लक्ष्मीराज जोशीले गरेका थिए ।
Himalpati









प्रतिक्रिया दिनुहोस्