शेरबहादुर ऐर । कैलाली ।
सुदूरपश्चिम प्रदेशको मुख्य व्यापारिक नाका मानिने कैलाली भन्सार कार्यालयलाई चालू आर्थिक वर्ष २०८२–०८३ मा लक्ष्यअनुसार राजस्व संकलन गर्न सकस देखिएको छ । चैत मसान्तसम्मको तथ्यांकअनुसार कार्यालयले कूल लक्ष्यको ६५.१५ प्रतिशत मात्रै राजस्व संकलन गर्न सकेको छ ।
लक्ष्यअनुसार प्रगति नदेखिए पनि अघिल्लो आर्थिक वर्षको तुलनामा भने सुधार देखिएको भन्सार प्रशासनले जनाएको छ ।भन्सार कार्यालयले उपलब्ध गराएको विवरणअनुसार चालू आर्थिक वर्षका लागि करिब नौ अर्ब ७१ करोड रूपैयाँँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो । तर चैत मसान्तसम्ममा ६ अर्ब ३२ करोड रूपैयाँँ मात्र संकलन भएको छ ।
जुन लक्ष्यको ६५.१५ प्रतिशत हो । यो तथ्यांकले लक्ष्य प्राप्तिमा अझै चुनौती कायम रहेको स्पष्ट देखाउँछ । अघिल्लो आर्थिक वर्ष २०८१–०८२ को सोही अवधिको तुलनामा राजस्व संकलनमा सुधार देखिएको छ । गत आर्थिक वर्षमा कूल लक्ष्यको ७७.६७ प्रतिशत राजस्व संकलन भएको थियो । चालू वर्षमा लक्ष्य कम निर्धारण गरिए पनि संकलन दर अझै अपेक्षाअनुसार अघि बढ्न सकेको छैन ।
चालू आर्थिक वर्षको सुरुवातदेखि नै राजस्व संकलनमा उतारचढाव देखिएको छ । साउन महिनामा लक्ष्यको ६९.३३ प्रतिशत मात्रै संकलन भएको थियो भने भदौमा झनै घटेर ५९.२८ प्रतिशतमा झरेको थियो । असोजमा सुधार हुँदै ७६.७५ प्रतिशत पुगेको देखिन्छ । कात्तिकमा ६९.८१ प्रतिशत राजस्व संकलन हुँदा मंसिरमा भने उल्लेखनीय सुधार भई ९३.५३ प्रतिशत पुगेको छ ।
यो महिनालाई भन्सारको सबैभन्दा राम्रो प्रदर्शनमध्ये एक मानिएको छ । पुसमा ७२.३३ प्रतिशत, माघमा ८२.१८ प्रतिशत र फागुनमा ७६.१२ प्रतिशत राजस्व संकलन भएको छ । चैत महिनामा भने उल्लेखनीय सुधार देखिएको छ । चैतमा ७८.६९ प्रतिशत राजस्व संकलन हुनुका साथै अघिल्लो वर्षको तुलनामा १०४.९४ प्रतिशत प्रगति भएको छ । यसले आर्थिक गतिविधि र आयातमा वृद्धि भएको संकेत गर्छ ।
कैलाली भन्सारको राजस्व संकलन मुख्यतः आयातमा निर्भर रहेको छ । विशेषगरी पेट्रोलियम पदार्थले राजश्वको ठूलो हिस्सा ओगटेको छ । साउनदेखि चैतसम्म करिब १३ अर्ब ८९ करोड रूपैयाँँ बराबरका वस्तु आयात भएका छन् । जसबाट पाँच अर्ब नौ करोड रूपैयाँँभन्दा बढी राजस्व संकलन भएको छ । यस अवधिमा सबैभन्दा बढी आयात हुने वस्तु डिजेल (हाई स्पिड डिजेल) रहेको छ ।
करिब ६ अर्ब ७७ करोड रूपैयाँँ बराबरको डिजेल आयात हुँदा २ अर्ब ५७ करोड रूपैयाँँभन्दा बढी राजस्व संकलन भएको छ, जुन कूल राजस्वको ४०.६८ प्रतिशत हो । त्यस्तै पेट्रोल (मोटर स्पिरिट) दोस्रो स्थानमा रहेको छ । करिब २ अर्ब २१ करोड रूपैयाँँ बराबरको पेट्रोल आयात हुँदा १ अर्ब ३४ करोड रूपैयाँँ राजस्व संकलन भएको छ । यसको योगदान २१.३१ प्रतिशत रहेको छ ।
एलपी ग्यास पनि तेस्रो ठूलो आयातित वस्तु हो । करिब १ अर्ब २७ करोड रूपैयाँँ बराबरको ग्यास आयात हुँदा २३ करोड ७१ लाख रूपैयाँँ राजस्व संकलन भएको छ । पेट्रोलियम पदार्थपछि कागज तथा कागजजन्य सामग्री, दलमोट, पापड, भुजिया, तोरीको दाना, चिनी, आलु, चामल लगायतका वस्तुहरू पनि ठूलो मात्रामा आयात भएका छन् ।
करिब ४० करोड रूपैयाँँभन्दा बढीको चामल आयात भएको तथ्यांकले देखाउँछ । जसले कृषि क्षेत्रमा आत्मनिर्भरता अझै चुनौतीपूर्ण रहेको संकेत गर्छ । त्यस्तै, फुड सप्लिमेन्ट, बेकरी सामग्री, सोयाबिनको खली, टायर, सिरेमिक सामग्री, ग्रेनाइट ढुंगा, ब्ल्याङ्केट, पास्ता लगायतका वस्तुहरू पनि आयात सूचीमा परेका छन् । यसले नेपाली बजारमा विदेशी वस्तुको प्रभुत्व अझै कायम रहेको देखाउँछ ।
राजस्व लक्ष्यअनुसार संकलन हुन नसक्नुका पछाडि विभिन्न कारणहरू देखिएका छन् । पहिलो, आयातको दर अपेक्षाअनुसार नबढ्नु । दोस्रो, खुला सीमाका कारण अनौपचारिक व्यापार (भन्सार छली) हुनु । तेस्रो, आर्थिक मन्दीका कारण उपभोग घट्नु । भारतीय बजार नजिक हुँदा धेरै उपभोक्ताहरू सिधै सीमापार किनमेल गर्न जाने प्रवृत्ति बढेको छ । यसले भन्सार राजस्वमा प्रत्यक्ष असर पार्ने गरेको छ ।
भन्सार प्रशासनका अनुसार पछिल्ला महिनाहरूमा राजस्व संकलनमा सुधार देखिनु सकारात्मक संकेत हो । चैत महिनाको प्रगति र मंसिरको उच्च संकलनले आगामी महिनाहरूमा लक्ष्य नजिक पुग्न सकिने आशा गरिएको छ । तर दीर्घकालीन रूपमा आयातमा आधारित राजस्व प्रणाली दिगो नहुने उल्लेख छ । ऊर्जा, कृषि र उद्योग क्षेत्रमा स्वदेशी उत्पादन वृद्धि नगरेसम्म आयात घटाउन कठिन हुने देखिन्छ ।
कैलाली भन्सार कार्यालयको तथ्यांकले राजस्व संकलनमा सुधार भए पनि लक्ष्य भेट्न अझै चुनौती रहेको देखाएको छ । आयातमा अत्यधिक निर्भरता, खुला सीमा र आर्थिक गतिविधिको उतारचढावका कारण लक्ष्य हासिल गर्न कठिनाइ भइरहेको छ । सरकारले राजस्व वृद्धिसँगै उत्पादनमूलक क्षेत्रको विकास, आयात प्रतिस्थापन र भन्सार व्यवस्थापनमा सुधार गर्न ध्यान दिनुपर्ने देखिन्छ । अन्यथा राजस्व वृद्धि अस्थायी मात्र हुने र दीर्घकालीन आर्थिक सन्तुलनमा समस्या उत्पन्न हुने जोखिम कायम रहनेछ ।
शून्य राजस्व भएका उच्च मूल्यका निर्यात
कैलाली भन्सारबाट हुने निर्यात सुदूरपश्चिम प्रदेशको स्थानीय अर्थतन्त्रको मेरुदण्ड मानिन्छ । यहाँबाट निर्यात हुने वस्तुहरूमा वनजन्य उत्पादन, कृषि आधारित सामग्री तथा अर्धप्रशोधित औद्योगिक वस्तुहरू प्रमुख छन् । यसले स्थानीय रोजगारी सिर्जना, आय वृद्धि तथा व्यापार सन्तुलनमा सकारात्मक योगदान पु¥याएको छ । कैलाली भन्सारबाट निर्यात भएका वस्तुहरूको कुल मूल्य करिब १ दशमलव ४ अर्ब रूपैयाँँभन्दा माथि पुगेको छ ।
तर राजस्व असुलीमा असमानताले प्रदेश सरकार तथा संघीय सरकारको आम्दानीमा प्रभाव पारिरहेको छ । ठूलो परिमाणमा निर्यात हुने वस्तुहरूमा कर नलाग्ने हो भने राज्यको राजस्व संकलन सीमित हुन जान्छ, जसले विकास खर्चमा असर पार्न सक्छ । कैलाली भन्सारबाट निर्यात हुने वस्तुहरूको सूची हेर्दा ‘अन्य तरकारीको जुस र अर्कहरू’ शीर्षकमा पर्ने वस्तुको निर्यात मूल्य नौ करोड ७५ लाख ५१ हजार दुई सय रूपैयाँँ पुगेको छ ।
तर यति ठूलो परिमाणमा निर्यात हुँदा पनि यसबाट राजस्व संकलन शून्य रहेको छ । यस्तै, ‘राप्स र मरिच तेल तथा यसको भागहरू’को निर्यात मूल्य ५० लाख ४० हजार रूपैयाँँ रहेको छ, तर यसमा पनि कुनै राजस्व उठाइएको छैन । ‘राल एवं राल एसिडहरू’को मूल्य ३३ करोड ६७ लाख ३८ हजार छ सय ४० रूपैयाँँ रहेको छ ।
तर यति ठूलो आर्थिक गतिविधि हुँदा समेत यसबाट राजस्व संकलन शून्य देखिन्छ । त्यस्तै ‘खयर कच्छ’ नामक वस्तु– जसको निर्यात मूल्य दुई करोड सात लाख १० हजार रूपैयाँँ छ । यसमा पनि राजस्व शून्य छ । वस्तुहरूमा सरकारद्वारा निर्यात प्रोत्साहन वा कर छुट नीति लागू गरिएको छ ।
कैलाली भन्सारबाट ‘अर्ध–प्रक्रियागत आकाचु (द्रव काथा)’को निर्यात मूल्य आठ करोड ४६ लाख ८४ हजार रूपैयाँँ छ भने यसबाट २७ लाख ७४ हजार ९४० रूपैयाँँ राजस्व संकलन भएको छ । त्यस्तै ‘आकाचु (कट्था)’को निर्यात मूल्य १३ करोड ५८ लाख ७९ हजार आठ सय ४० रूपैयाँँ रहेको छ भने राजस्व नौ लाख २० हजार दुई सय रूपैयाँँ उठेको छ ।
‘कम–उरुसिक रैप र मरिचको तेलको पाउडर’को निर्यात मूल्य १० करोड ४१ लाख ३४ हजार दुई सय ४८ रूपैयाँँ रहेको छ र यसबाट १२ लाख ११ हजार ८ रूपैयाँँ राजस्व संकलन भएको छ । भन्सारबाट ‘प्राकृतिक स्टेटाइट, टाल्क’को निर्यात मूल्य ६२ लाख दुई हजार दुई सय रूपैयाँँ रहेको छ भने यसबाट सात लाख ७५ हजार दुई सय ७५ रूपैयाँँ राजस्व उठाइएको छ । त्यस्तै ‘बाँसका शीटहरू र प्लाइवुडका शीटहरू’को निर्यात मूल्य तीन करोड २६ लाख ६० हजार आठ सय ७६ रूपैयाँँ ४० पैसा रहेको छ भने राजस्व ८२ लाख ७७ हजार चार सय २० रूपैयाँँ संकलन भएको छ ।









प्रतिक्रिया दिनुहोस्