नौबस्ता औद्योगिक क्षेत्र निर्माण नहुँदा अन्यौलमा उद्योगी



CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 90

वीरेन्द्र जैसी । नेपालगन्ज ।

नेपालगन्ज औद्योगिक क्षेत्रमा रहेको विमल मेटल उद्योग प्रालिका सञ्चालक कन्हैयालाल वैद्यले नौबस्ता औद्योगिक क्षेत्रमा जग्गा माग गरेर आवेदन दिएका थिए । तर औद्योगिक क्षेत्रको काम अघि नबढ्दा जग्गा माग गरेको उद्देश्यमा आधारित योजना असान्दर्भिक हुने अवस्था रहेको उनले बताए । ‘कागजमा योजना भएर मात्रै उद्योगहरूलाई कुनै फाइदा छैन नि । भनेअनुसारको काम भए पो उद्योगहरूलाई फाइदा हुन्छ । नभए सरकारको योजना कुरेर उद्योगी बस्न सक्दैन । उसले अर्को विकल्प खोज्नैपर्छ,’ वैद्यले भने ।

बाँकेको बैजनाथ गाउँपालिकाको नौबस्तामा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरिएको ११ वर्ष भइसक्दा पनि निर्माण कार्य अघि नबढ्दा उद्योग स्थापनाका लागि मागिएको आशयपत्र दिएका वैद्यजस्तै तीन सय ५० बढी व्यवसायीहरू अधीर बनेका छन् । नेपालगन्ज औद्योगिक क्षेत्रमै रहेको फलामका सामान बनाउने उद्योग गण्डकी इन्जिनियरिङ वक्र्सका सञ्चालक उद्योगी छयचन्द्र वाग्लेले पनि नौबस्तामा जग्गाको लागि आवेदन दिएका थिए ।

वाग्ले नौबस्ता औद्योगिक क्षेत्रको योजना उद्योगीहरूका लागि उत्साहजनक भए पनि योजनाको कार्यान्वयनको गतिले निराशा उत्पन्न गराएको बताउँछन् । उनले नेपालगन्ज औद्योगिक क्षेत्रको विकल्प नभइ नहुने अवस्था रहेको र वर्तमान सरकारले पनि औगोगिक विकासलाई आफ्नो कार्यक्रममा प्राथमिकता दिएकोले औद्योगिक क्षेत्र निर्माण गर्नु अपरिहार्य भइसकेको उनले बताए । ‘नेपालगन्ज औद्योगिक क्षेत्र स्थापना हुँदा सहरको किनारामा थियो ।

अहिले सहरको मध्य भागमा परिसक्यो । यसले निम्त्याउने प्रदूषणको समस्या एकातिर छ भने उद्योगका लागि ठाउँ साँघुरिँदै गएको छ । अब नयाँ उद्योग लगाउँदा नयाँ क्षेत्र एक अत्यावश्यक भइसकेको छ,’ उनले भने । २०३० सालमा नेपालगन्ज औद्योगिक क्षेत्र स्थापना हुँदा उक्त औद्योगिक क्षेत्र वरपर बस्ती थिएन । सहरको एक किनारमा पर्ने क्षेत्रमा स्थापना गरिएको औद्योगिक क्षेत्र वरपर बिस्तारै बस्ती बढ्दै गयो । अहिले उक्त औद्योगिक क्षेत्र बस्तीको बीचमा छ ।

अझ औद्योगिक क्षेत्र नजिकै नेपालगन्जको दोस्रो ठूलो स्वास्थ्य संस्था सञ्जीवनी अस्पताल (साविकको नेपालगन्ज मेडिकल कलेज) समेत रहेको छ । औद्योगिक क्षेत्रबाट निस्कने धुवाँलगायतको प्रदुषणले आसपासको बस्तीमा प्रभाव पारिरहेको छ भने बस्तीको बीचमा औद्योगिक क्षेत्र सञ्चालन हुन सक्छ कि सक्दैन भन्ने बहस समय समयमा उठिरहन्छ ।

नेपालगन्ज औद्योगिक क्षेत्रको समेत विकल्प हुने भनेर पनि अपेक्षा गरिएको नौबस्ता औद्योगिक क्षेत्र बन्ने नबन्ने अझै यकिन छैन । उक्त औद्योगिक क्षेत्रको निर्माणको काम अघि नबढ्दा उद्योगीहरू भने अन्यौलग्रस्त अवस्थामा रहेका छन् । आगामी वर्षको नीति तथा कार्यक्रममा औद्योगिक क्षेत्रहरूको विकास गर्ने भन्ने विषय उल्लेख गरिएको छ । तर, त्यसलाई बजेटमा कसरी समेटिएको छैन ।

मिसन टुडेसँग कुरा गर्दै उनले भने, ‘बजेटमा नौबस्ता औद्योगिक क्षेत्रले विशेष प्राथमिकता पाउनुपर्छ । यसको निर्माण जति चाँडो भयो त्यति नै बढी उद्योगीहरूलाई योजना बनाउन सजिलो हुन्छ । अहिले त औद्योगिक क्षेत्र बन्छ कि बन्दैन भन्ने नै अन्यौल छ भने के आधारमा उद्योगीहरूले योजना बनाउने ?’ नेपालगन्ज औद्योगिक क्षेत्रमै रहेको एचडिपी पाइप उत्पादन गर्ने लक्ष्मी प्लाष्टिक उद्योगका सञ्चालक जयगोपाल श्रेष्ठ सरकारले अहिले उद्योगहरूलाई कस्तो सुविधा दिने र आकर्षित गर्ने भन्नेमा छलफल गरिरहेको हुनुपर्नेमा अझै औद्योगिक क्षेत्र बन्छ कि बन्दैन भन्नेमै अल्झिनु दुःखद भएको बताए ।

‘उद्योगीहरूलाई औद्योगिक क्षेत्रमा कस्तो सुविधा हुन्छ । सरकारले के के मा सहुलियत दिन्छ भन्ने मुख्य बहसको विषय हुनुपर्ने हो । तर, अहिले पनि हामी औद्योगिक क्षेत्र बन्छ कि बन्दैन भन्ने अन्यौलमै रहनुपर्ने अवस्था छ,’ उनले भने । श्रेष्ठले निर्माणमा ढिलाइ भएमा नेपालगन्ज औद्योगिक क्षेत्रबाट उक्त औद्योगिक क्षेत्रमा उद्योगहरूको स्थानान्तरण पनि कस्तो सुुविधा र सहुलियत प्राप्त हुन्छ भन्नेले निर्धारण गर्ने उनले बताए । ‘राम्रो सुविधा भएन भने उद्योगीहरू त बरु अर्काे विकल्प खोज्छन् । राज्यले मात्रै फाइदा लिन खोज्ने उद्योगलाई फाइदा नै नहुने भयो भने त हामी आफ्नै तरिकाले विकल्प खोज्छौँ नि ।’ श्रेष्ठले भने ।

२०७२ सालमा घोषणा भएको बाँकेको बैजनाथ गाउँपालिका–५ मा पर्ने नौबस्ता औद्योगिक क्षेत्रमा पूर्वाधार निर्माण गर्ने काम नौ वर्ष बितिसक्दा पनि सुरु भएको छैन । अहिलेसम्म परियोजनाको विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृत भएको र घोषणा गरिएको भन्दा एक तिहाई मात्रै जग्गा प्राप्ति हुनुमै प्रगति सीमित छ । साथै केही क्षेत्रमा ट्रयाक खोल्ने काम र तारबारको काम मात्रै भएको छ ।

सरकारले औद्योगिक क्षेत्र निर्माणमा उक्त जमिनमा बसोबास गर्दै आएका नागरिकहरूले जमिन छोड्न नमान्नुलाई मुख्य कारण बताउँदै आएको छ । औद्योगिक क्षेत्रको प्रस्ताव गर्ने समयमा नौबस्तामा एक हजार बिघा क्षेत्रफलमा निर्माण गर्ने भनिए पनि अहिले औद्योगिक क्षेत्रको नाममा तीन सय ३८ बिघा जमिन छ । तर विवादरहित र खाली रहेको क्षेत्र दुई सय ५३ बिघा मात्रै छ । औद्योगिक क्षेत्रकै जमिनमा नागरिकको बस्तीदेखि कारागारसम्म निर्माण गरिएको छ । डीपीआर तयार हुँदा दुई सय ५९ घरधुरी उक्त जग्गामा पर्ने तथ्यांक संकलन भएको थियो ।

तर पछि स्थानीयवासीहरूले संघर्ष समिति बनाएर औद्योगिक क्षेत्र निर्माणस्थलमा चार सय ५० बढी घर रहेको दाबी गरे । आद्योगिक क्षेत्रको नाममा रहेको जग्गामध्ये ६१ बिघा जग्गा बस्ती व्यवस्थापन र सशस्त्र प्रहरी तालिम केन्द्र तथा क्षेत्रीय कारागारलाई दिने निर्णय भएर त्यहाँ कारागार नै निर्माण भइसकेको छ । बस्ती बसेको थप ५५.६ बिघा जग्गा पनि खाली नगर्ने भनेर बैजनाथ गाउँपालिकाले निर्णय गरेर दिएको सिफारिसका आधारमा सहमतिपछि अहिले खाली रहेको जमिन दुई सय ५३ बिघा मात्रै हुन आउँछ ।

प्रस्ताव गरिएअनुसार जग्गा प्राप्त भएको भए लुम्बिनी प्रदेशकै ठूलो औद्योगिक क्षेत्र निर्माण हुने थियो । जहाँ नेपालगन्जको घना मानव बस्ती बीचमा रहेको औद्योगिक क्षेत्रमा रहेका उद्योग व्यवस्थापन गर्न सकिने र नयाँ उद्योगहरूलाई पनि पर्याप्त र सुविधासम्पन्न जमिन प्राप्त भई औद्योगिक विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको थियो । औद्योगिक क्षेत्र निर्माणका लागि प्रारम्भिकरूपमा आठ अर्बको लागत अनुमान गरिएकोमा अब उक्त लागत पनि बढ्ने निश्चित छ ।

करिब १२ सयलाई रोजगारी दिँदै नेपालगन्ज औद्योगिक क्षेत्र

दुई सय ३३ रोपनी जमिनमा रहेको नेपालगन्ज औद्योगिक क्षेत्रले हाल करिब १२ सय जनालाई रोजगारी दिइरहेको छ । उक्त औद्योगिक क्षेत्रमा एक हजार एक सय ४७ जना कामदारहरूले रोजगारी पाइरहेको औद्योगिक क्षेत्रको तथ्यांक रहेको छ । औद्योगिक क्षेत्रमा हाल ३१ वटा उद्योगहरू सञ्चालनमा रहेकोमा तीमध्ये सबै उत्पादनमूलक उद्योगहरू छन् भने प्राविधिक तथा औद्योगिक जनशक्ति उत्पादन गर्ने सिटिइभिटी अन्तर्गतको भेरी प्राविधिक शिक्षालय पनि औद्योगिक क्षेत्रभित्रै सञ्चालनमा रहेको छ ।

हालसम्म जम्मा ३५ वटा उद्योगहरू स्थापना भएकोमा तीनवटा उद्योगहरू बन्द भएका छन् । हाल सञ्चालनमा रहेकामध्ये ४ वटा उद्योगहरू खाद्य तथा पेयपदार्थ उत्पादन गर्ने उद्योगहरू रहेका छन् भने ७ वटा प्लाष्टिक तथा रबरजन्य, दुई वटा वन पैदावारमा आधारित उद्योगहरू, ७ वटा इन्जिनियरिङ र विद्युतीय सामाग्री उत्पादन गर्ने उद्योगहरू रहेका छन् । यसैगरी, २ वटा रङरोगन र डिटरजेन्ट पाउडरका, ९ वटा मेटल तथा निर्माण सामग्री उत्पादन गर्ने उद्योगहरू औद्योगिक क्षेत्रमा सञ्चालित छन् ।

नेपालगन्ज औद्योगिक क्षेत्रभित्रका उद्योगहरूले तामा, पित्तल, काँस, आल्मुनियमका चक्का पाता तथा भाँडावर्तन, प्लाईउड, स्टिल फेब्रिकेशन, खाद्य सामाग्री, विद्युत्का तार, पिउने पानी, साबुन, सरफ, रंगरोगन, ट्रान्सफरमर मर्मत तथा उत्पादन गरिरहेका छन् । यसैगरी फेब्रिकेटिङ्ग वर्कशप, प्लाष्टिकका बोतल, जर्किन, ड्रम तथा बट्टाहरू आदि उत्पादन गर्ने उद्योगहरू पनि औद्योगिक क्षेत्रमा रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार १० गते बुधबार