सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकामा अझै पनि एम्बुलेन्स सेवा सहज र प्रभावकारी बन्न नसकेको गुनासो व्यापक रूपमा उठ्न थालेको छ । विशेषगरी नगरपालिकाको उत्तरी भेगका बस्तीमा बसोबास गर्ने नागरिकहरूले आपत्कालीन अवस्थामा एम्बुलेन्स नपाउने समस्या छ । जसले गर्दा गर्भवती, सुत्केरी तथा गम्भीर बिरामीले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानीयले बताएका छन् ।
स्थानीय तहले स्वास्थ्य सेवाको पहुँच विस्तार गरेको दाबी गरिरहँदा नगरका वडा नम्बर १४, १५ र १६ का नागरिक भने आधारभूत आपत्कालीन स्वास्थ्य सेवासमेत प्रभावकारी रूपमा प्राप्त गर्न सकेका छैनन् । भौगोलिक विकटता, कमजोर सडक पूर्वाधार र एम्बुलेन्स व्यवस्थापनको कमजोरीका कारण यी वडाका बासिन्दाले समयमै स्वास्थ्य सेवा प्राप्त गर्न कठिनाइ भोग्दै आएका छन् ।
वीरेन्द्रनगर–१६ की कृष्णा ढकालका अनुसार गर्भवती र सुत्केरी महिलालाई अस्पतालसम्म पु¥याउनु नै ठूलो चुनौती बनेको छ । ‘यहाँको भूगोल विकट छ, सडक पनि कच्ची छन् । एम्बुलेन्स सेवा सहज छैन्,’ उनले भनिन्, ‘कतिपय अवस्थामा गर्भवती महिलालाई निजी गाडी वा अन्य साधनमार्फत अस्पताल पु¥याउनुपर्छ । प्रदेश राजधानीकै नगरपालिकाको अवस्था यस्तो छ, अन्य ठाउँमा कस्तो होला ।’
स्थानीयवासीका अनुसार स्वास्थ्य संस्थाबाट प्रदेश अस्पतालमा रिफर गरिएका बिरामीलाई समेत समयमा एम्बुलेन्स उपलब्ध नहुँदा थप जोखिम बढ्ने गरेको छ ।विशेषगरी रातिको समयमा वा प्रतिकूल मौसममा समस्या झन् गम्भीर हुने गरेको स्थानीय बताउँछन् । सानीलेख स्वास्थ्य चौकीमा आधारभूत तथा सुत्केरी सेवा उपलब्ध भए पनि जटिल प्रकृतिका गर्भवती तथा सुत्केरीलाई प्रदेश अस्पताल पठाउनुपर्ने अवस्था आउने गरेको स्वास्थ्यकर्मीहरू समेत बताउँछन् ।
तर यस्तो अवस्थामा आवश्यक पर्ने एम्बुलेन्स सेवा सहज रूपमा नपाइँदा बिरामीलाई अटो वा निजी सवारीसाधनमार्फत लैजानुपर्ने बाध्यता रहेको छ ।स्वास्थ्यकर्मीहरूका अनुसार प्रसूतिसम्बन्धी जटिलता भएका महिलाका लागि प्रत्येक मिनेट महत्वपूर्ण हुने भएकाले समयमै एम्बुलेन्स नपाउँदा आमा र शिशुको स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ । त्यसैले नगरपालिकाले दुर्गम बस्तीलाई लक्षित गरी छुट्टै एम्बुलेन्स व्यवस्थापन गर्नुपर्ने आवश्यकता देखिएको हो ।
यस्तै समस्या वीरेन्द्रनगर–१५ को रतु स्वास्थ्यचौकीअन्तर्गत पर्ने पारेगाउँका नागरिकले पनि औँल्याएका छन् । सामाजिक परीक्षण कार्यक्रममा सहभागी स्थानीय भूमीसरा राम्जालीले गाउँसम्म पुग्ने सडकको अवस्था कमजोर भएकाले एम्बुलेन्स सेवा व्यवहारमा प्रभावकारी नभएको बताइन् । ‘सडक राम्रो छैन् । त्यसैले एम्बुलेन्स बोलाउँदा पनि आउन मान्दैनन् । आए पनि निकै ढिलो आउँछन्,’ उनले भनिन्, ‘कतिपय अवस्थामा गर्भवती महिलालाई बोकेर ल्याउनुपर्छ । नगर सरकारले यहाँका आमाहरूको ज्यान जोगाउन प्रभावकारी एम्बुलेन्स सेवा दिनुपर्छ ।’
वीरेन्द्रनगर नगरपालिका तुलनात्मक रूपमा सुगम मानिने क्षेत्र हो । समयमै एम्बुलेन्स नपुग्ने, चालकले फोन नउठाउने तथा सेवा प्राप्त गर्न अनावश्यक ढिलाइ हुने समस्या रहेको सेवाग्राहीहरूले बताएका छन् । वीरेन्द्रनगर नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा तथा सोसियल रिसर्च एण्ड मिडिया सेन्टर सुर्खेतको सहजीकरणमा आर्थिक वर्ष २०८२–०८३ का लागि सञ्चालन गरिएको स्वास्थ्य संस्थाहरूको सामाजिक परीक्षण गरिएको छ । सो कार्यक्रममा अधिकांश स्वास्थ्य संस्थाका सेवाग्राहीले एम्बुलेन्स सेवालाई प्रमुख समस्याका रूपमा उठाएका थिए ।
सहभागीहरूले आपत्कालीन स्वास्थ्य सेवाको पहिलो आधार मानिने एम्बुलेन्स सेवा नै अव्यवस्थित हुँदा स्वास्थ्य क्षेत्रमा भएका अन्य सुधारको प्रभावसमेत कमजोर बन्ने बताएका छन् । यता वीरेन्द्रनगर नगरपालिकाले अस्पतालको पहुँच विस्तारसँगै आपत्कालीन यातायात व्यवस्थापनलाई समान प्राथमिकता दिने जनाएको छ । नगरपालिकाको नेतृत्वमा एम्बुलेन्सको सङ्ख्या बढाउने, दुर्गम वडामा स्थायी रूपमा एम्बुलेन्स राख्ने, चालकको २४ घण्टे उपलब्धता सुनिश्चित गर्ने तथा एकीकृत आपत्कालीन सम्पर्क प्रणाली सञ्चालन गर्ने नगरपालिकाले नीति लिएको छ ।









प्रतिक्रिया दिनुहोस्