वीरेन्द्रनगर ।
मध्यपश्चिम विश्वविद्यालयले सिनेट बैठक, दीक्षान्त र वार्षिकोत्सव एकैदिन आयोजना गरेको छ । विश्वविद्यालयले १८औँ सिनेट, चौथो दीक्षान्त र १६औँ वार्षिकोत्सव समारोह बुधबार आयोजना गर्न लागेको हो । चौथो दीक्षान्त समारोह तथा विश्वविद्यालयसभा–२०८३ को सञ्चार तथा प्रचारप्रसार उपसमितिका संयोजक डा विष्णुकुमार खड्काले दीक्षान्त समारोहमा ग्रेस लिष्टमा रहेका एक हजार ९२८ जना विद्यार्थी दीक्षित हुन लागेको जानकारी दिए ।
उनका अनुसार कूल विद्यार्थीमध्ये ४५५ विद्यार्थीले दीक्षान्त समारोहमा सहभागिता जनाउन आवेदन दिएका छन् । विश्वविद्यालय सात ग्राजुएट स्कुलअन्तर्गत शैक्षिकोपाधी हासिल गरेका स्नातक तहका एक हजार २२२, स्नातकोत्तर तहका ६९४ र दर्शनाचार्य तहका १२ जना विद्यार्थीलाई दीक्षित गर्नेगरी तय भएको उनले बताए ।
संयोजक डा खड्काका अनुसार हालसम्म विश्वविद्यालयबाट ६ हजार ३७० विद्यार्थी दीक्षित भइसकेका छन् । समारोहको अध्यक्षता विश्वविद्यालयका सहकुलपति एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति शिक्षाविद् केदारभक्त माथेमाको प्रमुख आथित्यता रहने छ । विश्वविद्यालयका उपकुलपति डा नारायणप्रसाद पौडेलले सभामा आम्दानी र खर्च प्रस्तुतसँगै आगामी आर्थिक वर्ष २०८३–०८४ को प्रस्तावित एक अर्ब ४९ करोड बजेट स्वीकृत र ग्रेस लिष्टमा रहेका विद्यार्थीलाई दीक्षित गर्ने प्रस्ताव पेस गरिने बताए ।









प्रतिक्रिया दिनुहोस्