सबै सीमा नाका खुला



कोहलपुर ।

कोरोना कहरका कारण बन्द रहेका भारत र चीनसँग जोडिएका सबै सीमा नाका खुला हुने भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाका कारण बन्द गरिएका सीमा नाका खुला गर्ने निर्णय गरेको हो ।

केही नाकाहरु यसअघि नै खुलेपनि अबदेखि भने सबै सीमा नाका खुला गर्ने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका कानुन,न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । यस्तै, सरकारले कोभिड–१९ व्यवस्थापन आदेश, ०७८ जारी गरेको छ ।

अघिल्लो सरकारले जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धी अध्यादेश खारेज भएका कारण सरकारले नयाँ आदेश जारी गरेको सरकारका प्रवक्ता कार्कीले बताए ।

सो आदेशबाट प्रधानमन्त्रीको संयोजकत्वमा कोभिड–१९ निर्देशक समिति गठन भएको हो । समितिमा स्वास्थ्यमन्त्री, गृहमन्त्री, अर्थमन्त्री, परराष्ट्रमन्त्री, उद्योगमन्त्री, मुख्यसचिव र प्रधान सेनापति सदस्य रहनेछन् । बैठकले कोभिड–१९ सम्बन्धी विधेयक, औषधि ऐन, ०३५ लाई संशोधन गर्न बनेको ऐन संघीय संसद्मा पेश गर्न स्वीकृति दिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७८ असोज ६ गते बुधबार