काठमाडौँ।
विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘जलवायु कार्य’लाई आत्मसात् गर्दै बढ्दो जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जेठ २३ गते शनिबारका दिन काठमाडौँको बूढानीलकण्ठस्थित चौकिडाँडा पर्यटकीय पार्कमा यो कार्यक्रम आयोजना गरेको हो ।
वातावरण संरक्षण र वनस्पति जोगाउने उद्देश्यका साथ आयोजना गरिएको यस कार्यक्रममा बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १ मा रहेको उक्त पार्कमा मात्रै करिब २ सय ५० विभिन्न प्रजातिका बिरुवाहरू रोपिएका छन् । बैंकले यस कार्यलाई काठमाडौँमा मात्र सीमित नराखी देशव्यापी रूपमा विस्तार गरेको छ । जसअन्तर्गत कोशी प्रदेशमा २ सय, मधेस प्रदेशमा २ सय ५०, गण्डकी प्रदेशमा २ सय, लुम्बिनी प्रदेशमा २ सय , कर्णाली प्रदेशमा २ सय र सुदूरपश्चिम प्रदेशमा २ सय गरी देशका विभिन्न प्रदेशहरूमा कूल १५ सय वटा बिरुवा रोपण गरिएको बैंकले जनाएको छ ।
उक्त मुख्य कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, बूढानीलकण्ठ वडा नम्बर १ का अध्यक्ष सुरेन्द्र लामा तथा बैंकका उच्च व्यवस्थापन र कर्मचारीहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले आज रोपिने प्रत्येक बिरुवाले भोलिको पुस्तालाई स्वच्छ हावा, सुरक्षित वातावरण र स्वस्थ जीवन प्रदान गर्ने विश्वास व्यक्त गरे ।
उनले सिटिजन्स बैंकले वित्तीय सेवा मात्र प्रदान नगरी सामाजिक उत्तरदायित्वलाई आफ्नो संस्थागत संस्कृतिको अभिन्न अङ्गका रूपमा लिएको र आगामी दिनमा पनि यस्ता प्रयासलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । बैंकले यसअघि पनि देशका विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन र सामुदायिक विद्यालयहरूलाई सहयोग गरिसकेको छ । विश्वकै प्रतिष्ठित पुरस्कार ‘बैंक अफ द इयर २०२४’ र ’बैंक अफ द इयर २०२५’को उपाधि प्राप्त गर्न सफल यस बैंकले प्रविधि र सेवामा पनि नयाँपन ल्याउँदै आएको छ ।
बैंकले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ नामक डिजिटल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । हालसालै बैंकले नवयुवाहरूलाई लक्षित गरी ‘सिटिजन्स जेनजी सेभिङ एकाउन्ट’ र ‘सिटिजन्स डिजि बैंक सेवा’ नामक एकीकृत अनलाइन प्रणाली सञ्चालनमा ल्याएको छ । त्यस्तै, फ्रिलान्सर (स्वतन्त्र रूपमा काम गर्ने व्यक्ति)हरूलाई लक्षित गरी विशेष ‘फ्रिलान्सर सेभिङ एकाउन्ट’ नामक नयाँ बचत खाता सुरु गरिएको छ ।
यसका साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन दिन र सी–आस्बा नम्बर लिन सकिने सुविधा तथा क्रस बैंक टेलर सुविधा समेत ल्याइएको छ । यो क्रस बैंक टेलर सुविधाअन्तर्गत अन्य बैंकका ग्राहकले पनि सिटिजन्स बैंकको शाखाबाट टेलर क्युआर कोड स्क्यान गरी नगद प्राप्त गर्न सक्नेछन् । सिटिजन्स बैंकले देशैभरिका ६१ जिल्लामा फैलिएका आफ्ना २ सय वटा शाखा, १६७ वटा एटीएम, ३ वटा विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैंकिङ एकाइहरूबाट २० लाख २८ हजारभन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।









प्रतिक्रिया दिनुहोस्