टोल विकास संस्थाको पाँचदिने क्षमता अभिवृद्धि कार्यक्रम सुरु



कोहलपुर ।

कोहलपुर नगरपालिका भित्र रहेका टोल विकास संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले पाँचदिने क्षमता अभिवृद्धि कार्यक्रम आजदेखि सुरु भएको छ। समाज सेवा संस्था नेपालको आयोजना तथा कोहलपुर नगरपालिकाको सहयोगमा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रमको उद्घाटन गर्दै कोहलपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक ईश्वरीप्रसाद विश्वकर्माले टोल विकास संस्थालाई सक्रिय, सक्षम र जिम्मेवार बनाउन कार्यक्रमले मद्दत पुग्ने उनको भनाइ थियो । उनले स्थानीय स्तरको विकास र नागरिक सहभागिता अभिवृद्धिका लागि टोल विकास संस्थाको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै संस्थाहरूको क्षमता विकासमा नगरपालिका प्रतिबद्ध रहेको बताए।

समाज सेवा संस्था नेपालका अध्यक्ष विनोद थापाले कार्यक्रममार्फत टोल विकास संस्थाका प्रतिनिधिहरूलाई नेतृत्व विकास, संस्थागत सुदृढीकरण, समुदाय परिचालन, योजना तर्जुमा तथा स्थानीय विकासमा नागरिक सहभागितासम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिने जानकारी दिए। समुदायस्तरमा विकास निर्माणका कार्यलाई प्रभावकारी बनाउँदै टोल विकास संस्थाहरूलाई थप सक्रिय र सक्षम बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उनले बताए।

पाँच दिनसम्म सञ्चालन हुने कार्यक्रममा सहभागीहरूले स्थानीय तह र समुदायबीचको समन्वय, सुशासन, सामाजिक उत्तरदायित्व तथा विकास व्यवस्थापनका विषयमा ज्ञान र अनुभव आदानप्रदान गर्नेछन्। कार्यक्रमले टोल विकास संस्थाहरूलाई आफ्नो क्षेत्रको विकासमा अझ प्रभावकारी भूमिका निर्वाह गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ २५ गते सोमबार