वीरेन्द्रनगरको बेरुजु ९३ करोड नाघ्यो



????????????????????????????????????

नन्दराम जैशी । सुर्खेत ।

जिल्लाको वीरेन्द्रनगर नगरपालिकाको वित्तीय व्यवस्थापन र लेखा प्रणालीमा देखिएका कमजोरीका कारण बेरुजु रकम ९३ करोड ४१ लाख ८७ हजार नाघेको छ भने विगत चार वर्षको अवधिमा सम्परीक्षणबाट असुलउपर गर्नुपर्ने रकममध्ये दुई करोड ७२ लाख ७६ हजार रकम मात्रै फिर्ता गरिएको छ ।

नगरपालिकाले नेपाल सार्वजनिक क्षेत्र लेखामानअनुसार वित्तीय विवरण पूर्ण रूपमा तयार नगर्दा आर्थिक पारदर्शितामाथि आलोचना बढेको हो। महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनअनुसार नगरपालिकाले अन्तरसरकारी अख्तियारी, आन्तरिक आय तथा विभिन्न कोषसम्बन्धी वित्तीय विवरण स्वीकृत ढाँचा र मापदण्डअनुसार तयार नगरेको उल्लेख गरिएको छ । यसले नगरपालिकाको वित्तीय अवस्थाको यथार्थ चित्र प्रस्तुत गर्न कठिन भएको प्रतिवेदनमा जनाइएको छ ।

गत आर्थिक वर्ष २०८१–०८२ को लेखापरीक्षणमा नगरपालिकाको पाँच अर्ब ४८ करोड ४८ लाख ५५ हजार रूपैयाँको कारोबार परीक्षण गरिएको थियो । सो क्रममा नौ करोड ९७ लाख ५६ हजार रूपैयाँ बेरुजु देखिएको हो । लेखापरीक्षणपछि नगरपालिकाले दिएको प्रतिक्रियाका आधारमा ३९ लाख १० हजार रूपैयाँ फस्र्योट भए पनि गत वर्षको मात्रै नौ करोड ५८ लाख ४५ हजार रूपैयाँ बेरुजु अझै कायम रहेको छ ।

गत वर्षको बाँकी बेरुजुमध्ये एक करोड ४३ लाख ४६ हजार रूपैयाँ असुल गर्नुपर्नेछ । भने दुई करोड ४३ लाख एक हजार रूपैयाँ बराबरको प्रमाण कागजात पेस गर्नुपर्ने उल्लेख छ । यस्तै चार करोड ७९ लाख ७४ हजार रूपैयाँ नियमित गर्नुपर्नेछ भने ९२ लाख २४ हजार रूपैयाँ पेश्की बाँकी रहेको छ ।

गत आर्थिक वर्षसम्म नगरपालिकामा ८६ करोड १७ लाख सात हजार रूपैयाँ बेरुजु कायम रहेको थियो । त्यसमध्ये दुई करोड ३३ लाख ६५ हजार रूपैयाँ फस्र्योट भए पनि चालू वर्ष थपिएको बेरुजुसहित कूल अद्यावधिक बेरुजु ९३ करोड ४१ लाख ८७ हजार रूपैयाँ पुगेको हो ।
प्रतिवेदनले नगरपालिकाले नगदमा आधारित लेखा प्रणाली अपनाएकाले पेश्कीबाहेक सम्पत्ति तथा दायित्वको यकिन विवरण खुलाउन नसकेको पनि औँल्याएको छ ।

यसले नगरपालिकाको वास्तविक आर्थिक अवस्था मूल्यांकन गर्न कठिन बनाएको महालेखापरीक्षकको निष्कर्ष छ । महालेखापरीक्षकको कार्यालयले संविधान, लेखापरीक्षण ऐन तथा सरकारी लेखापरीक्षण मापदण्डअनुसार परीक्षण गरिएको जनाउँदै प्राप्त प्रमाणका आधारमा प्रतिवेदन तयार गरिएको जनाएको छ भने वित्तीय अनुशासन कायम गर्दै बेरुजु फस्र्योट र लेखा प्रणाली सुधार गर्न नगरपालिकालाई सुझाव दिइएको छ ।

दुई करोड ७२ लाख असुल

वीरेन्द्रनगर नगरपालिकाले विगत चार आर्थिक वर्षको अवधिमा बेरुजु सम्परीक्षण प्रक्रियामार्फत असुलउपर गर्नुपर्ने रकममध्ये दुई करोड ७२ लाख ७६ हजार रूपैयाँ फिर्ता गरेको छ । महालेखापरीक्षकको कार्यालयमा पेस गरिएको सम्परीक्षण विवरणअनुसार विभिन्न शीर्षकमा देखिएका बेरुजु रकम फस्र्योट गरिएको हो ।

आर्थिक वर्ष २०७८–०७९ देखि २०८१–०८२ सम्मका विभिन्न बेरुजु शीर्षकहरूको सम्परीक्षणपछि नगरपालिका सो रकम असुलउपर गर्न सफल भएको हो । नगरपालिकाले बेरुजु व्यवस्थापन तथा वित्तीय अनुशासन सुदृढ गर्न सम्परीक्षण प्रक्रियालाई निरन्तरता दिएको जनाएको छ । तर नगरपालिकामा अझै ठूलो परिमाणमा बेरुजु बाँकी रहेकाले वित्तीय सुशासन र जवाफदेहितालाई थप प्रभावकारी बनाउनुपर्ने देखिन्छ ।

नगरपालिकाले सार्वजनिक गरेको विवरणअनुसार विद्यालय सञ्चालन तथा व्यवस्थापन, निःशुल्क पाठ्यपुस्तक अनुदान, दिवा खाजा कार्यक्रम, छात्रवृत्ति, जिन्सी आम्दानी, घरभाडा कर, सामुदायिक सिकाइ केन्द्र सञ्चालन, प्रशिक्षक भत्ता, पेश्की बाँकी, इन्टरनेट जडान, विज्ञापन कर तथा विभिन्न विकास कार्यक्रमसँग सम्बन्धित बेरुजु रकम सम्परीक्षणबाट फस्र्योट गर्ने प्रयास गरिएको हो ।

सबैभन्दा बढी रकम निःशुल्क पाठ्यपुस्तक अनुदान शीर्षकमा ३३ लाख ८९ हजार फिर्ता भएको छ । यस्तै विद्यालय सञ्चालन तथा व्यवस्थापनतर्फ तीन हजार ५००, दिवा खाजा अनुदानमा ८२ हजार, जिन्सी आम्दानीमा दुई लाख २१ हजार र छात्रवृत्ति अनुदानतर्फ एक लाख ७४ हजार रकम असुल गरिएको छ ।

त्यस्तै घर बहाल कर ३९ हजार, सामुदायिक सिकाइ केन्द्र सञ्चालन अनुदान ७० हजार, प्रशिक्षक भत्ता ४२ हजार, पेश्की बाँकी चार लाख, पाठ्यपुस्तक अनुदान १३ लाख २३ हजार र निःशुल्क शिक्षा अनुदानतर्फ ११ लाख रकम असुल गरिएको हो । दिवा खाजातर्फ सात लाख ७५ हजार, उद्यमीबापतको भुक्तानी ६ हजार, छात्रवृत्ति अनुदान तीन लाख ४० हजार, इन्टरनेट जडान ९० हजार, पदाधिकारीलाई भत्ता २५ सय, विज्ञापन कर ३३ लाख ६८ हजार र स्थानीय बाली प्रवद्र्धन कार्यक्रम बढी भुक्तानी तीन हजार रूपैयाँ पनि अस्ुल गरिएको हो ।

नगरपालिकाका अनुसार पेश्की बाँकी पाँच लाख ६० हजार, अघिल्लो वर्षको भुक्तानी ११ लाख ७९ हजार, साहित्य सिर्जना प्रतिष्ठानबाट ४५ हजार, पेश्की बाँकी चार लाख, सरसफाइ कार्यक्रमतर्फ ५५ लाख ५० हजार र कृषि कार्यक्रमतर्फ दुई लाख पाँच हजार बढी रकम असुल भएको हो ।

तर असुल गर्नुपर्ने करोडौँ रकम नगरपालिकाले अझै असुल गर्न सकेको छैन । बेरुजु नियन्त्रण तथा असुलउपरमा लेखा उत्तरदायी व्यक्ति तथा नगरपालिकाका कर्मचारीहरूको गम्भीर लापरबाही देखिएको छ । यसमा कर्मचारीहरू जिम्मेवारीबाट उम्किनेभन्दा पनि थप सचेत भइ विधि प्रक्रिया पुगेको र कानुनसम्मत काम मात्रै गर्ने बानीको विकास हुन जरुरी छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ १९ गते मंगलबार