सम्भावित सुपर एल निनो र सुक्खा मनसुनको चुनौती



आगामी छ महिना (सम्भावना त्योभन्दा बढी पनि)सम्मको संसारभरको मौसम यही एल निनोले प्रभाव पर्ने देखिन्छ । त्यसैको कारणले तापक्रम बढ्ने, कुनै ठाउँमा सुक्खा त कुनै ठाउँमा भीषण वर्षा हुने र कृषि उत्पादनलाई सबैभन्दा धेरै प्रभाव पार्ने देखिन्छ । सबैभन्दा धेरै असर यो मनसुनमा एसियामा सुक्खा हुने हुँदा धान उत्पादन घट्ने सम्भावना छ ।

डा विनोद पोखरेल र डा सुरेश मरहट्टा

यस वर्ष नेपालको मौसमी अवस्था सामान्यभन्दा निकै फरक देखिएको छ । सामान्यतया मार्चदेखि मेसम्मको (फागुन १६ देखि जेठ १५ सम्म) अवधि प्रि–मनसुन मानिन्छ, जुन समयमा सामान्यतया गड्याङगुडुङ गर्दै छोटो समयको वर्षा, हावाहुरी र केही दिनको अस्थिर मौसम देखिन्छ। तर, यस वर्ष भने मार्चको सुरुदेखि नै लगभग दैनिकजसो वर्षा भइरहेको छ र त्यो क्रम अझै पनि जारी छ । देशका धेरै भागहरूमा लगातार बादल लाग्ने, मध्यमदेखि भारी वर्षा हुने, चट्याङ तथा असिना पर्ने घटनाहरू बारम्बार धेरै ठाउँमा देखिएका छन् । दुई महिनादेखि भइराखेको वर्षाको प्रमुख मौसमी प्रणाली सक्रिय पश्चिमी वायु नै हो । सामान्यतया जाडो याममा बढी प्रभावकारी हुने पश्चिमी वायु यस वर्ष प्रि–मनसुन अवधिमा पनि अत्यन्त सक्रिय देखिएको छ । यसले नेपालभरि लामो समयसम्म लगातार वर्षा गराई राखेको छ । देशका विभिन्न मौसम केन्द्रहरूले पछिल्ला दुई महिनामा उल्लेखनीय वर्षा रेकर्ड गरेका छन् । केही वर्षदेखि हिउँदे (१५ मंसिर देखि १५ फागुनसम्म) वर्षामा उल्लेखनीय कमी आएको देखिन्छ तर चैत वैशाखमा वर्षाको मात्रा राम्रैसँग बढेको पनि छ । जल तथा मौसम विज्ञान विभागको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा रहेको वर्षा मापक केन्द्रको आँकडा हेर्दा यो वर्ष २०२६ को चार महिना जनवरी, फरबरी, मार्च र अप्रिलको वर्षा अस्वभाविक होइन । सन् १९९१ देखि २०२० (३० वर्ष)सम्मको यी चार महिनाको औसत कूल वर्षा हेर्दा १२६ मिमि रहेकामा यो वर्षा २०२६ मा यो चार महिनाको अवधिमा जम्मा १२० मिमि वर्षा रेकर्ड गरिएको छ । यसैगरी विगत ३० वर्षमा औसत २० दिन वर्षा हुने गरेकामा यो वर्ष २० दिन नै वर्षा रेकर्ड गरिएको छ । विगत १० वर्षजस्तै सन् २०१७, २०१९, २०२० र २०२२, मा औसतभन्दा बढी वर्षा भएको छ । यसमा सन् २०१९ मा २२५ मिमि (४० दिन ) र सन् २०१६, २०१८, २०२१, २०२३, २०२४ र २०२५ मा औसतभन्दा कम वर्षा भएको छ ।

त्यसमध्ये पनि सन् २०१६, २०२२ र २०२४ मा ५० मिमिभन्दा कम वर्षा भएको थियो । यसैगरी २०२४ मा जम्मा आठ दिन मात्र वर्षा भएको थियो । मध्यम अवधिको मौसम पूर्वानुमानले आगामी दुई हप्तासम्म पनि वर्षा प्रणाली सक्रिय रहने संकेत दिएको छ । अर्थात् जेठ महिनाको अन्त्यसम्म धेरै स्थानहरूमा वर्षा जारी रहने सम्भावना देखिन्छ । यद्यपि, त्यसपछि भने मौसमको ढाँचा अचानक परिवर्तन हुने संकेतहरू देखिन थालेका छन् । जुन महिनादेखि क्रमशः सुक्खा अवस्था विकसित हुनसक्ने अनुमान गरिएको छ, जुन आगामी मनसुनका लागि चिन्ताजनक संकेत हुन सक्छ । यस वर्षको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको प्रशान्त महासागरमा विकसित हुँदै गएको सम्भावित ‘सुपर एल निनो’ अवस्था हो । एल निनो एक जलवायु प्रणाली हो, जसमा मध्य तथा पूर्वी प्रशान्त महासागरको तापक्रम सामान्य भन्दा धेरै हुन्छ । जब एल निनो अत्यधिक बलियो हुन्छ अर्थात् मध्य तथा पूर्वी प्रशान्त महासागरको तापक्रम औसतभन्दा दुई डिग्री वा त्योभन्दा बढी हुन्छ, त्यसलाई ‘सुपर एल निनो’ भनिन्छ । अनुसन्धानले देखाएको छ कि बलियो एल निनोका वर्षहरूमा दक्षिण एसियाली मनसुन प्रायः कमजोर हुने गर्छ र नेपालमा पनि सुपर एल निनोको भएका पछिल्ला वर्षहरूमा औसतभन्दा धेरै कम वर्षा भएको तथ्यांक देखिन्छ । आगामी छ महिना (सम्भावना त्योभन्दा बढी पनि)सम्मको संसारभरको मौसम यही एल निनोले प्रभाव पर्ने देखिन्छ । त्यसैको कारणले तापक्रम बढ्ने, कुनै ठाउँमा सुक्खा त कुनै ठाउँमा भीषण वर्षा हुने र कृषि उत्पादनलाई सबैभन्दा धेरै प्रभाव पार्ने देखिन्छ । सबैभन्दा धेरै असर यो मनसुनमा एसियामा सुक्खा हुने हुँदा धान उत्पादन घट्ने सम्भावना छ । नेपालका लागि मनसुन केवल मौसमीय घटना मात्र होइन, अर्थतन्त्रको आधार पनि हो । नेपालको कृषि प्रणाली वर्षामा अत्यधिक निर्भर छ ।

धान, मकैलगायतका प्रमुख बालीहरू समयमै पर्ने मनसुन वर्षामा आधारित हुन्छन् । यदि यस वर्ष मनसुन कमजोर भयो भने धान रोपाइँमा ढिलाइ, उत्पादनमा गिरावट, तथा खाद्य सुरक्षामा चुनौती आउन सक्छ । यो वर्ष देखिएको ढाँचाले वर्षाको समयगत स्थानान्तरण भएको संकेत दिन्छ । पूर्व–मनसुन अवधिमा अत्यधिक वर्षा भइरहेको छ भने मुख्य मनसुन समयमा कम वर्षा हुनसक्ने सम्भावना बढ्दो छ । प्रि–मनसुनको वर्षाले तत्कालका लागि माटोमा आद्र्रता बढाउने र केही बालीलाई फाइदा पु¥याउने भए पनि, दीर्घकालीन रूपमा मनसुनकै वर्षा कृषि उत्पादनका लागि निर्णायक हुन्छ । विशेष गरी असार–साउनमा पर्याप्त पानी नपरे धानखेतीमा ठूलो असर पर्न सक्छ । यसको असर कृषि क्षेत्रमा मात्र सीमित रहने छैन । नेपालको समग्र अर्थतन्त्रमा कृषि क्षेत्रको ठूलो योगदान भएकाले उत्पादन घट्दा खाद्यान्नको मूल्य वृद्धि हुन सक्छ । आयात निर्भरता बढ्न सक्छ र व्यापार घाटा थप गहिरिन सक्छ । ग्रामीण क्षेत्रमा रोजगारी र आम्दानीमा पनि प्रत्यक्ष असर पर्नेछ ।
यसको प्रभावका कारण जलविद्युत् क्षेत्रमा पनि चुनौती थपिन सक्छ । नेपालका अधिकांश जलविद्युत् आयोजना नदीको बहावमा आधारित छन् । यदि मनसुन कमजोर भयो भने नदीमा पानीको मात्रा घट्न सक्छ, जसले विद्युत् उत्पादनमा कमी ल्याउन सक्छ । ऊर्जा संकटको सम्भावना बढ्नुका साथै औद्योगिक उत्पादन र दैनिक जीवनमा समेत असर पर्न सक्छ । पर्यटन क्षेत्रमा पनि दोहोरो प्रभाव देखिन सक्छ । पूर्व–मनसुनमा लगातार वर्षाले ट्रेकिङ, हिमाल आरोहण र आन्तरिक पर्यटनमा बाधा पु¥याउन सक्छ । त्यसपछि यदि लामो सुख्खा अवस्था विकसित भयो भने हिमाली तथा प्राकृतिक जलस्रोतहरूको सौन्दर्य र आकर्षणमा असर पर्न सक्छ ।

यस परिस्थितिमा सरकार र सम्बन्धित निकायहरूले समयमै रणनीतिक तयारी गर्नु अत्यावश्यक देखिन्छ । कृषि क्षेत्रमा सिँचाइ व्यवस्थाको विस्तार, कम पानी चाहिने बालीहरूको प्रवद्र्धन तथा मौसमअनुकूल खेती प्रणाली अपनाउनुपर्ने आवश्यकता छ । किसानहरूलाई समयमै सिजनल पूर्वानुमान र मौसम सूचना उपलब्ध गराउनु अत्यन्त महत्वपूर्ण हुन्छ । त्यसैगरी, जलस्रोत व्यवस्थापनलाई दीर्घकालीन रूपमा पुनः सोच्नुपर्ने आवश्यकता देखिएको छ । जलाशय निर्माण, वर्षा पानी संकलन, तथा बहुउद्देश्यीय सिँचाइ योजनाहरूमा लगानी बढाउनुपर्ने अवस्था आएको छ । यो अवस्था जलवायु परिवर्तनसँग पनि जोडिएको हुनसक्छ । पछिल्ला वर्षहरूमा नेपालमा मौसमीय चरम घटनाहरू अत्यधिक वर्षा, लामो खडेरी, असिनापानी, गर्मीको लहर बढ्दै गएका छन् । यस वर्षको असामान्य प्रि–मनसुनको वर्षा र सम्भावित सुक्खा मनसुन भविष्यमा अझ जटिल जलवायु चुनौतीहरूको संकेत हुन सक्छ । अहिले देखिएको लगातार वर्षा तत्कालका लागि राहतजस्तो देखिए पनि, त्यसले आगामी कमजोर मनसुनको संकेत दिन सक्छ । यदि सम्भावित सुपर एल निनोका कारण मनसुन कमजोर भयो भने त्यसको असर कृषि, ऊर्जा, पर्यटनदेखि समग्र राष्ट्रिय अर्थतन्त्रसम्म फैलिन सक्छ । त्यसैले अहिलेको मौसमीय अवस्थालाई सामान्य घटनाका रूपमा नलिएर, वैज्ञानिक विश्लेषण र दीर्घकालीन तयारीका साथ अघि बढ्नु समयको आवश्यकता हो । यति हुँदाहुँदै पनि नेपालमा एल निनोको समयमा पनि मनसुनमा वर्षा राम्रै हुने थोरै सम्भावना भने बाँकी रहन्छ किनकी नेपालमा मनसुनको अवस्था भारतको भन्दा फरक देखिन्छ । त्यसैले एउटा सकारात्मक सोच राख्ने ठाउँ भने बाँकी नै राखेर पूर्वानुमान गरिएको मौसमी प्रणालीभन्दा धेरै वर्षा हुने आशा गरौँ ।

    (लेखकद्वय जल तथा मौसम विज्ञान केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयमा कार्यरत छन् ।)

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ ११ गते सोमबार