काठमाडौँ।
नेपालका बैंक तथा वित्तीय संस्थामा पूँजी सुदृढीकरण, संस्थागत क्षमता विस्तार र प्रतिस्पर्धी क्षमता बढाउने उद्देश्यले पछिल्ला वर्षहरूमा मर्जर तथा प्राप्ति (एमए) को प्रक्रिया निरन्तर अघि बढिरहेको छ । यही क्रममा समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स लिमिटेड एक आपसमा गाभिएर (मर्ज भई) एकीकृत कारोबार सुरु गरेपछि नयाँ संस्था पोखरा फाइनान्स लिमिटेडले नयाँ सञ्चालक समिति गठन गरेको छ ।
शुक्रबार बसेको सञ्चालक समितिको पहिलो बैठकले संस्थाको नयाँ नेतृत्व चयन गर्दै कार्यसमितिलाई पूर्णता दिएको हो । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त यस वित्तीय संस्थाको सञ्चालक समितिको अध्यक्षमा अजय कुमार मिश्र चयन भएका छन् । मर्जर पछि फाइनान्सको सिइओमा प्रकाश गुरुङ रहेका छन् ।
नयाँ सञ्चालक समितिमा सुदिप घिमिरे, प्रतिक गुरुङ, पद्मोदय प्रालिको तर्फबाट दिनेश कुमार वर्तोला, दुर्गा थापा, तिल बहादुर गुरुङ र याम बहादुर सुर्खाली सदस्यका रूपमा चयन भएका छन् । मर्जरपछि गठित नयाँ सञ्चालक समितिले संस्थाको भावी रणनीति, व्यवसाय विस्तार तथा सुशासनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
समृद्धि फाइनान्स र पोखरा फाइनान्सको एकीकरणलाई पनि यही अभियानको निरन्तरताका रूपमा हेरिएको छ । मर्जरपछि संस्थाले आफ्नो शाखा सञ्जाल, पूँजी आधार, प्रविधि तथा मानव स्रोतलाई एकीकृत गर्दै बजारमा थप प्रभावकारी उपस्थिति बनाउने लक्ष्य लिएको छ ।









प्रतिक्रिया दिनुहोस्