गणतन्त्रमा स्थानीय सरकारको महत्त्व र गरिमा व्यापक : राष्ट्रपति पौडेल



सुनसरी ।

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आइसकेपछि स्थानीय सरकारको महत्त्व र गरिमा व्यापक र गहन भएको बताएका छन् । सुनसरीको कोशी गाउँपालिकामा निर्माण भएको लौकही सिटी हल उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले जनताका न्यूनतम आधारभूत आवश्यकता तथा जनचाहना अनुरुप विकासका कार्यलाई तीव्रता दिएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल्य, मान्यता र आदर्श अनुरुपका कामलाई साकार बनाउन स्थानीय तहले सदैव दत्तचित्त र क्रियाशील हुनुपर्ने बताए ।

राष्ट्रपति पौडेलले स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएको उल्लेख गर्दै जनअपेक्षा अनुरुप सेवा प्रवाह गर्नु, सुविधा उपलब्ध गराउनु तथा विकासका कार्यहरू सञ्चालन गर्नु स्थानीय सरकारको महत्त्वपूर्ण दायित्व भएको बताए ।

उनले सप्तकोशी नदीको किनारमा रहको कोशी गाउँपालिका ऐतिहासिक एवं धार्मिक दृष्टिकोणले पनि महत्त्वपूर्ण ठाउँ भएको उल्लेख गर्दै हाल कोशी गाउँपालिकामा पर्ने सप्तकोशी नदीको कुशाहाघाटमा प्रजातन्त्र प्राप्तिका लागि क्रान्ति भएकोले यो ठाउँको सम्बन्ध प्रजातान्त्रिक आन्दोलनसँग जोडिएको इतिहासको स्मरण गरे ।रासस

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ ६ गते बुधबार