राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रममा चार हजारभन्दा बढी किसान आबद्ध



मङ्गलाका कृषकलाई कृषि औजार वितरण गरिँदै
म्याग्दी, ५ जेठः म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा मङ्गलबार किसानहरुलाई कृषि औजार वितरण गरिँदै । ५० प्रतिशत अनुदानमा एकसय ४९ वटा मिनिटेलर हलो, ३५ वटा मिल र ११ थान थ्रेसर वितरण गरेको छ । तस्बिरः सन्तोष गौतम÷रासस

कैलाली ।

कैलालीमा सञ्चालित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रममा चार हजार ८८९ किसान आबद्ध भएका छन् । जिल्लामा सञ्चालित ‘गहुँ सुपरजोन’, ‘तेलहन जोन’, ‘धान जोन’ र ‘माछा जोन’ कार्यक्रममा किसान आबद्ध भएका हुन् ।चालु आर्थिक वर्ष २०८२/८३ मा चारवटै जोनमा तीन हजार ८१ महिला र एक हजार ८०८ पुरुष आबद्ध भएका राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाइ कैलालीका सूचना अधिकारी भीष्मराज रेग्मीले जानकारी दिए ।

चालु आर्थिक वर्षमा सहकारी, कृषि समूह, कृषि उद्यमी र समिति गरी ४६३ संस्था सूचीकृत भएका उनले जानकारी दिए । उनका अनुसार हाल गहुँ सुपरजोन सात हजार २०० हेक्टर, तेलहन जोन एक हजार ५०० हेक्टर, धान जोन एक हजार ५०० हेक्टर र माछा जोन ५०५ हेक्टर क्षेत्रफलमा सञ्चालित छ ।

सूचना अधिकारी रेग्मीका अनुसार कार्यक्रम सञ्चालन भएपछि गहुँको उत्पादकत्व दुई दशमलव नौ मेट्रिक टन प्रतिहेक्टरबाट वृद्धि भएर हाल चार दशमलव छ, तोरीको उत्पादकत्व शून्य दशमलव नौ मेट्रिक टनप्रति हेक्टरबाट वृद्धि भएर एक दशमलव २३ र धानको उत्पादकत्व तीन दशमलव ४७ बाट वृद्धि भएर पाँच दशमलव ३१ मेट्रिक टन प्रतिहेक्टर पुगेको छ ।

त्यसैगरी, कार्यक्रम सञ्चालित क्षेत्रमा कार्प जातका माछाको उत्पादकत्व चार दशलव सात मेट्रिक टन प्रतिहेक्टर र पङ्गासियर्सको ३६ दशमलव दुई मेट्रिक टन प्रतिहेक्टर रहेको उनले जानकारी दिए । जिल्लामा गहुँ सुपरजोन आर्थिक वर्ष २०७३/७४, तेलहन जोन आर्थिक वर्ष २०७४/७५, धान जोन आर्थिक वर्ष २०७८/७९ र माछा जोन आर्थिक वर्ष २०८१/८२ मा सुरु भएको थियो । रासस

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ ५ गते मंगलबार