नेपालगन्ज ।
स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ बमोजिम अस्पतालहरूले १० प्रतिशत शय्या विपन्न र असहाय बिरामीका लागि निःशुल्क छुट्याउनुपर्ने व्यवस्था छ । उक्त मापदण्डले बेड शुल्क मात्रै नभई निःशुल्क उपचार पनि अनिवार्य रुपमा उपलब्ध गराउनु पर्ने व्यवस्था गरेको छ । उक्त व्यवस्थालाई सरकारले अनिवार्य रुपमा सबै स्वास्थ्य संस्थामा लागू गर्ने भनेको छ ।
निःशुल्क सेवा दिए नदिएको विषयमा अनुगमनका लागि बालेन नेतृत्वको सरकारले फ्री हेल्थ पोर्टल लागू गर्ने घोषणा गरेको थियो । जसअनुसार अहिले फ्री हेल्थ पोर्टल सञ्चालनमा आइसकेको छ । तर, उक्त पोर्टलमा अहिलेसम्म बाँकेका दुई वटा अस्पताल मात्रै आबद्ध रहेका पाइएको छ। सबै अस्पतालहरु आबद्ध हुनुपर्ने नियम लागू गर्न सरकारले पहिलेदेखि नै प्रयास गर्दै आए पनि सरकारी र निजी अस्पतालहरुले त्यसलाई बेवास्ता गर्दै आएका पाइएको छ ।
हालसम्म बाँके जिल्लाबाट निःशुल्क स्वास्थ्य सेवा पोर्टलमा नेपालगन्ज मेडिकल कलेज टिचिङ अस्पताल कोहलपुर र वेष्टर्न अस्पताल एण्ड रिसर्च सेन्टर बाँके मात्रै आबद्ध रहेका पोर्टलमा देख्न सकिन्छ । नेपालगन्ज मेडिकल कलेजले चार सय बेडमध्ये ४० बेड छुट्याएको जानकारी पोर्टलमा दिएको छ भने वेष्टर्न हस्पिटलले एक सय बेडमध्ये १० बेड छुट्याएको जानकारी दिएको छ ।
तर नेपालगन्जमा रहेको भेरी अस्पताल, सञ्जीवनी अस्पताल जस्ता ठूला अस्पताललगायत अन्य साना अस्पतालहरु उक्त पोर्टलमा आबद्ध नभएको पाइएको छ । उक्त पोर्टलमा आबद्ध अस्पतालले जम्मा बेड, निःशुल्कका लागि छुट्याइएका बेड र प्रयोगमा रहेका निःशुल्क बेडहरुको जानकारी उपलब्ध गराउनुपर्ने हुन्छ ।
साथै निःशुल्क सेवाका लागि तोकिएको सम्पर्क व्यक्ति र उक्त व्यक्तिको सम्पर्क नम्बर पनि पोर्टलमा राख्नुपर्ने हुन्छ । सरकारले निःशुल्क स्वाथ्य सेवा दिए नदिएको अनगुमगनका लागि ३० दिनभित्र फ्री हेल्थ पोर्टल लागू गर्ने कार्यसूची तय गरेको थियो । हाल देशभर एक सय ६ अस्पताल आबद्ध भएका र ती अस्पतालमा १३ हजार दुई सय ३७ बेड रहेकोमा दुई हजार ६६ बेड निःशुल्क सेवाका लागि छुट्याइएको जानकारी पोर्टलमा दिइएको छ ।









प्रतिक्रिया दिनुहोस्