किसानका सच्चा सारथी ‘बलराम’



पहिलो कार्यकालमा घाटा र ऋणमा रहेको सहकारीलाई नाफामा पु¥याएका छन् । शीतभण्डारमा रहेका पुराना मेसिन हटाएर नयाँ थप्ने योजना छ । जीर्ण बन्दै गएको थर्मकुल मर्मत र शीतभण्डारमा लिफ्ट जडान गर्ने उनका प्राथमिकता हुन् । सहकारीलाई पूर्ण रूपमा आधुनिकीकरणमा लैजाने उनको संकल्प छ ।

शुभाकर विश्वकर्मा। कोहलपुर (बाँके) ।

‘किसानको साथ, भेरी शीतभण्डारको विकास’ उनको मूल प्रतिबद्धता छ । जसले पहिलोपटक यस्तो अवस्थामा सहकारीको कमाण्ड सम्हाले । त्यतिबेला सहकारीको अवस्था दयनीय थियो । चार वर्षमा समय मात्रै बदलिएको छैन । उनको कुसल नेतृत्वमा सहकारी अवस्था फेरिएको छ । जतिबेला भेरी शीतभण्डार सहकारी संस्था लिमिटेडको कूल ५२ लाख रूपैयाँ घाटा र सहकारी बैंकमा ३२ लाख ऋणमा थियो । यतिसम्म कि आफ्ना उत्पादन भण्डारण गर्ने किसान समेत घट्दै गइरहेका थिए ।

‘सही मान्छे सही ठाउँ’मा पुगेपछि एउटा संस्थाले कसरी फड्को मार्छ भन्ने कुरा उनले चरितार्थ गरिदिएका छन् । त्यसो त किसानहरूले नै उनलाई सर्वसम्मतमा अध्यक्षमा रोजेका थिए । उनको चुपचाप काम गर्ने शैलीले सहकारीको अवस्था नै बदलिदिएको छ । किसान पृष्ठभूमि, कर्मशील स्वभावका धनी उनै बलराम भट्टराई किसानहरूकै रोजाइमा दोस्रो कार्यकालका लागि चुनावी मैदानमा छन् ।

देशभरका २२ जिल्लाका व्यावसायिक किसान सेयर सदस्य रहेको बाँकेको कोहलपुर–११ स्थित भेरी शीतभण्डार सहकारी संस्था लिमिटेडको नयाँ सञ्चालक समितिको लागि यही १२ गते निर्वाचन हुँदैछ । भेरी शीतभण्डार सहकारीमा फेरि बलराम नै किन ? उनी भन्छन्, ‘सहकारीमा दोस्रोपटक दोहोरिने मेरो व्यक्तिगत चाहना थिएन । विशेषगरी बाँके र बर्दियाका किसानहरूले तपाईँ नै दोहोरिनुपर्छ भनेपछि उहाँहरूको मागलाई सम्बोधन गर्दै म चुनावी मैदानमा होमिएको छु । सहकारीलाई पूर्ण रूपमा आधुनिकीकरणमा लैजाने संकल्पसहित अघि बढेको छु ।’

आफूले एक कार्यकाल पूरा गरिसकेपछि दोहोरिन नचाहेको उनी बताउँछन् । पहिलो कार्यकालमा आफूले गरेका राम्रा कामहरूको फेहरिस्त सुनाउँदै भट्टराईले आफू सहकारीको नेतृत्वमा पुग्दा अवस्था निकै दयनीय रहेको बताए । उनले अध्यक्षको पद सम्हाल्दै जाँदा कर्मचारीले दुई महिनाको तलब पाएका थिएनन् । संस्था ५२ लाख रूपैयाँ घाटामा थियो । किसानहरूले आलू समेत कम भण्डारण गर्न थालिसकेको अवस्थामा त्यहाँको नेतृत्वमा पुग्नु चुनौतीपूर्ण भए पनि उनले साहस गरे ।

कार्यकालको अन्तिम साधारणसभा गर्ने बेलासम्म सहकारी नाफामा पुग्यो । सहकारी बैंकमा रहेको ३२ लाख ऋण चुक्ता भयो । ५२ लाख रूपैयाँ घाटामा रहेको सहकारी अहिले ३५ लाख रूपैयाँ नाफामा छ । उनका अनुसार अत्यन्त कमजोर अवस्थामा रहेको संस्थालाई आर्थिक उपार्जनका विभिन्न गतिविधि सञ्चालन गर्दै अहिले सहकारीको खातामा १ करोड ५० लाख रूपैयाँ जम्मा छ ।

उनकै कार्यकालमा सहकारीलाई आधुनिकीकरणतर्फ लैजाने योजना समेत अघि सारियो । उनी सुनाउँछन्, ‘यो कोहलपुरको महत्वपूर्ण गहना हो । शीतभण्डारलाई थप किसानको भरोसाका केन्द्रको रूपमा विकास गर्नुपर्छ । किसानले मप्रति गरेको आशाको दियो निभ्न दिनुहुन्न भनेर मैले उम्मेदवारी दिएको हुँ ।’ समाजसेवामा लागि सकेपछि लोभ अन्त्य गर्नुपर्छ । यदि त्यसो भयो भने समाजको प्रिय मान्छे बन्न सकिन्छ ।

सबैलाई समेटेर अघि लैजानुपर्छ । कुनै पनि व्यक्ति कुनै पदमा पुग्छ भने आम रूपमा त्यो व्यक्तिले लोभ गर्दैन । रकम हिनामिना गर्दैन । उसले त्यहीँबाट कमाएर आफ्नो परिवार पाल्दैन भन्ने कुरा विश्वास दिलाउन सक्नुपर्छ भन्ने बलरामको स्पष्ट संकल्प छ । उनी भेरी शीतभण्डारको अध्यक्ष भएपछि पहिलो बैठकमै ‘आफूले अध्यक्षका रूपमा प्राप्त गर्ने बैठक भत्ता नलिने’ घोषणा गरेका थिए ।

पहिलो कार्यकालमा सहकारीको नाममा उनले सवारीसाधनका लागि एक लिटर पेट्रोल र डिजेल समेत लिएनन् । सहकारीकै काममा कुनै ठाउँ जाँदा समेत व्यक्तिगत रूपमा कुनै पनि सेवासुविधा नलिएको भन्दै आगामी दिनमा समेत कुनै अपेक्षा नै नराखेको उनले बताए । सहकारीमा किसानभन्दा राजीतिक व्यक्तिहरू हावी भए भन्ने गुनासोको खण्डन गर्दै भट्टराई आफ्नो पृष्ठभूमि अध्ययन गर्न सुझाउँछन् ।

आफू राजनीतिककर्मी भएको स्वीकार गर्दै त्योभन्दा पहिलो आफ्नो परिचय किसानका रूपमा रहेको उनको जिकिर छ । हाल कोहलपुर १२ मा बसोबास गर्दै आएका उनी कुनै समय बर्दियाको मैनापोखरमा आलु उत्पादन गर्थे । त्यतिबेलामा कोहलपुरमा भण्डारणको व्यवस्था थिएन ।भैरहवा पुगेर निकै दुःख, कष्टका साथ हप्तौँ दिनसम्म त्यहाँ बसेर पालो कुरेर आलु बिक्री गरेको उनी सम्झिन्छन् ।

आलुको बीउ जोगाउने मुख्य उद्देश्य राखेर स्थापना भएको शीतभण्डारमा खाने आलु, अन्य विभिन्न तरकारी, फलफूलहरू पनि भण्डारण २०६५ सालबाट सुरु भएको हो । हाल देशभरका २२ जिल्लाका किसान सहकारीमा आबद्ध छन् । यसअघिका नेतृत्वहरूको अथक प्रयास र जोडबलका कारण सहकारी अहिलेको अवस्थामा पुगेको भन्दै उनीहरूको भूमिकालाई नजरअन्दाज गर्न नमिल्ने उनी बताउँछन् ।

कृषिप्रधान देशमा किसान कृषिमा आत्मनिर्भर हुनुपर्छ भन्ने मान्यतालाई अघि सार्दै आलु उत्पादन वृद्धि गर्ने, किसानको पहुँच विस्तार गर्ने योजना उनको रहेको छ । अहिले पनि किसानको पहुँच राज्यसँग पुग्न नसकेको शीतभण्डारको पहुँच राज्यसँग पुग्नुपर्छ भनेर हिजोका दिनदेखि नै प्रयास गर्दै आएको उनले सुनाए । किसानहरूलाई लक्षित गरेर किसानमैत्री कार्यक्रम अघि बढाउने, उत्पादन वृद्धि गर्ने र किसान आत्मनिर्भर बन्नुपर्छ भन्ने उनका प्रमुख प्रतिबद्धता र योजना छन् ।

आलुको बीउ वृद्धि कार्यक्रम किसानसम्म पु¥याउने, पुराना मेसिन हटाएर नयाँ मेसिन जडान गर्ने, जीर्ण बन्दै गएको थर्मकुल मर्मत, शीतभण्डारमा लिफ्ट जडान गर्ने योजना उनको छ । किसानका मागसहित स्थानीय, प्रदेश र संघीय सरकारसँग समन्वय गर्ने, संरचना थप्ने र किसानमैत्री कार्यक्रम तर्जुमाका लागि आफूले भूमिका खेल्ने उनको भनाइ छ ।

पहिलो कार्यकालका प्रमुख योजनामध्ये आइसक्रिम उत्पादन गरी बजारमा बिक्री वितरण भइरहेको छ । व्यावसायिक सटर विस्तार गर्ने कार्य प्रक्रियामा गइसकेको छ । खाली भएको जग्गामा कृषि हाटबजार सञ्चालन गर्ने, बीउ बिजन तथा रासायनिक मलको कारोबार सञ्चालन गर्ने, आलु खेती गर्ने कृषकलाई उन्नत आलुको बीउ तथा प्राविधिक सेवा दिने योजना कार्यान्वयनको चरणमा गइसकेका छन् ।

शीतभण्डार राजनीतिमुक्त हुन्छ, किसानको सहकारी बन्छ, शीतभण्डारमा राजीतिकरण हावी र किसानको पहुँच छैन भन्ने सवालमा उनी दुई वटा सवाल प्रमुख देख्छन् । सहकारीको नेतृत्वप्रति हेर्ने र बुझ्ने दृष्टिकोण फरकफरक देख्छन् । सहकारी र राजनीतिसँग जोडेर आफूलाई समेत हेरिएको भन्दै आफू कुनै मुलुकमा बसेर नआएको र आफ्नो पृष्ठभूमि व्यावसायिक नै रहेको उनको भनाइ छ ।

उनका अनुसार राजनीतिलाई जोडेर बढी अतिरञ्जित गरिएको छ । आफ्नो विषयमा समेत टीकाटिप्पणी सुन्ने गरेको भन्दै उनले आफू नै विशुद्ध किसान भएको दाबी गरे । उनले भने, ‘म जग्गाको कारोबार गर्दिनँ । पैसा कमाउनका लागि मरिहत्ते गरेको छैन । मेरो पेसा समाज सेवा हो । मेरो पेसा कमाउने र ठूलो घर बनाउने र विभिन्न सहरमा गएर घर किन्ने होइन । भुइँ तहका किसानलाई माथि उठाउनुपर्छ भन्ने हो ।’ अझै पनि सहकारीका लागि धेरै काम गर्न बाँकी रहेकोले आफू दृढताका साथ अघि बढ्ने उनको प्रतिबद्धता छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख ९ गते बुधबार