नेपालगन्ज ।
अन्तरालको आयोजना तथा व्यवस्थापनमा पत्रकार÷फोटोग्राफर जयनारायण शाहले खिचेका फोटोहरूको ‘विटनेश अफ टाइम’ शीर्षकमा एकल फोटो प्रदर्शनी आयोजना हुने भएको छ । आगामी जेठ ११ र १२ गते नेपालगन्जमा हुने उक्त प्रदर्शनीमा समय, समाज, प्रकृति र जनजीवनका महत्वपूर्ण क्षणहरूलाई फोटोको माध्यमबाट प्रस्तुत गरिनेछ ।
‘विटनेश अफ टाइम’ प्रदर्शनीले समयको साक्षी वनेका दृश्य, पात्र, नेपाली समाज , भेषभूषा, संस्कृति, दैनिक जीवन र प्रकृतिलाई तस्वीरमार्फत उजागर गर्ने उद्देश्य लिएको छ । प्रदर्शनीमा राखिएका तबिस्रहरूले दर्शकलाई मानव सभ्यता र प्रकृतिका विविध आयाम अनुभव गराउने विश्वाश छ ।
‘कहिलेकाहीँ क्षणहरू केवल स्मृति मात्र हुँदैनन्, तिनीहरू इतिहास बन्छन्,’ पत्रकार एवम् फोटोग्राफर जयनारायण शाह भन्छन्, ‘तिनै क्षणहरूलाई जिवन्त राख्ने प्रयास यो फोटो प्रदर्शनी हो ।’ गएको डेढ दशकमा मुलुकले विभिन्न घटनाक्रम बेहोर्नु प¥यो । राजनीतिक परिदृश्यहरू फेरिए । यसक्रममा धेरै आन्दोलन र झडपहरू भए ।
भूकम्प, नाकाबन्दी, कोभिड महामारी र लकडाउनले आम जनजीवन अत्यन्त कष्टप्रद रह्यो । यो सबै कालखण्डका तस्बिरहरू फोटोग्राफर शाहले खिचेका छन् । ‘यात्राका दौरान जहाँ –जहाँ पुगेँ त्यो ठाउँको जनजीवन, रहनसहन, भेषभूषा, बस्ती, प्रकृति, फूलहरू, सुन्दर दृश्यहरू, पदयात्रामा भेटिएका मानिसहरूका तस्बिरहरू मैले क्यामेरामा कैद गरेँ,’ पत्रकार शाह भन्छन्, ‘प्रदर्शनीबाट अब यी तस्बिरहरू साझा गर्दैछु ।’
यस प्रदर्शनीमार्फत नयाँ पुस्तामा फोटोग्राफीप्रति रुचि अभिवृद्धि गर्नुका साथै समाजको जिवन्त तस्बिर प्रस्तुत गर्ने लक्ष्य राखिएको आयोजक अन्तरालले जनाएको छ । समय समाज र स्मृतिको कथा बोकेका यी तस्बिरहरू अवलोकन गर्न सम्पूर्ण कलाप्रेमी, विद्यार्थी, सञ्चारकर्मी तथा आम सर्वसाधारणलाई आयोजक अन्तरालले आमन्त्रण गरेको छ ।









प्रतिक्रिया दिनुहोस्