कास्की ।
देशको पर्यटकीय राजधानी पोखरास्थित पोखरा रङ्गशालामा शनिबारदेखि पाँचौँ संस्करणको मनुश्री–भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता सुरु हुँदैछ । पोखरा रङ्गशालाको टेनिस कम्प्लेक्समा यही वैशाख ८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी आयोजक कास्की जिल्ला टेनिस सङ्घले आज पत्रकार सम्मेलनमार्फत दिएको हो ।
प्रतियोगितामा यु–८, यु–९, यु–१०, यु–१२, यु–१४, यु–१६ र यु–१८ उमेर समूहका ‘ब्वाइज’ तथा ‘गल्र्सतर्फ’ ‘सिङ्गल्स’ र ‘डबल्स’ गरी कुल १६ इभेन्टमा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक लोकबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा कास्कीका १५ जना खेलाडीसहित देशका अन्य जिल्लाबाट गरी ९० खेलाडीको सहभागिता रहनेछ ।
प्रतियोगितामा पोखरासहित काठमाडौँ, चितवन र बुटवलका खेलाडीहरूको सहभागिता रहने सङ्घका कार्यवाहक अध्यक्ष नवीन चालिसेले बताए । यस प्रतियोगिताले नयाँ तथा प्रतिभाशाली खेलाडीहरूको प्रतिभा प्रस्फुटनमा महत्त्वपूर्ण योगदान पुर्याउने चालिसेले बताए । “विद्यालय तहदेखि नै टेनिस खेल विकास गरी योग्य सक्षम खेलाडी उत्पादनमा प्रतियोगिताले सहयोग पुग्ने विश्वास लिएका छौँ । पोखरामा खेल पर्यटन प्रवर्द्धनका लागि पनि प्रतियोगिता महत्त्वपूर्ण हुनेछ”, चालिसेले भने ।
प्रतियोगिताको तयारी पूरा भएसँगै स्थानीय खेलाडीहरूले यो प्रतियोगितालाई अवसरका रूपमा लिएको बताउँदै यहाँबाट उत्पादित खेलाडीहरूको अन्य प्रतियोगितामा समेत उत्साहजनक सहभागिता रहेको बताइन्छ । प्रतियोगिता सम्पन्न गर्न करिब रु तीन लाख खर्च लाग्ने अनुमान गरिएको छ । विजेता खेलाडीलाई मेडल, प्रमाणपत्र तथा गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । साथै, प्रतियोगिताले खेलाडीको जुनियर वरियतामा सुधार ल्याउनसमेत सहयोग पुग्ने आयोजकले जनाएको छ । रासस









प्रतिक्रिया दिनुहोस्