कोहलपुरमा संघ सरकारको निर्देशनविपरीत विद्यार्थी भर्ना सुरु



कोहलपुर (बाँके) ।

बाँकेको कोहलपुर नगरपालिकाले संघीय सरकारको निर्देशनविपरीत भर्ना अभियान सुरु गरेको छ । विद्यार्थी भर्ना र पठनपाठन सम्बन्धमा स्थानीय सरकारलाई संघीय सरकारले जारी गरेको निर्देशनविपरीत कोहलपुरमा भर्ना अभियान सुरु भएको हो । संघीय सरकारको २०८२ चैत २२ गते बसेको मन्त्रीपरिषद् बैठकले वैशाख १५ गतेदेखि भर्ना र २१ देखि पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ ।

यसअघि देशभर वैशाख १ गतेबाट विद्यार्थी भर्ना अभियान सुरु हुँदै आएको थियो । तर, बाँके जिल्लाको कोहलपुर नगरपालिकाले उक्त निर्णयविपरीत भर्ना र पठनपाठनको सूचना निकालेको छ । २०८३ वैशाख २ गते एक सूचना जारी गर्दै कोहलपुर नगरपालिकाले निर्णय कार्यान्वयन तथा सहजीकरण गर्न भन्दै नगर क्षेत्रका सामुदायिक तथा संस्थागत (गुठी) विद्यालयहरूलाई ११ बुँदे निर्देशन जारी गरेको छ ।

कोहलपुर नगरपालिकाद्वारा जारी गरिएको सूचनामा भनिएको छ, ‘नगरप्रमुखज्यु समेतको उपस्थितिमा बसेको प्रधानाध्यापक, शिक्षक महासंघ, क्रिसा लगायतका सामुदायिक तथा संस्थागत विद्यालयका पेशागत घटकहरूको संयुक्त बैठकको निर्णयअनुसार शैक्षिकसत्र २०८३ का लागि निर्णय कार्यान्वयन तथा सहजीकरण गर्न अनुरोध छ ।’

कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीद्वारा हस्ताक्षरित सूचनामा ११ बुँदै निर्देशन समेत जारी गरिएको छ । उक्त सूचनाको ७ नम्बरको निर्णयअनुसार केन्द्र सरकारको निर्देशनअनुसार वैशाख १५ देखि कोहलपुरमा पनि भर्ना सुरु हुनुपर्नेमा त्यसको एक दिनअघि नै वैशाख १४ गतेबाट पठनपाठन सुरु हुनेछ । ‘२०८३ वैशाख ३ गतेदेखि नियमित भर्ना कार्यक्रम सञ्चालन गर्ने र वैशाख १४ गतेदेखि पठनपाठन सुचारु गर्ने’ बुँदा नम्बर ७ मा भनिएको छ ।

मन्त्रीपरिषद्को निर्णयअनुसार वैशाख २१ गतेबाट मात्रै देशभर पठनपाठन सुरु हुनेछ । यसैगरी नगरपालिकाद्वारा जारी सूचनामा शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा २०८२ चैत २७ गते जारी निर्देशनबारे छलफल गरिएको उक्त निर्देशन पालना गर्दै यसअघि सघन कार्यतालिका सहितको कार्यक्रम तयार भई जारी भएमा सोहीअनुसार नै गर्ने गरी तत्कालका लागि कोहलपुर नगरपालिकाको शैक्षिकसत्र २०८३ को लागि शैक्षिक क्यालेण्डरमा भएबमोजिम कार्यक्रम कार्यान्वयन गर्ने जनाइएको छ ।

वैशाख १५ गतेअघि शैक्षिक सामग्री निर्माण तथा व्यवस्थापन गर्न समेत विद्यालयहरूलाई निर्देशन दिइएको छ । यसैगरी विद्यालयहरूलाई निःशुल्क पाठ्यपुस्तक खरिद र वितरण गर्न, विद्यालयको वार्षिक कार्यतालिका शैक्षणिक योजना निर्माण गर्न र विद्यालयको (आइईएमआइएस)मा भएका शिक्षक वितरण भौतिक तथा अन्य प्रशासनिक विवरण अद्यवधिक गर्न निर्देशन जारी गरिएको हो ।

यसैगरी, शिक्षकको पेशागत क्षमता विकासका लागि शिक्षा शाखासँग समन्वय गरी कार्यक्रम सञ्चालन तथा सहजीकरण गर्ने उल्लेख गरिएको छ। शनिबार र आइतबार बिदा हुने भएकोले शुक्रबार र महिनाको अन्तिम दिनमा पूरै समय पठनपाठनको व्यवस्था मिलाउन अनुरोध गरिएको छ । शैक्षिकसत्र २०८२ का शिक्षकको बिदा अभिलेख अद्यावधिक तथा प्रमाणीकरण गर्ने र विव्यसको म्याद समाप्त भएका विद्यालयले वैशाख मसान्तभित्र विव्यस गठन गर्ने वा पूर्णता दिन र निर्धारित समयभित्र विव्यस गठन नभएमा अस्थायी विद्यालय व्यवस्थापन समिति गठनका लागि प्रक्रिया बढाइने उल्लेख गरिएको छ ।

कोहलपुर नगरपालिकाको निर्णयको बचाउ गर्दै कोहलपुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत पुष्पलाल शाहीले नेपाल सरकारको निर्देशनको पालना गर्दै कोहलपुर नगरपालिकाको शैक्षिक क्यालेण्डरअनुसार प्रक्रिया अघि बढाउने सरोकारवालाहरूको सहमतिमा निर्णय गरिएको बताए । उनका अनुसार नगरप्रमुख सहितको उपस्थितिमा गरिएकोे निर्णयअनुसार नै कोहलपुरमा भर्ना अभियान र अन्य सम्पूर्ण गतिविधि सञ्चालन हुन्छन् ।

उनले भने, ‘कोहलपुरमा सरोकारवालाहरूको बैठक बस्यो । बैठकले विभिन्न निर्णय गरेको छ । सोहीअनुसार निर्णय कार्यान्वयन हुन्छन् ।’,
नगरपालिकाको बैठकमा सहभागी भएका क्रिसा बाँकेका अध्यक्ष ओविन्द्र खत्रीले निर्देशन मात्रै जारी गरेको र थप कुरा उल्लेख नभएको अवस्थामा अर्को परिपत्र नहुञ्जेलसम्मका लागि कोहलपुरको शैक्षिक क्यालेण्डरअनुसार प्रक्रिया अघि बढाउने सहमतिअनुसार आफूहरूले स्थानीय सरकारबाट निर्देशन प्राप्त गरेको बताए ।

अन्य प्रक्रिया प्रक्रियागत रूपमा अघि बढाउने गरी भर्ना अभियान भने सुरु भइसकेको उनले बताए । नगरपालिकाको निर्णय केन्द्र सरकारको निर्देशनबमोजिम नै भएको दाबी गर्छन् कोहलपुर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक इश्वरीप्रसाद विश्वकर्मा । उनका अनुसार कोहलपुर नगरपालिकाले गरेको निर्णय केन्द्र सरकारको निर्देशनविपरीत छैन । उनले भने, ‘हाम्रो निर्णय संघीय सरकारको निर्देशनविपरीत होइन । निर्देशनअनुसार नै छ । त्यसबीचमा अन्य विषय व्यवस्थापन गर्ने भनेको हो ।’

कार्यान्वयन होला निःशुल्क पाठ्यपुस्तक र भर्नाको निर्णय ? 

संघीय सरकारको चैत २२ को मन्त्रीपरिषद् बैठकले वैशाख १५ गतेदेखि भर्ना र २१ देखि पठनपाठन सञ्चालन गर्ने निर्णय ग¥यो । सोही दिन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले परिपत्र गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई शैक्षिकसत्र सुरु हुनुभन्दा अगाडि विद्यार्थी भर्ना तथा शुल्क नलिने विषयमा निर्देशन जारी गरेको छ ।

मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्र र शिक्षा विकास तथा समन्वय इकाईहरूलाई बोधार्थ गरिएको पत्रमा कानुन प्रावधानभन्दा बाहेक हुने गरी अग्रिम शुल्क लिएमा तत्काल फिर्ता गर्नुका साथै सो विद्यालयलाई कारबाही गर्न समेत भनिएको छ । शिक्षा मन्त्रालयद्वारा जारी सूचनामा शिक्षा नियमावली २०५९ को परिच्छेद १५ मा कसैले पनि शैक्षिकसत्र सुरु नभई विद्यार्थी भर्ना गराउनु हुँदैन भन्ने स्पष्ट व्यवस्था भएको उल्लेख गरेको छ ।

त्यसको भोलिपल्ट चैत २३ गते देशभरका सम्पूर्ण स्थानीय तहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय शैक्षिकसत्र सुरु हुनुभन्दा अगाडि विद्यार्थी भर्ना नगर्न र शुल्क नलिन पत्राचार गरेको छ । तर यसअघि देशका संस्थागत विद्यालयहरूले विभिन्न शीर्षकमा अतिरित्त शुल्क लिँदै आएका थिए । अब भने सो शीर्षकमा शुल्क लिन नपाइने भएको छ ।

मन्त्रालयको निर्देशनअनुसार कोहलपुर नगरपालिकाले समेत सम्पूर्ण सरोकारवालाहरूको सहभागितामा भएको बैठकपछि जारी गरेको ११ बुँदामा शुल्क नलिने विषय समेत समावेश गरिएको छ । कोहलपुर नगरपालिकाद्वारा जारी गरिएको निर्देशनको बुँदा नम्बर ४ मा भनिएको छ, ‘निःशुल्क पाठ्यपुस्तक खरिद तथा वितरण गर्ने गराउने ।’ तर नगरपालिकाले भर्ना शुल्कका विषयका बारेमा भने केही बोलेको छैन ।

यस सम्बन्धमा क्रिसा बाँकेका अध्यक्ष ओविन्द्र खत्री संघीय सरकार र स्थानीय सरकारको निर्देशनअनुसार नै आफूहरू अघि बढ्ने बताउँछन् । कोहलपुर नगरपालिकाले समेत निर्णय कार्यान्वयनमा जोड दिइएको जनाएको छ । शिक्षा, युवा तथा खेलकुद शाखा कोहलपुरले समेत विगतको भन्दा निर्णय कार्यान्वनमा कडाइ गरिने जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख ४ गते शुक्रबार