प्रथम खजुरा गोल्डकप सुरु



खजुरा (बाँके) ।

‘एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२’ सोमबारबाट सुरु भएको छ । न्यू डाँफे स्पोट्र्स क्लबको आयोजना तथा खजुरा गाउँपालिकाको संरक्षकत्वमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताका संयोजक एवम् न्यू डाँफे स्पोट्र्स क्लबका अध्यक्ष बालाराम खत्रीको सभापतित्वमा भएको प्रतियोगिताको प्रमुख अतिथि खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर विकले एक समारोहका बीच उद्घाटन गरे ।

उद्घाटन सत्रमा गाउँपालिका उपाध्यक्ष मञ्जु मल्लसहित अतिथिहरुको सहभागिता रहेको थियो । प्रतियोगिता उद्घाटनअघि परम्परागत बाजागाजासहित झाँकी निकालिएको थियो । प्रतियोगिताको उद्घाटन खेलमाा गोर्खा ब्वाइज स्पोट्र्स क्लब बुटवलले विजयी सुरुवात ग¥यो । ‘डि’ गाउँस्थित मिनी रंगशालामा भएको उद्घाटन खेलमा संकटा स्पोट्र्स क्लब काठमाडौँलाई १–० गोलले हराउँदै गोर्खा ब्वाइजले विजयी सुरुवात गरेको हो ।

विजयी भएसँगै गोर्खा ब्वाइजले आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको छ । गोर्खाको तर्फबाट निराजन खत्रीले खेलको १४औँ मिनेटमा गोल गरेर टिमलाई जित दिलाए । उक्त खेलमा ‘प्लेयर अफ द म्याच’ घोषित भएका निराजनले नगद १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उनलाई प्रमुख अतिथि विक र विशिष्ट अतिथि मल्लले पुरस्कार हस्तान्तरण गरे ।

प्रतियोगिताअन्तर्गत नयाँ वर्षका दिन आज कर्णाली प्रदेशको काँक्रेविहार स्पोट्र्स क्लब र नवलपरासीको फोर ब्रर्दश एफसीबीच प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगितामा कूल ८ वटा टिम सहभागी भएको प्रतियोगिताका संयोजक खत्रीले जानकारी दिएका छन् । नकआउटका आधारमा खेलाएको उक्त प्रतियोगिता वैशाख ६ गतेसम्म चल्ने बताइएको छ । प्रतियोगितामा गोर्खा ब्वाइज स्पोट्र्स क्लब बुटवल, संकटा स्पोट्र्स क्लब काठमाडौँ, काँक्रेविहार स्पोट्र्स क्लब सुर्खेत, फोर ब्रर्दश एफसी नवलपरासी, भारत लखनउको जेविएम फुटबल एकेडेमी, सशस्त्र प्रहरीको विभागीय टिम एपिएफ क्लब, नाइजेरियन जोन क्लब नाइजेरिया र आयोजक टिम न्यू डाँफे स्पोट्र्स क्लब सहभागी भएका छन् ।

प्रतियोगिताका विजेता टिमले नगद ७ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता टिमले नगद ४ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र गर्नेछन् । यस्तै विधागततर्फ उत्कृष्ट खेलाडीलाई नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगितामा प्रथम हुने टिमलाई प्रदान गरिने पुरस्कार राशीलाई अमेरिकामा रहेका खजुराबासी लिलबहादुर थापाले स्पोन्सर गरेको प्रतियोगिताका प्रचार संयोजक खगेन्द्र दाहालले जानकारी दिए । उनका अनुसार प्रतियोगिता अवलोकन गर्नका लागि प्रतिव्यक्ति ५० रूपैयाँ प्रवेश शुल्क निर्धारण गरिएकोमा उक्त निर्णय आयोजकले सच्याउँदै सबै खेल निःशुल्क देखाइने व्यवस्था गरेको प्रचार संयोजक दाहालले जनाए ।

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख १ गते मंगलबार