प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति सार्वजनिक



वीरेन्द्र जैसी । नेपालगन्ज ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृतत्वको सरकारको मन्त्रीपरिषद्मा रहेका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो वाचापत्रमै सार्वजनिक पद सम्हाल्नुअघि आफ्नो सम्पत्ति विवरण पूर्णरूपमा सार्वजनिक गर्ने उल्लेख थियो । तर मन्त्रीहरूले मन्त्री पद सम्हाल्नुअघि सार्वजनिक नगरे पनि करिब दुई हप्तापछि सम्पत्ति विवरण सार्वजनिक गरिएको हो ।

सार्वजनिक भएको विवरणअनुसार प्रधानमन्त्री शाहकी पत्नी सविना काफ्लेको नाममा १९० तोला गरगहना रहेको उल्लेख छ । सुन, चाँदी, हिरा लगायतका १९० तोला गरगहना रहेको प्रधानमन्त्रीको सम्पत्ति विवरणमा उल्लेख छ । उक्त सम्पत्ति प्राप्तिको स्रोत ‘पैत्रिक’ रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।

यसैगरी प्रधानमन्त्री बालेन शाहले आफ्नो बैंक ब्यालेन्स एक करोड ४६ लाख रूपैयाँँ रहेको र उक्त मौज्दातको स्रोत सामाजिक सञ्जाल भएको उल्लेख गरेका छन् । उनले फेसकुबमा ४० लाख, युट्युबमा १२ लाख, एक्समा ५ लाख फलोअर्स रहेकोलाई पनि सम्पत्ति मानेका छन् । यसैगरी काठमाडौँ र धनुषामा दुई वटा घर रहेका र महोत्तरीमा नौ बिघा जग्गा रहेको पनि शाहले विवरणमा उल्लेख गरेका छन् ।

अर्थमन्त्रीका चारवटा घर र अपार्टमेन्ट, एक करोड ९० लाख बैंकमा

अर्थमन्त्री डा स्वर्णिम वाग्लेको सम्पत्ति विवरणमा चार वटा घर तथा अपार्टमेन्ट रहेको र एक करोड ९० लाख बैंकमा मौज्दात रहेको उल्लेख छ। वाग्लेको सम्पत्ति विवरणमा ललितपुरको सानेपामा २ करोडको अपार्टमेन्ट, ललितपुरमा ५ करोडको, काभ्रेमा ३ करोड ७५ लाखको अपार्टमेन्ट, तनहुँमा दुई करोडको घर रहेको उल्लेख छ ।

वाग्लेले उक्त सम्पत्तिको स्रोत स्रोत अन्तर्राष्ट्रिय रोजगारी निजी निवास बिक्री, अन्तर्राष्ट्रिय रोजगारी, बैंक ऋण तथा प्यक्तिगत सापटी रहेको उल्लेख गरेका छन् । यसैगरी, काठमाडौँको चन्द्रागिरि नगरपालिकामा जीवनराज वाग्लेको नाममा ३ रोपनी, गोरखाको शहीद लखन गाउँपालिका ८ मा ३ रोपनी जग्गा उनले देखाएका छन् ।

स्वर्णिम वाग्लेको नाममा गोरखा नगरपालिकामा ५ रोपनी जग्गा छ । जीवनराज वाग्लेको नाममा चितवनको रत्ननगर नगरपालिका ४ र १४ मा ५ रोपनी जग्गा छ । स्वर्णिम वाग्लेकै नाममा तनहुँको भानु नगरपालिकामा ६ रोपनी जग्गा छ । यी जग्गा क्रमशः २० लाख, ५ लाख, ८० लाख र ८ लाख ५० हजार रूपैयाँँमा खरिद गरेको उनले उल्लेख गरेका छन् ।

यी जग्गाजेथा क्रमशः पिताको रोजगारी र बचत, पैत्रिक सम्पत्ति, अन्तर्राष्ट्रिय रोजगारी, पिताको बचत र अन्तर्राष्ट्रिय रोजगारी, श्रीमतीको आयबाट जोडेको उनले बताएका छन् । स्वर्णिम वाग्लेले आफूसँग ४५ तोला सुन रहेको र उक्त सुन पारिवारिक तथा रोजगारीबाट जोडेको उल्लेख छ ।

वाग्लेसँग सानिमा मिडल तमोर हाइड्रोको ७१ हजार ९३, सांग्रिला विकास बैंकको २५ हजार ७६२ कित्ता, नेशनल फण्ड म्यानेटमेन्ट लिमिटेड, ठूलो खोला, अपर मादी खोलाको गरी ९० लाख, ६० लाख, तीन करोड मूल्यको सेयर रहेको उल्लेख गरेका छन् । उनले राष्ट्रिय वाणिज्य बैंकबाट ३८, स्ट्याडर्ड चार्टड बैंकबाट ७५ लाख, ग्लोबल आइएमइबाट १ करोड ५ लाख र व्यक्तिगत सापटीबाट २ करोड ५० लाख रूपैयाँँ ऋण लिएको उल्लेख गरेका छन् ।यसमध्ये राष्ट्रिय वाणिज्य बैंक र स्ट्याडर्ड चार्टड बैंकबाट ३८ र ७५ लाख भने चुक्ता गरिसकेको उल्लेख गरेका छन् ।

गृहमन्त्रीको चार करोड ३१ लाखको सेयर, ८९ तोला सुन

सरकारका गृहमन्त्री रहेका सुधन गुरुङसँग चार करोड ३१ लाखको सेयर र ८९ तोला सुन रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ । उनीसँग ६ किलो चाँदी पनि रहेको उल्लेख छ । उक्त विवरणका अनुसार, गृहमन्त्री गुरुङको ४ करोड ३१ लाख ५६ हजार २ सय रूपैयाँँको सेयर बजारमा लगानी देखिएको हो ।

जसमा होप होल्डिङ्स प्रालिमा ३० हजार थान साधारण सेयर रहेको उल्लेख छ । उक्त सेयरको मूल्य ३० लाख रहेको सम्पत्ति विवरणमा उल्लेख छ । त्यस्तै, लगुम प्रिमियम अपार्टमेन्ट्स प्रालिमा ५ हजार ७ सय थान साधारण सेयर रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन्। जसको मूल्य ५७ लाख रहेको उल्लेख छ ।

त्यस्तै, सबैभन्दा बढी लगानी ‘धितोपत्र बजारमा कारोबार हुने सेयरहरू’ मा भएको उनले एकमुष्ट उल्लेख गरेका छन् । व्यवसायिक र पैत्रिक सम्पत्ति स्रोत देखाउँदै उनले उल्लेख गरेको विवरणअनुसार, ‘धितोपत्र बजारमा कारोबार हुने सेयरहरू’ मा २ करोड ७४ लाख ५६ हजार २ सय रहेको उल्लेख छ । एड्भेन्चर भिल्ला प्रालिमा पनि उनले आफ्नो सेयर रहेको उल्लेख गरेका छन् ।

जहाँ ७० हजार थान सेयर रहेको र त्यसको मूल्य ७० लाख हुन आउने उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । गृहमन्त्री गुरुङको नाममा १९ रोपनी १५ आना जग्गा रहेको पाइएको छ । सम्पत्ति विवरणअनुसार गुरुङको नाममा धनकुटामा १९ रोपनी १५ आना जग्गा रहेको उल्लेख छ।

उक्त जग्गा लगानीबाट जोडेको सम्पत्ति विवरणमा उल्लेख छ । गृहमन्त्री गुरुङको पिता दिलबहादुर गुरुङको नाममा चितवनको भरतपुर–१८ गुञ्जनगरमा ३० कठ्ठा र बाजे रामसल गुरुङको (बाँडफाँट नभएको) नाममा गोरखाको चुननुब्रीमा दुई सय २१ रोपनी जग्गा रहेको उल्लेख छ ।

परराष्ट्र मन्त्री शिशिर खनाल

परराष्ट्र मन्त्री शिशिर खनालको सम्पत्ति विवरण विवरणअनुसार काठमाडौँको टोखामा ६ आनामा बनेको पैत्रिक सम्पत्ति घरसहित तीन ठाउँमा जग्गा रहेको उल्लेख छ । खनालको तनहुँको भानु–७ मा १५ रोपनी, पूर्वी नवलपरासीको देवचुली–२ मा १३ रोपनी, नेपालगन्ज–२ मा ३ कट्ठा जग्गाजमिन छ । यो सबै पैत्रिक सम्पत्ति हो । सबै बुवाको नाममा छ ।

मन्त्री खनालसँग सुन २२ तोला, चाँदी २५ तोला, नगद १० लाख मौज्दात छ । त्यस्तै नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा ३ लाख २० हजार ५४७, नबिल बैंकमा २ लाख एक हजार चार सय पाँच, राष्ट्रिय वाणिज्य बैंकमा दुई लाख ६८ हजार एक सय ४१, एनआइसी एसियामा चार लाख ५१ हजार दुई सय ९०, ग्लोबल आइएमइमा ४३ हजार ८०३, नबिल बैंककै अर्को खातामा चार हजार आठ ८२ रूपैयाँँ मौज्दात छ ।

उनको नाममा पिक एण्ड ड्रप नेपालको ३३, रिग्पा इन्टरनेशनल प्राइभेट लिमिटेडको १००, ताजा एग्रो फार्मको १६ प्रतिशत सेयर छ । बिडब्लुपी माइक्रो फाइनान्सको २५६०, ओम मेघाश्री फर्माक्युटिकल्सको ५०००, ग्लोबल आइएमइको १०९ र नबिल बैंकको ५० कित्ता कित्ता सेयर छ । यसबाहेक १६ विभिन्न कम्पनीको सेयर छ । उनले विभिन्न मितिमा २० लाख, ५५ लाख, २५ लाख बैंक, व्यक्तिगत माध्यमबाट ऋण लिएर भुक्तानी गर्न बाँकी रहेको बताएका छन् ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम

सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बैंक ब्यालेन्सस्वरुप १० लाख ५० हजार ३३५ रूपैयाँँ मौज्दात रहेको उल्लेख गरेकी छिन् । त्यस्तै, उनले दुईवटा बैंकबाट ऋण पनि लिएको आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेकी छिन् । जसअनुसार, गाडी खरिदका लागि राष्ट्रिय वाणिज्य बैंकबाट २० लाख लिएको र त्यसमा ७ लाख तिरेको उल्लेख गरेकी छिन् ।

एभरेष्ट बैंकबाट गाडी खरिदकै लागि २५ लाख ऋण लिएको उनले आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेकी छिन् । उनले १५ तोला सुन, ९ तोला चाँदी र १ तोला हिरा पनि रहेको सम्पत्ति विवरणमा उल्लेख गरेकी छिन् । उनले आफ्नो सम्पत्ति विवरणमा सवारीसाधन खरिद गरेको विषय पनि उल्लेख गरेकी छिन् । राष्ट्रिय वाणिज्य बैंकबाट २६ लाख ऋण लिएर बा ०१–०२९ च ४३३६ नम्बरको गाडी खरिद गरेको उल्लेख गरेकी छिन् ।

उक्त सम्पत्ति प्राप्तिको स्रोत ऋण र तलब भएको सम्पत्ति विवरणमा उल्लेख छ । श्रीमान् गृहेन्द्र घिमिरेले एभरेष्ट बैंकबाट ९५ लाख ऋण लिएर बा३च ६७२२ नम्बरको गाडी खरिद गरेको उल्लेख छ । उक्त गाडी ऋण, तलब र पुरानो गाडी एक्सचेन्ज गरेर खरिद गरिएको विवरणमा उल्लेख छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहता

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताको सम्पत्ति विवरणअनुसार काठमाडौँको सौखेलमा ५६ लाखमा किनेको ७ आना जग्गा उल्लेख छ । उनले सम्पत्ति विवरण सार्वजनिक गर्ने क्रममा परिवारका सदस्यको नाममा ८ बिघा जग्गा रहेको पनि खुलाएकी छिन् । उनले आफ्नो तलब सुविधा सेयरमा खर्च गरेको पनि बताएकी छिन् । काठमाडौँको जग्गा खरिदमा आफ्नो तलब खर्च भएको उल्लेख गरेकी मेहताले विभिन्न चारवटा कम्पनीको सेयर खरिदमा पनि तलब खर्चिएको उल्लेख गरेकी छिन् ।

मेहताले उल्लेख गरेअनुसार जीएचएलको ६९ कित्ता अर्थात् १४ हजार ६५९ रूपैयाँँ, एचडीएचएको ८८ कित्ता अर्थात् १९ हजार ८८८ रूपैयाँँ, जीबीएलभीको २८ कित्ता अर्थात् ३६ हजार ५९६ र निफ्राको ६४ कित्ता अर्थात् १७ हजार २०२ रूपैयाँँ बराबरको सेयर खरिद गरेकी छिन् ।
उनीसँग ३० तोला सुन र ५० तोला चाँदी रहेको छ । यो उनले दाइजो र उपहारबाट प्राप्त गरेकी हुन् । मेहतासँग माछापुच्छ्रे बैंकमा ७ लाख २३ हजार ५३६ र सानिमा बैंकमा १ लाख रूपैयाँँ नगद रहेको छ । उनले २५ लाखमा ग्राण्ड आई १० गाडी पनि तलबबाट खरिद गरेको उल्लेख गरेकी छन् ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको काठमाडौँमा दुई कित्तामा ६ आना जग्गामा बनेका घर रहेको उल्लेख छ । यसैगरी उनीसँग सुन १५ तोला चाँदी ५० तोला रहेको छ । यस्तै ८ वटा बैंकमा ८० लाख ४० हजार रूपैयाँँ बचत रहेको पनि श्रेष्ठको सम्पत्ति विवरणमा उल्लेख छ ।
श्रेष्ठले एक करोड ४५ लाख ४८ हजार चार सय २० रूपैयाँँ बराबरको सेयरमा लगानी गरेका छन् । यस्तै उनीसँग एउटा टोयोटाको ल्याण्ड क्रुजर टोयोटा, एक स्कुटर र एक इलेक्ट्रिक गाडी रहेको पनि उल्लेख गरिएको छ ।

भौतिक पूर्वाधार, यातायात तथा सहरी विकासमन्त्री सुनिल लम्साल

भौतिक पूर्वाधार, यातायात तथा सहरी विकासमन्त्री सुनिल लम्सालको एक कठ्ठा १० धुर जग्गामा बनेको घरसहित नवलपरासी र स्याङ्जामा जग्गा रहेको उल्लेख छ । उनीसँग ३० तोला सुन र ५० तोला चाँदी रहेको उल्लेख छ भने बैंक खातामा ९० लाख मौज्दात रहेको विवरणमा जनाइएको छ ।

महिला बालबालिकामन्त्री सीता वादी

महिला बालबालिकामन्त्री सीता वादीले सुर्खेतमा एक घर रहेको र नुवाकोटमा पतिको नाममा जग्गा रहेको उल्लेख गरेकी छन् ।
उनले नगद ५० हजार, सुन १८ तोला र चाँदी १५ तोला रहेको विवरण सार्वजनिक गरेकी छन् । यसैगरी बंैक खातामा १५ लाख मौज्दात रहेको र ५६ सय कित्ता सेयर रहेको उल्लेख गरेकी छन् ।

सामान्य प्रशासनमन्त्री प्रतिभा रावल

संघीय मामिला, सामान्य प्रशासन, भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलको सम्पत्ति विवरणअनुसार काठमाडौँमा ७० लाख मूल्य पर्ने र कैलालीमा पाँच लाख मूल्य पर्ने जग्गा रहेको छ । यस्तै सुन र गरहना २५ तोला र बैंकमा २४ लाख ७८ हजार मौज्दात रहेको उल्लेख गरेकी छन् । यस्तै, एक लाखको शेयर र एभरेष्ट बैंकमा २० लाख ऋण रहेको पनि उनको सम्पत्ति विवरणमा उल्लेख छ । उनीसँग ४४ लाख पर्ने गाडीसमेत रहेको छ ।

शिक्षा, विज्ञानप्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेल

शिक्षा, विज्ञानप्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग काठमाडौंँमा चार करोड मूल्य पर्ने र पाँच करोड मूल्य पर्नेगरी दुई वटा घर रहेको विवरण सार्वजनिक गरिएको । उनको काठमाडौँ र ललितपुरमा दुई दुई र मोरङमा १ ठाउँमा गरी पाँच ठाउँमा ११ करोड मूल्य पर्ने जग्गा रहेको उल्लेख छ ।

यस्तै, २५ तोला सुन र एक सय तोला चाँदी रहेको विवरण देखाएका पोखरेलले चार लाख ४७ हजार बैंक मौज्दात रहेको, एक करोड ७६ लाख ९० हजार मूल्य बराबरको सेयर रहेको उल्लेख गरेका छन् । उनको बैंकमा ७५ लाख ऋण रहेको र एक करोड नौ लाख ६५ हजार मूल्य बराबरका दुई वटा कार रहेका उल्लेख गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री खडकराज पौडेल

संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री खडकराज पौडेलले पोखरामा दुई करोड ६० लाख मूल्यको घर रहेको र पोखराको तीन ठाउँमा जग्गा रहेको उल्लेख गरेका छन् । उनीसँग ११ तोला सुन, पाँच तोला चाँदी र बैंकमा २२ लाख ७३ हजार मौज्दात छ ।

१८ हजार एक सय ५२ कित्ता सेयर रहेको सार्वजनिक गरेका पौडेलले एक करोड ४० लाख ऋण लिएको, २५ लाखको बुक लिफ्टर प्रालि र २ करोडको फार्म हाउस रहेको र १५ लाखको बर्थडे जोन स्टोर्स सम्पत्तिको रूपमा रहेको उल्लेख गरेका छन् ।

सूचना तथा सञ्चार प्रविधिमन्त्री डा. विक्रम तिमिल्सेना

सूचना तथा सञ्चार प्रविधिमन्त्री डा. विक्रम तिमिल्सेनाले काठमाडौँमा श्रीमतीको नाममा घर, काठटामाडौँमै एक सय ७४ दशमलव ८५ धुर जग्गा रहेको उल्लेख गरेका छन् । उनीसँग ६ तोला सुन, १० तोला चाँदी र १० लाख ३४ हजार बैंक मौज्दात रहेको उल्लेख गरिएको छ । ४८ लाख अरुलाई ऋण दिएका उनले २३ लाख मूल्य बराबरको गाडी रहेको पनि सार्वजनिक गरेका छन् ।

कृषि, वन तथा वातावरण गीता चौधरी

कृषि, वन तथा वातावरण गीता चौधरीको बर्दियामा ३० लाख मूल्यमा किनिएको जग्गासहित दुई ठाउँमा जग्गा रहेको उल्लेख छ ।
यसैगरी १५ तोला सुन र १०० तोला चाँदी रहेको उल्लेख गरेकी चौधरीले बैंकमा १ लाख ३५ हजार मौज्दात रहको र दुई लाख ५० हजार बराबरको सेयर रहेको जानकारी दिएकी छन् ।

उद्योग, वाषिज्य तथा आपूर्ति गौरीकुमारी यादव

उद्योग, वाषिज्य तथा आपूर्ति गौरीकुमारी यादवको काठमाडौँमा तीन तलाको घरसहित काठमाडौँमै तीन र महोत्तरीमा चार स्थानमा जग्गा रहेको उल्लेख गरेकी छन् । एक सय ८० तोला सुन र दुई किलो चाँदी रहेको जनाएकी यादवले बैंकमा १० लाख मौज्दात रहेको, तीन करोड ३८ लाख ३५ हजार बराबरको सेयर रहेको जानकारी दिएकी छन् ।

यसैगरी एक करोड ६१ लाख ८७ हजार ऋण लिएको र बिग मार्टलाई जग्गा लिजमा दिइएको र जसबाट मासिक ९० हजार भाडा प्राप्त हुने गरेको पनि उनको सम्पत्ति विवरणमा उल्लेख छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादव

सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवको सम्पत्ति विवरणमा सप्तरीको राजविराजमा पैत्रिक घर रहेको र चार स्थानमा जग्गा रहेको उल्लेख छ । उनले आफूसँग ८० तोला सुन, एक सय ५० तोला चाँदी र ७० लाख रूपैयाँँ बैंक मौज्दात रहेको विवरण पेश गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत ३० गते सोमबार