मिसन टुडे दैनिकसँगको कुराकानीमा केसीले भने, ‘म जहाँ जहाँ पुग्छु । त्यहाँका नागरिकले न्यानो स्वागत गर्नु भएको छ । उहाँहरूले मलाई खुवाउनुहुन्छ । सुत्न दिनुहुन्छ । यसरी नै चलिरहेको छ अभियान ।’ आफू केही ठाउँमा मन्दिरमा समेत सुतेको उनले सुनाए । यात्रा आफैँमा चुनौतीपूर्ण हुन्छ । सबै चुनौती सामना गर्ने विश्वासका साथ यात्रामा निस्किएको उनको भनाइ छ । ‘हिँड्दा गाह्रो हुन्छ । त्यसमाथि अहिले तराईमा गर्मीको समय छ । यात्रालाई घाम, पानी, धूलो केहीले पनि रोक्दैन म दृढ विश्वास लिएर अघि बढेको छु,’ उनले सुनाए ।
शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
शिरमा कालो टोपी । क्रस खुकुरी र नेपालको झण्डा अंकित टोपी । जहाँ लेखिएको छ, ‘जय नेपाल’ । आँखामा कालो चस्मा अनि शरीरमा दौरा सुरुवाल र कालै रङको कोट लगाएका छन् । एउटा झोला अनि बीचमा फराफराउँदो नेपालको राष्ट्रिय झण्डा । झोलाको बाहिर टाँगिएको पोस्टरमा लेखिएको छ, ‘महान नेपाल ५ वर्षे पदयात्रा । इतिहास र गौरवको यात्रा ।’
उनको झोलाभित्र छन् केही थान लुगा । प्राथमिक औषधिहरू । झोलाको साइडमा झुण्ड्याएका छन् पानीका बोतल । छातीमा भिरेका छन् अर्को सानो कालो रङको झोला । एउटा हातमा लौरो र अर्को हातमा सानो क्यामरा राख्ने स्ट्याण्ड छ । ५ वर्षे महान् नेपाल पदयात्रामा निस्किएका उनी हुन्, सल्यानको दार्मा गाउँपालिका–५ का २६ वर्षीय मदन केसी ‘महान्’ ।
उनले बुद्ध जन्मस्थल मायादेवी मन्दिर क्षेत्रबाट चैत ५ गतेबाट ‘महान नेपाल ५ वर्षे पदयात्रा अभियान’ सुरु गरेका हुन् । केसीले सो अभियान ६८ वर्षीय बुवा तेजु खत्री र ६६ वर्षीया आमा लक्ष्मी खत्रीका हातबाट संयुक्त रूपमा टीका लगाउँदै दुवै जनाको पाउ छोएर सुरु गरेका थिए । केसीले नेपालका सबै भूगोल हिमाल, पहाड, तराईका दुर्गम गाउँ तथा सबै ठाउँ पुगेर वास्तविक नेपाल बुझ्ने योजना रहेको बताए ।
उनका अनुसार गाउँ–गाउँबाट नागरिकका समस्या, सम्भावना र सपना संकलन गर्ने, इतिहास र संस्कृति संरक्षण गर्ने, स्थानीय इतिहास, भाषा, परम्परा जीवनशैली सबैलाई दस्तावेज बनाउने अभियानको उद्देश्य रहेको छ । पदयात्रामार्फत नेपालका सबै जाति, भाषा र संस्कृतिलाई जोड्ने, अनुसन्धान र ज्ञान बटुल्ने उनको भनाइ छ ।
उनले ५ वर्षे अभियानलाई ‘नेपाल चिन्ने, नेपाल बनाउने अभियान’ भनेका छन् । पदयात्राका लागि ‘नेपालको माटो, नेपालको आवाज’, ‘गाउँ–गाउँ पुगौँ, राष्ट्र बुझौँ’, ‘मेरो पाँच वर्ष राष्ट्रको लागि’ भन्ने नाराहरू तय गरिएको छ । पदयात्राको २०औँ दिनमा बाँकेको कोहलपुरमा अभियानबारे कोहलपुरस्थित चौराहामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै केसीले नेपाल केवल भौगोलिक देश मात्र नभई यो इतिहास, संस्कृति, संघर्ष र आशाको राष्ट्र भएको बताए ।

उनका अनुसार ५ वर्षे पदयात्रा एउटा सामाजिक अभियान हो । नेपाल चिन्ने र चिनाउने प्रयास हो । ‘म ७७ वटै जिल्ला पुग्नेछु । त्यहाँको माटो स्पर्श गर्नेछु । देखेका कुरा लेख्नेछु । त्यहाँको सम्भावना र अभावका पाटा संसारलाई देखाउनेछु,’ उनले भने । यो यात्रा उनले पैदल हिँडेर नै गर्नेछन् । २०औँ दिनमा सोमबार कोहलपुर पुगेका उनी अहिलेसम्म तीन जिल्ला घुमेका छन् । रुपन्देही, दाङ र बाँके जिल्ला पुगेको उनको भनाइ छ ।
अब उनी बर्दिया हुँदै सुदूरपश्चिम पुग्नेछन् । उनी भन्छन्, ‘सुदूरपश्चिमलाई मसिनोगरी बुझ्ने र अध्ययन अनुसन्धान गर्नेछु । म सुदूरपश्चिम क्षेत्रमा करिब ९–१० महिना बस्नेछु ।’ त्यसपछि उनी कर्णाली प्रदेशको पदयात्रा सकेर गण्डकी, बागमती, मधेश हुँदै कोशी प्रदेश पुगेर संघीय राजधानी काठमाडौँ पुगेर आफ्नो यात्रा टुंग्याउनेछन् । उनी हरेक दिन न्यूनतम २२ देखि अधिकतम २५ किलोमिटर पैदल यात्रा गर्छन् ।
२०औँ दिनसम्म आइपुग्दा अहिलेसम्मकै धेरै ३२ किलोमिटर पैदल यात्रा गरेको उनले सुनाए । मिसन टुडे दैनिकसँगको कुराकानीमा केसीले भने, ‘म जहाँ जहाँ पुग्छु । त्यहाँका नागरिकले न्यानो स्वागत गर्नु भएको छ । उहाँहरूले मलाई खुवाउनुहुन्छ । सुत्न दिनुहुन्छ । यसरी नै चलिरहेको छ अभियान ।’ आफू केही ठाउँमा मन्दिरमा समेत सुतेको उनले सुनाए । यात्रा आफैँमा चुनौतीपूर्ण हुन्छ । सबै चुनौती सामना गर्ने विश्वासका साथ यात्रामा निस्किएको उनको भनाइ छ । ‘हिँड्दा गाह्रो हुन्छ । त्यसमाथि अहिले तराईमा गर्मीको समय छ । यात्रालाई घाम, पानी, धूलो केहीले पनि रोक्दैन म दृढ विश्वास लिएर अघि बढेको छु,’ उनले सुनाए ।
उनले ड्रोन टेक्नोलोजीमा भारतको नोयडाबाट आइटी सकाएका छन् । केसी कुनै समय विप्लब नेतृत्वको नेकपामा आबद्ध थिए । करिब पाँच वर्ष उनले नेत्रविक्रम चन्द ‘विप्लब’को सचिवालयमा बसेर आइटी हेरेका थिए । तर, राजनीतिबाट मात्रै देश बुझ्न नसकिने बुझेपछि पदयात्रा अभियानमा लागेको उनले जनाए ।
केसीका अनुसार यो अभियान सत्य, अनुशासन, साहस, अनुसन्धान र राष्ट्रप्रेम गरी पाँच सिद्धान्तमा आधारित छ । ‘यो यात्रा केवल हिँड्ने होइन, यसबाट नेपाल पदयात्रा डकुमेन्ट्री, नेपालको गाउँको कथा, ५ वर्षको यात्रा पुस्तक, नेपाल अनुसन्धान डाटा आदि दस्तावेज तयार गरिनेछ’, उनले भने । उनी २०८७ साल चैत ४ गतेसम्म पैदल यात्रा गर्नेछन् । उनको परिवारमा बुवाआमासहित दुई जना छोराछोरी र श्रीमती छन् ।









प्रतिक्रिया दिनुहोस्