भारतबाट बेर्ना ल्याएर बाँकेमा स्ट्रबेरी फलाइरहेका बस्नेत



‘एग्रो टुरिजम’को मोडलमा सुरु गरिएको खेतीले सार्थकता पाउँदै गएको सञ्चालक सर्पराज बस्नेत बताए । ४४ वर्षीय सञ्चालक बस्नेत सामान्य लेखपढ गरेका एक भुइँमान्छे हुन् । यसअघि घरमै पराम्पगत कृषि खेती गर्दै आएका उनी दुई वर्षदेखि बाँकेमा व्यावसायिक रूपमौ स्ट्रबेरी खेती गरिरहेका छन् । ‘म परम्परागत खेती गर्दै आएको थिएँ । के गरौँ के गरौँ भनेर विकल्पहरूको खोजी गर्दा स्ट्रबेरी खेती सुरु गरेँ । अहिले व्यवसाय ठिकै चलिरहेको छ,’ उनले भने ।

 शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

बाँके बैजनाथ गाउँपालिका–१ च्यामास्थित बस्नेत कृषि तथा पशुपन्क्षी फर्ममा अहिले लटरम्म स्ट्रबेरी फलेको छ । यो फार्ममा अहिले स्ट्रबेरी किन्न आउनेको भिड नै लाग्ने गरेको छ । यसका पारखीहरूले आफूलाई चाहिने स्ट्रबेरी आफैँ टिप्ने पाउँछन् । यो सिजनमा यहाँ पुगेर स्ट्रबेरी टिप्दै गरेको फोटो, भिडिओ खिचाउनेको पनि भिड लाग्छ । किन्नका लागि बाँकेको नेपालगन्ज, कोहलपुर लगायतका क्षेत्रबाट दैनिक मानिसहरू आउने गरेका छन् ।

फर्ममा उत्पादन भएका स्ट्रबेरीले यतिबेला आन्तरिक पर्यटकको ध्यान तानिरहेको छ । कोहलपुर–चिसापानी सडकखण्डको च्यामा पुलदेखि दायाँपट्टीबाट ५ सय मिटर पैदल हिँडेपछि भेटिन्छ, ‘बस्नेत कृषि तथा पशुपन्क्षी फर्म ।’ यहाँ स्ट्रबेरीको व्यावसायिक खेती गर्न थालेको दुई वर्ष भयो । ‘एग्रो टुरिजम’को मोडलमा सुरु गरिएको खेतीले सार्थकता पाउँदै गएको सञ्चालक सर्पराज बस्नेत बताए ।

४४ वर्षीय सञ्चालक बस्नेत सामान्य लेखपढ गरेका एक भुइँमान्छे हुन् । यसअघि घरमै पराम्पगत कृषि खेती गर्दै आएका उनी दुई वर्षदेखि बाँकेमा व्यावसायिक रूपमौ स्ट्रबेरी खेती गरिरहेका छन् । ‘म परम्परागत खेती गर्दै आएको थिएँ । के गरौँ के गरौँ भनेर विकल्पहरूको खोजी गर्दा स्ट्रबेरी खेती सुरु गरेँ । अहिले व्यवसाय ठिकै चलिरहेको छ,’ उनले भने ।

बेरोजगारका कारण विकल्पहरूको खोजी गर्दै जाँदा बाँके जिल्लामा कुनै नयाँ खालको व्यवसाय सुरु गरौँ भन्ने मनसायले स्ट्रबेरी खेती सुरु गरेको उनले बताए । उनको स्ट्रबेरी खेती ६ कट्ठा जमिनमा फैलिएको छ । उनले स्ट्रबेरी खेती गरिरहेको जग्गा आफ्नै हो । उनको घर पनि फर्म नजिकै छ । बस्नेतको सिंगो परिवार मिलेर यो व्यवसाय सञ्चालन गरिरहेको छ । फर्ममा उनले स्ट्रबेरीसँगै गाजर र चुकन्दर समेत लगाएका छन्।

उनी भन्छन्, ‘अल्पज्ञान विष समान हुँदो रहेछ । स्ट्रबेरी खेती बाँकेमा नयाँ खालको हो । यस विषयमा खास्सै धेरै ज्ञान पनि थिएन । गरौँ न त भनेर छोटो समयमै सानो क्षेत्रमा सुरु गरियो ।’ यसका बिरुवा कहाँबाट ल्याउने, यसको रोपाइँ कसरी गर्ने । कसरी फल्छ ? यसलाई कसरी हुर्काउने बढाउने भनेर सोधीखोजी गर्दै जाँदा दाङमा एकजना मानिसले स्ट्रबेरी खेती गरिरहेको थाहा पाएको उनी बताउँछन् ।

त्यसपछि दाङमा खड्का एग्रो मार्ट सञ्चालन गरिरहेका वीरेन्द्र खड्कासँग उनको सम्पर्क भयो । स्ट्रबेरी खेतीका विषयमा जानकारी लिन उनी दाङ गए । खड्काकै प्रोत्साहनमा खेती विस्तार गर्ने र आवश्यक बेर्ना भारतको महाराष्ट्रस्थित पुनेबाट ल्याइएको उनले बताए । आफूले स्थानीय सहकारीबाट ६ लाख ३० हजार रूपैयाँँ ऋण लिएर व्यवसाय सुरु गरेको उनको भनाइ छ ।

व्यवसाय सुरु गर्दाको अनुभव सुनाउँदै उनले भने, ‘मसँग पैसा र ज्ञान थिएन । तर आँट र लक्ष्य थियो । धेरै जनासँग व्यवसाय सुरु गर्नुपूर्व सल्लाह पनि लिएको थिएँ । सबैले बाँकेमा सम्भव छैन भन्थे । सबैले नगर नै भन्थे ।’ तर आफूले आन्तरिक रूपमौ व्यवसाय सुरु गर्ने मनसाय बनाइसकेकाले पछि नहटेर १ मंसिर २०८१ मा बिरुवा रोपेको उनले बताए । सुरुमा स्ट्रबेरी खेती सञ्चालन गर्नका लागि आफूले त्यसको लागि आवश्यक बेर्नाहरू भारतबाट खरिद गरेर ल्याएको उनले बताए ।

सुरुमा उनको फर्ममा आठ हजार बिरुवा रोपिएको थियो । ‘पहिलो गासमै ढुंगा’ भनेझैँ स्ट्रबेरी खेतीसम्बन्धी आधारभूत ज्ञान नहुँदा फलेकामध्ये धेरै स्ट्रबेरी खेर गएको व्यवसायी बस्नेतले सुनाए । बाँकी फलेको स्ट्रबेरी चाहीँ माघ २७ बाट बेच्न सुरु गरेको उनले बताए । फागुन र चैतको महिनामा सबैभन्दा धेरै स्ट्रबेरी आफूले बेचेको उनको भनाइ छ ।

गत वर्ष उनले मासिक रूपमौ सरदर ४०–५० केजी स्ट्रबेरी बेच्थे । त्यतिबेला सबैभन्दा धेरै एकै महिनामा ७० केजीसम्म स्ट्रबेरी बेचेको रावत बताउँछन् । फुट्कर र कृषि बजारमा समेत स्ट्रबेरी आफूले धेरै बेचेको उनले बताए । गत वर्ष उनले कूल १५ क्विन्टल स्ट्रबेरी बेचे । पहिलो वर्ष कूल ९ लाख रूपैयाँँ कारोबार भएको उनले जानकारी दिए । फागुनदेखि वैशाखसम्म सरदर मासिक ६०–७० हजार रूपैयाँँसम्म कमाइ हुन्थ्यो । ज्याला, ढुवानी र अन्य खर्च जोडेर २५–३० हजार रूपैयाँँ खुद मुनाफा भएको उनले सुनाए ।

यसपटक उनले फर्ममा थप चार लाख बढी नयाँ स्ट्रबेरीका बेर्ना रोपे । यसवर्ष पनि उनले माघदेखि नै बेच्न सुरु गरिसकेका थिए । चैत दोस्रो सातासम्म आइपुग्दा उनको फर्ममा दैनिक सरदर १०–१५ जना जिल्लाका विभिन्न क्षेत्रबाट स्ट्रबेरी किन्न आउँछन् । बैजनाथका विभिन्न वडाहरूबाट पनि बिहानैदेखि मानिसहरू आउने गरेको उनले बताए । यसैगरी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर अन्तर्गतको छात्राबास चिसापानीमा छ ।

त्यहाँ अध्ययनरत विद्यार्थीहरूले सबैभन्दा धेरै स्ट्रबेरी खरिद गर्ने गरेको उनले बताए । ‘हामीलाई स्ट्रबेरीको बजारीकरणमा समस्या छैन । यसको उच्च माग छ । बरु मागअनुसार दिन सकिएको छैन,’ उनले भने । फर्ममा उत्पादन हुने स्ट्रबेरी रासायनिक विषादी प्रयोग नगरिएको पूर्णतः अर्गानिक छ । जिल्लाभित्र मात्रै होइन बाहिरी जिल्लाका नागरिकहरू समेत विभिन्न माध्यमबाट थाहा पाएर किन्नको लागि आउने गरेको उनले सुनाए ।

कुराकानीको क्रममा स्थानीय सरकारले भने आफ्नो व्यवसाय प्रवद्र्धनका लागि कुनै पनि किसिमको सहयोग नगरेको उनले गुनासो गरे । अहिलेसम्म वडा र गाउँपालिकाका कुनै पनि जनप्रतिनिधि फर्ममा नआएको उनको भनाइ छ । उनी सुनाउँछन्, ‘गाउँपालिकाले धेरै किसानलाई अनुदान दिइरहेको हेर्छु, सुन्छु । जनप्रतिनिधिहरू कृषि क्रान्ति गरिरहेका छौँ । बैजनाथका किसानको सारथी स्थानीय सरकार हो भनिरहेका छन् । म भने खुरुखुरु आफ्नो कर्म गरिरहेको छु ।

झोलामा फर्म सञ्चालन गर्ने र राजनीतिक दलका पछि लाग्नेहरूले मात्रै अनुदान पाउने रहेछन् । तपाईँहरूले यो मेरो आवाज उहाँहरूलाई सुनाइदिनुहोला ।’ बैजनाथ गाउँपालिकाको कृषि शाखाले भने मल्चिङ प्लाष्टिक सहयोग गरेको उनले सुनाए ।

एकल परिवारको सामूहिक खेती

बैजनाथ–१ च्यामास्थित छ, ‘बस्नेत कृषि तथा पशुपन्क्षी फर्म ।’ यसका सञ्चालक ४४ वर्षीय सर्पराज बस्नेत हुन् । उनको परिवारमा ६ जनाको परिवार छ । उनीसहित श्रीमती, दुई छोरी र एक छोरा छन् । रावतका बुवा पनि छन् । जेठी छोरी सेन्चुरी एजुकेशनमा पढ्छिन् । माइली छोरी दाङमा कक्षा ६ मा अध्ययन गर्छिन् । उनका छोरा स्काई ल्याण्डमा अध्ययनरत छन् । उनले भने, ‘पहिला परम्परागत खेती गरिरहेका थियौँ । अहिले व्यवसाय थालेका छौँ । हाम्रो घरको प्रमुख जीविकोपार्जनको स्रोत नै यही हो ।’

रावतको सिंगो परिवार नै स्ट्रबेरी खेतीमा संलग्न छ । उनकी छोरी, श्रीमती र बुवाले समेत व्यवसायमा सघाइरहेका छन् । मिसन टुडे त्यहाँ पुग्दा पनि रावतसँगै उनका बुवा र श्रीमती फर्ममै काम गरिरहेका थिए । रावतका बुवा गोडमेल गरिरहेका थिए । उनकी श्रीमती स्ट्रबेरी किन्न आउने ग्राहकलाई फर्मबाट टोकरीमा जम्मा गर्दै बेच्दै गरिरहेकी थिइन् । स्कुल बिदा भएको र खाली समयमा उनकी छोरीले समेत काममा सघाउँदै आएको उनले बताए ।

जाजरकोटको हालको जुनीचाँदे गाउँपालिकामा पुख्र्यौली भएका र उनको परिवार २०६८ सालमा बैजनाथ–१ मा बसाइँ सरेको थियो । जाजरकोटमा भएको पुख्र्यौली सम्पत्ति बेचेर उनीहरूले जग्गा खरिद गरेका थिए । अहिले आफ्नै जग्गामा स्ट्रबेरी खेती गरिरहेका छन् । अब उनको योजना छ, ‘व्यवसायलाई थप व्यवस्थित बनाउने । केही जग्गा लिजमा लिएर भए पनि दायरा बढाउने । केहीलाई रोजगारी दिने इच्छा ।’

  • No tags available
प्रकाशित मिति : २०८२ चैत १४ गते शनिबार