अहङ्कारको घमण्डले थेचिएको एमाले



ओली सरकारको नेतृत्वमा रहेको समयमा नेपालको इतिहासमै अकल्पनीय विध्वंश भयो । अघिल्लो दिन सरकारको तर्फबाट भएका नरसंहारका घटनाको सरकारले त्यसैदिन जिम्मा लिएर आफूलाई सच्याएको भए सायद भोलिपल्ट यति ठूलो विध्वंश हुने थिएन होला । तर जब एउटा नेतृत्व आफ्नो कमजोरी र गल्ती नै नदेख्ने अहङ्कारी, दम्भी र घमण्डी हुन्छ, तब देशले कति क्षति व्यहोर्नु पर्छ भन्ने कुरा यो घटनाले देखाएको छ ।

भीम रावत

हाम्रा साधनाशास्त्रहरूले अहङ्कारलाई मानव जीवनको अत्यन्तै ठूलो दुःखदायी दुर्गुण एवं आसुरी शक्तिको रूपमा संकेत गरेका छन् । जहाँ अहङ्कार हुन्छ, त्यहाँ देवत्व र प्रेमभाव हुँदैन । मनोचिकित्सक डा. शरदमान ताम्राकारको भनाइमा ‘जब मानिसले इमान्दारिताका साथ आप्नो मूल्यांकन गर्न सक्दैन्, तब उसभित्र स्वयं आफैँलाई सर्वश्रेष्ठ मान्ने स्वभाव बढ्दै जान्छ र त्यसले आफैँलाई पतन गराइदिन्छ ।’ त्यस्तै महात्मा गान्धीले भनेका छन्, ‘जुन तिमी गर्छौ, त्यो अरुले पनि गर्न सक्छ भन्ने कुरा स्वीकार गर्दैनौ भने तिमी अहङ्कारी हौ ।’ जब कुनै मानिसलाई उसको अहङ्कारले छोप्छ, ऊ आवरणमा मात्र बाँचेको हुन्छ । उसले आफैँलाई देखेको हुँदैन । आप्नो दुर्गुणहरू देख्दैन । आफूलाई सर्वज्ञानी ठान्छ । आफ्नो व्याख्या आफैँ गर्दछ । उसमा मपाइत्ववाद हावी हुन्छ । आडम्बरी र ढोँगी हुन्छ । उसले अरु कसैले भनेको जस्तोसुकै राम्रो विचार र तर्कलाई पनि मान्दैन, सुन्दैन । हो, पछिल्लो समयमा नेपाली राजनीतिमा यस्तै एक अहङ्कारी नेतृत्वको जबरजस्त हावी भयो । नेकपा एमालेभित्र केपी शर्मा ओली । नेपालको लोकतान्त्रिक आन्दोनको पछिल्लो चरणमा संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान २०७२ जारी भएपश्चात् नेपालका दुई ठूला वामपन्थी दलहरू नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर नेकपा बनाए । नेकपासँग झण्डै दुईतिहाइ जनमन प्राप्त भएको थियो । पार्टी र सरकारको नेतृत्व गरेका केपी शर्मा ओलीकै अहङ्कार, दम्भ र घमण्डका कारण त्यतिबेला न पार्टी एकता बच्यो, न त उनको नेतृत्वको सरकार नै बच्यो । ४१ महिना शक्तिशाली सरकारको नेतृत्व गरेका ओलीले महत्वपूर्ण कुनै पनि आयोजनाको काम सम्पन्न गराउन सकेनन् बरु उनको कागजी योजना र उखानटुक्काले प्राथमिकता पाउने काम मात्रै ग¥यो ।

२०७९ को संघीय निर्वाचनमा कुनै एक दलको बहुमत नआएपछि दुई वा सोभन्दा बढी दलहरू मिलेर सरकार बनाउनु पर्ने अवस्था आएपश्चात् मुख्य त प्रचण्डलाई ओलीले फनफनी घुमाए । आफू प्रधानमन्त्री हुन पाउने भएपछि प्रचण्ड पनि घुमिरहे । प्रचण्ड नेतृत्वको सरकारले जब एमाले र काँग्रेसभित्रका ठूला भ्रष्टाचारीतिर औँला उठाउन सुरु ग¥यो, त्यसपछि एमाले र काँगे्रसको शीर्ष नेतृत्वमा कम्पन पैदा भयो । बिहानको भेटमा प्रचण्डलाई ‘तपाईँ र म त अब स्वर्ग पनि सँगै, नर्क पनि सँगै’ जाने हो भनेका ओलीले त्यसै दिनको मध्यरातमा देउवासँग ओलीकै नेतृत्वमा अब सरकार बनाउने र बाँकी अवधि आधाआधा समय ओली देउवाको नेतृत्व रहने सहमतिपत्रमा बिचौलीयाको घरमा हस्ताक्षर गरे ।पछिल्लोपटक २०८१ असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीको करिब १४ महिने कार्यकाल उनको राजनीतिक जीवनकै नकारात्मकताको अविस्मरणीय इतिहास बन्यो । सरकार र पार्टीभित्रै दुवैतिर उनको यति धेरै अहङ्कार, घमण्ड र दम्भ बढ्यो कि उनले यो संसारमै आफूजति ज्ञानी र सर्वश्रेष्ठ अरु कोही छैन् जस्तो गर्न थाले । सरकार सञ्चालनमा काँगे्रसलाई टेर्दै टेरेनन् । सबै निर्णय आफूलाई रुची भएका मात्रै गराउन थाले । नेकपा एमालेभित्र त उनको एकछत्र राज भयो । उनको विरोध होइन, आलोचना मात्र ग¥यो भने पनि उसको राजनीति एमालेमा सकिने भयो । दुई पटकसम्म राष्ट्रपति भैसकेकी विद्या भण्डारीको पार्टी सदस्यता समेत खारेज गरिदिने ओलीले पार्टीभित्र सुरेन्द्र पाण्डे तथा ईश्वर पोख्रेलहरूले ओलीको आलोचना गर्न थालेपछि उनीहरूको एमालेभित्र कुनै हैसियत रहने कुरै भएन ।

ओली सरकारको नेतृत्वमा रहेको समयमा नेपालको इतिहासमै अकल्पनीय विध्वंश भयो । अघिल्लो दिन सरकारको तर्फबाट भएका नरसंहारका घटनाको सरकारले त्यसैदिन जिम्मा लिएर आफूलाई सच्याएको भए सायद भोलिपल्ट यति ठूलो विध्वंश हुने थिएन होला । तर जब एउटा नेतृत्व आफ्नो कमजोरी र गल्ती नै नदेख्ने अहङ्कारी, दम्भी र घमण्डी हुन्छ, तब देशले कति क्षति व्यहोर्नु पर्छ भन्ने कुरा यो घटनाले देखाएको छ । देशको कार्यकारी प्रमुख आप्नो ज्यान बचाउन सेनाको हेलिकप्टरको सहयोगमा आफ्नो सिंहासन छोडेर भाग्नु प¥यो । तर अझै पनि उनको अहङ्कार कम भएन । पार्टीभित्र यो घटनाबाट पाठ सिकेर नेतृत्व सच्चिन आग्रह भयो तर त्यसको सुनुवाइ भएन । अहङ्कारको ‘कतिसम्म अति’ थियो कि निर्वाचनको समयमा एक टेलिभिजन अन्तरवार्तामा पत्रकारले सोध्छन्, ‘अध्यक्षनै यो चुनावमा हार्नुभयो भने के हुन्छ ?’ त्यसको जवाफमा ओली भन्दै थिए , ‘हार ! यो हार भन्ने शब्द तपाईँले कहाँबाट ल्याउने भो ? मेरो लागि हार भन्ने शब्द नै छैन, मेरो लागि हार भन्ने शब्दै हटाइदिनोस् ।’ पत्रकार त फेरी सोध्छन्, ‘यो चुनावमा एमालेले प्रत्यक्षमा कति जति सिट जित्छ र टोटलमा एमाले कति सङ्ख्या पु¥याउँछ ?’ ओलीको जवाफ हुन्छ, ‘हामी प्रत्यक्षमा सयको हाराहारी जित्छौँ र समानुपनतिकसहित गरेर बहुमत ल्याउछौँ ।’ तर निर्वाचन परिणामपश्चात् एमाले कुन स्थानमा छ ? के एउटा कुशल नेतृत्वले गरेको विश्लेषण र अनुमान सही थियो त ? अवस्य थिएन । त्यो त चेतनालाई उनको अहङ्कारले खाइसकेको थियो । ओली नेतृत्वको एमाले भन्ने पार्टीमा त्यहाँ विेवेक भएकाहरू, समयानुकूल आफूलाई रुपान्तरण गर्न तयार हुनेहरू, घटनाक्रमहरूलाई समय र विकसित भएको परिस्थितिअनुसार अनुमान, विश्लेषण र विकास गर्नु पर्छ भन्ने मान्यता राख्ने नेता कार्यकर्ताहरू ओली जीवित रहँदासम्म बस्नु भनेको आफ्नो विवेकलाई बन्दी बनाएर ‘जीवित मुर्दा’ हुनु हो । एमालेमा ओली संस्थापकहरू माथिदेखि तल वडा तहसम्म पनि ओलीजस्तै अहङ्कारी, दम्भी र घमण्डी छन् । उनीहरू पनि ओलीजस्तै आफूलाई जति ज्ञानी, विद्वान् र जान्ने अरु कोही छैन् भन्ने ठान्छन् ।

निर्वाचनको बेला उनीहरूले घरदैलो गर्दा गरेको व्यवहार, उनीहरूले दिएका अभिव्यक्ति र उनीहरूले एमाले पार्टी र नेतृत्वको बारेमा बताउने तर्कले नै हो जनताले एमालेहरू अझै सच्चिएका रहेन्छन् भन्ने निष्कर्ष निकालेर मत परिवर्तन गरेको । निर्वाचनको मत परिणामबाट समेत ओली नेतृत्वको एमाले संस्थापन अझै सच्चिएको छैन् भन्ने कुरा अस्ती भर्खरै एमालेमा संसदीय दल नेता छान्दा नेतृत्वले देखाएको दम्भ र अहङ्कारले प्रमाणित गरिदियो । १४ गते नै अनुसन्धानको लागि नियन्त्रणमा रहेका ओलीलाई अस्पतालमै पुगेर शंकर पोखरेलसहितको टिम भेट गरी फर्किएपश्चात् संसदीय नेताको रूपमा प्रतिस्पर्धा गर्न तयार भएका एमाले युवा सांसद सुहाङ नेम्वाङलाई संसदीय दलनेता हुनबाट रोक्न शंकर पोखरेलले नेम्वाङबाहेक अरु २४ जना सांसदहरूलाई बोलाएर तपाईँहरू कुनै पनि सांसद नेम्वाङको प्रस्तावक वा समर्थक नबस्नु होला । बसेमा तत्काल कारबाही हुन्छ भनेर धम्काइ रामबहादुर थापालाई निर्विरोध संसदीय दलनेता बनाएको कुरा त एमालेको विद्यार्थी संगठनको विरोधबाट नै प्रष्ट भैसकेको छ । संसदीय दलको नेता चयनपछि रामबहादुर थापाले संसद्मा बोलेको धारणालाई समेत जोडेर हेर्दा एमालेले सुध्रिने छाँट देखाएन । चुनावी परिणामबाट अहिलेसम्मकै ठूलो ठक्कर खाँदा पनि एमालेको चेत खुलेको देखिँदैन । संसद्को पहिलो बैठकमा एमालेको धारणा भनेर एमाले दलनेता थापाले हालको चुनावी परिणाम समेतलाई अस्वीकार गर्दै नेपाली सेना, बारबरा फाउन्डेसन, कर्मचारी संयन्त्र र सुशीला कार्की सरकार लगायतलाई दोष दिएर चुनावै हाइज्याक गरेको आरोप लगाए । इतिहासको यो घटनाबाट पाठ सिक्नुपर्नेमा एमाले अझै उल्टो बाटोमा हिँड्न खोजेको हो कि जस्तो देखिन्छ । पार्टी कार्यालय च्यासलमा प्लेकार्डसहित प्रदर्शन गरेका युवाहरूले आजसम्मको योगदानका लागि नेतृत्वप्रति आभार व्यक्त गर्दै, अब नयाँ पुस्ताको नेतृत्व र विचारलाई अघि सार्नुपर्ने माग गरेका छन् । उनीहरूले पार्टी कार्यालय परिसरमै ‘हामी कार्यकर्ता हौँ, नेताको दास होइनौँ’, ‘नेतृत्व सुिध्रएन भने विद्रोह हुन्छ’, ‘जबजलाई लागू गर’, ‘जबजको अपव्याख्या बन्द गर’ जस्ता नारा लेखिएका प्लेकार्ड देखाएर प्रदर्शन गरेका छन् । उनीहरूले पार्टीलाई शुद्दीकरण र सुधार्न विशेष महाधिवेशन गर्न समेत माग गर्नुले एमालेभित्र अब ओली समूहको आडम्बरी नेतृत्व माथिदेखि तलसम्म सच्चिन तयार हुने वा इतिहासको रछ्यानमा फ्याँकिने उनीहरूको व्यवहारमै भर पर्नेछ ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत २४ गते मंगलबार