नेपालगन्ज बसपार्कभित्रको कुलिङ सेन्टरको दुरुपयोगः यात्रुका लागि बनाइएको कुलिङ सेन्टरमा क्याफे सञ्चालन



वीरेन्द्र जैसी । नेपालगन्ज ।

बाँकेको नेपालगन्ज बसपार्कभित्रको एउटा टहरा, जसको बाहिरपट्टि लेखिएको छ, कुलिङ सेन्टर अर्थात् शीतलन केन्द्र । तर, मानिसहरूको ध्यान उक्त कुलिङ सेन्टर लेखिएको नाममा भन्दा पहिला त्यसको ठिक तलपट्टि टाँगिएको ‘डिएस क्याफे’को ठूलो बोर्डमा पर्छ । यसरी अर्कै उद्देश्यका लागि निर्माण गरिएको उक्त टहरामा अहिले निजी क्याफे सञ्चालन भइरहेको छ ।

त्यो पनि अनधिकृत तवरले । जस कार्यलाई कुलिङ सेन्टरको उद्देश्यमुताबिक व्यवस्थित तवरले सञ्चालन गर्ने जिम्मेवारी रहेको नेपालगन्ज उपमहानगरपालिकाले नै संरक्षण गर्दै आएको छ । तातो हावाको लहर (लु) चल्ने नेपालगन्जमा नागरिकहरूलाई लु को प्रभावबाट बचाउन ३९ लाख रूपैयाँँको लागतमा निर्माण गरिएको उक्त कुलिङ सेन्टर वास्तवमा गर्मीबाट जोगिन सर्वसाधारणले निःशुल्क प्रयोग गर्न पाउने उद्देश्यले निर्माण गरिएको हो ।

विशेषगरी बसपार्कमा पुग्ने यात्रुहरूलाई कुर्नुपरेमा वा सर्वसाधारणलाई गर्मीबाट राहत दिन चार वटा एसी जडान गरेर बनाइएको उक्त कुलिङ सेन्टरमा क्याफे सञ्चालन गरेर पुनः सार्वजनिक सम्पत्तिको दुरुपयोग गराइरहेको छ, नेपालगन्ज उपमहानगरपालिकाले । एक वर्षअघि नेपालगन्ज उपमहानगरपालिकाको २७ लाख रूपैयाँँ लागतमा कुलिङ सेन्टरको भौतिक संरचना निर्माण गरिएको थियो भने नेपाल रेडक्रस सोसाइटीले १२ लाख मूल्य बराबरका आवश्यक विभिन्न सामग्री सहयोग गरेको थियो ।

उक्त कुलिङ सेन्टरको उद्देश्य गर्मी तथा लु बाट सर्वसाधारणलाई राहत दिने रहेको नेपाल रेडक्रस सोसाइटी बाँकेका सभापति गोबद्र्धनसिंह सम्झनाले बताए । रेडक्रसले कुलिङ सेन्टर निर्माणका लागि आवश्यक सामग्री हस्तान्तरण गरेश्चात् सञ्चालनको जिम्मा उपमहानगरपालिकाको रहेको उनका भनाइ छ । तर, कुलिङ सेन्टरमा क्याफेको बोर्ड राख्दा सर्वसाधारणलाई त्यहाँ पस्न अप्ठ्यारो हुने र जुन उद्देश्यका लागि निर्माण गरिएको हो त्यसको उद्देश्य पूर्ति नहुने बताए ।

‘यसमा मेयरले नै बुद्धि लगाउनुपर्ने हो । त्यहाँ खटिने सुरक्षाकर्मी र नगरप्रहरीले नै सञ्चालन गर्ने व्यवस्था गरे पनि भैहाल्थ्यो । म यस विषयमा कुरा गर्छु,’ सभापति सम्झनाले भने । क्याफेमा भेटिएका कर्मचारीहरूले बस्न आउनेहरूलाई कुनै शुल्क नलिइने र कफी खानैपर्ने बाध्यता नरहेको बताए । तर, सर्वसाधारणहरू भने त्यहाँ कुलिङ सेन्टर भएको जानकारी नरहेको बताउँछन् । बसपार्कमा भेटिएका एक यात्रुले कुलिङ सेन्टर रहेको आफूलाई जानकारी नरहेको बताए भने त्यहाँ क्याफे लेखिएकोले आफूले कुलिङ सेन्टर हो भन्ने थाहा नपाएको पनि बताए ।

रेडक्रसका एक प्रतिनिधि पनि कुलिङ सेन्टरमा क्याफे सञ्चालन गरिँदा सामान्य नागरिकहरूलाई त्यहाँ पस्नै हिचकिचाहट हुने बताए । उनले सञ्चालन खर्चको समस्या भएमा पानी मात्रै पिउन मिल्ने व्यवस्था गरेर नगरप्रहरी खटाएर सञ्चालन गर्न सक्ने सुझाव आफूहरूले दिए पनि उपमहानगरले त्यसलाई नमानेको उनले बताए । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष एवं विपद् व्यवस्थापन समितिका पूर्वसंयोजक समीरप्रताप सिंह पनि कुलिङ सेन्टरमा क्याफे सञ्चालन गर्न दिनु मिल्दै नमिल्ने कुरा भएको बताए । उनले यस विषयमा मेयरसँग छलफल गर्ने बताए ।

उपमहानगरपालिकाका विपद् व्यवस्थापनसम्बन्धी फोकल पर्शन दिपेन्द्र श्रेष्ठ कुलिङ सेन्टरको बील तथा सञ्चालन खर्च उठाउने गरी बसपार्कको व्यवस्थापनको जिम्मा लिएको बागेश्वरी यातायात प्रालिलाई नै क्याफे सञ्चालन गर्ने अनुमति दिएको बताए । तर, त्यसको लिखित अनुमति दिएको भए त्यसको प्रमाण माग्दा उनले उपलब्ध गराउन सकेनन् । बसपार्कमा भेटिएका क्याफे व्यवस्थापन आफूले हेरिरहेको बताउने व्यक्तिहरूले पनि क्याफेका लागि दिइएको अनुमतिको कागजात देखाउन सकेनन् ।

बागेश्वरी यातायात प्रालिका सञ्चालक मनप्रसाद आचार्यले उपमहानगरपालिकाले सञ्चालन खर्च उठ्ने गरी क्याफे सञ्चालन गर्ने अनुमति दिएपछि आफूले नेपालगन्ज बसपार्कको व्यवस्थापन गरिरहेको आफ्नो साझेदारलाई त्यसको जिम्मा दिएको बताए । कुलिङ सेन्टरमा एसी जडान गरेर वातानुकूलित तापक्रम बनाउने व्यवस्था छ । कुलिङ सेन्टरमा गर्मीबाट आहत भएका मानिसहरूलाई आपत्कालीन स्वास्थ्य सेवा पनि दिने भनिएकोमा अहिले भने लाखौँको सरकारी लगानी गरिएको संरचनामा अनधिकृत क्याफे सञ्चालन दिइएको छ ।

यति मात्रै होइन क्याफे सञ्चालकले अहिले रहेको संरचनाबाहिर थप संरचना निर्माण गरेर व्यावसायिक रूपले क्याफे सञ्चालन गर्ने तयारी गरिरहेको क्याफेसम्बद्ध एक व्यक्तिले जानकारी दिए । कुलिङ सेन्टरको उद्घाटनका क्रममा नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त विष्टले मुलुककै पहिलो कुलिङ सेन्टर भएको दाबी गरेका थिए । तातो हावाको लहरबाट धेरै मानिसहरू प्रभावित हुने नेपालगन्जमा लु प्रतिकार्य योजनाअनुरुप यात्रुहरूलाई लक्षित गरी कुलिङ सेन्टर निर्माण गरिएको उनले बताएका थिए ।

यति मात्रै नभई उनले नगरका अन्य स्थानमा पनि आवश्यकताका आधारमा कुलिङ सेन्टर बनाउने योजना रहेको त्यसबखतमा भाषण गरेका थिए । नगरप्रमुख विष्टले मिसन टुडेसँग कुरा गर्दै त्यहाँ बस्न आउने नागरिकहरूका लागि पानी तथा चियाको व्यवस्था गर्ने गरी मात्रै कुरा भएको तर क्याफे नै सञ्चालन गर्ने कुरा आफूलाई जानकारी नभएको बताए । उनले अहिले आफू काठमाडौँमा रहेकोले फर्केपछि नै त्यसको अनुगमन गर्ने बताए ।

कुलिङ सेन्टरको संरचनाले एक हजार दुई सय ९१ स्क्वायर फिट क्षेत्रफलमा बनेको कुलिङ सेन्टरको छानामा युपिभिसी, सिलिङमा जिप्सम बोर्ड छ । कुलिङ सेन्टरलाई नेपाल रेडक्रस सोसाइटीले एक एक थान वाटर कुलर र वाटर ट्यांकी, दुई टन क्षमताका इन्भर्टरयुक्त चार वटा एसी, आठ वटा पंखा, कूल ६० सिट क्षमताका फलामको ३ सिटे कुर्सी २० थान र १४ वटा एलइडी बल्ब सहयोग गरेको थियो । यसरी सर्वसाधारणको नाममा लाखौँ खर्चिएको उक्त कुलिङ सेन्टर अब क्याफेमा परिणत हुन लागेको छ ।

नगरबसजस्तै दुरुपयोग हुने जोखिम 

कुलिङ सेन्टर नजिकै नेपालगन्ज उपमहानगरपालिकाका नगरबसहरूको हविगतले कुलिङ सेन्टर पनि भविष्यमा त्यस्तै बन्न सक्ने जोखिमको संकेत गरिरहेका छन् । विपन्नहरूको आर्थिक तथा सामाजिक विकासका लागि खर्च गर्नुपर्ने सशर्त अनुदानको बजेटबाट नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५–०७६ मा चार थान ४१ सिटे र तीन थान ३६ सिटे गरी सातवटा नगरबस तीन करोड ५८ लाख ११ हजार रूपैयाँँ खर्चेर खरिद गरेको थियो ।

ती बसहरू बसपार्कमा थन्किएको नै पाँच वर्षभन्दा बढी भइसक्यो । विपन्नका लागि आएको बजेटलाई बस खरिदमा प्रयोग गरिएको भन्दै महालेखा परीक्षकले बेरुजु जनाएको उक्त बजेटबाट किनिएका बसहरूजस्तै कुलिङ सेन्टर पनि दुरुपयोग हुने र अन्तमा प्रयोगविहीन हुने जोखिम देखिएको छ । तत्कालीन नगरप्रमुख डा. धवलशमशेर राणाले नगरबस खरिद गर्दा महिला तथा विपन्न वर्गलाई बसमा जागिर दिने, ज्येष्ठ नागरिकलाई निःशुल्क र अरु नागरिकलाई सहुलियतमा नगर यातायात सेवा दिने दाबी गरेका थिए ।

केही समय महिला परिचारिका पनि राखेर बसहरू सञ्चालन गरियो । तर पछि सञ्चालन गर्न धान्न नसकिएको भन्दै ती बसहरू निजी कम्पनीलाई भाडामा दियो । उक्त कम्पनीले पनि बस सञ्चालन गर्न नसकिने र बिग्रने गरेको भन्दै थन्काइदियो । त्यसमा कोरोना महामारीको बहाना पनि उक्त कम्पनीले देखायो । त्यसपश्चात् थन्किएका नगरबसहरू अहिले बसपार्क परिसरमै अनुपयोगी अवस्थामा छन् ।

ती बसहरूको रेखदेख पनि सही ढंगले भइरहेको छैन । साथै बसहरू पुनः सञ्चालनतर्फ उपमहानगरपालिकाले अहिलेसम्म कुनै ठोस पहल गरेको छैन् । नगरबस पुनः सञ्चालनको विषयमा अध्ययन गर्न वडा नम्बर ४ का अध्यक्ष गोपाल पुनको संयोजकत्वमा एक समिति पनि बनाइएको थियो । तर उक्त समिति बस कसरी सञ्चालन गर्ने भन्ने निष्कर्षमा अझै नपुगेको संयोजक पुनले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ ११ गते सोमबार