कृति समीक्षाः भगवतीको विश्वम्भरा 



अरुणबहादुर खत्री “नदी”

”विश्वम्भरा” नामक कवितासङ्ग्रह साहित्यकार एवं कवयत्री भगवती बस्नेतको पाँचौ कृतिको रुपमा २०७९ सालमा प्रकाशित भएको छ । यसभन्दा अगाडि उनको रहर भो जिन्दगी ९गजलसङ्ग्रह०, प्रेमदह ९मुक्तकसङ्ग्रह०, मृत सागरमा म ९कवितासङ्ग्रह० र मर्दाको माया ९कथासङ्ग्रह० प्रकाशित भैसकेका छन् ।  यस सङ्ग्रहभित्र आमा, माटाको महिमा, नारी प्रतिभा, निर्मला, नेपाल हो सुन्दर, माया लगायत विभिन्न शीर्षकका ५१ वटा कविताहरु रहेका छन् । कवयत्री भगवती बस्नेत मोफसलबाट हुर्केकी एक नारी हस्ताक्षर हुन् । यस सङ्ग्रहभित्रको पहिलो कविता आमा पढ्दा आमाको स्तुति गर्दछन् प्रणवले ज्ञानी गुनी सन्तति माताको ममता लिई अघि बढी हामी गरौँ उन्नति भनेको देखिन्छ । बाल्यकालको विद्यार्थी जीवनमा कविता लेख्न थालेकी भगवतीले कविता नलेख्नेहरुलाई सृजनामा उछिनेकी  छिन् । कविता लेख्नेहरुसँग रेखा कोरेर प्रतिस्पर्धाको शङ्खघोष गरेर अगाडि बढेकी छिन् ।

नारीको प्रतिभा फुलाउन सकौँ शिक्षा र दीक्षा दिई
श्रद्धाभाव सदा समर्पित गरौँ नारी सुधा सम्झिई
आकाङ्क्षा मनका पुगेर महिला बाँचून् प्रसन्ना भई
दानी श्रीमहिला भला र सफला हाँसून् प्रशंसा लिई

नारीको गरिमा बढाउन सकूँ संसार होस् सुन्दर नारीको महिमा चिनौ हृदयले नारी भनौँ मन्दिर प्रेमका आँँगनी शीर्षकको कवितामा भगवती लेख्दछिन् । दिव्य सुगन्ध शीर्षकको कविताले नेपाली जनता सुखी हुन सधैँ खोज्छन् नयाँ पद्धति गर्छन् मान रमी सदा अतिथिको पारी प्रमोदी मति भनेको देखिन्छ । गयो यौवन यो मेरो उनैको सम्झना गरी भयो जीवन यो रित्तो उजाड नगरी सरि सम्झना शीर्षकको कविताभित्र उल्लेख गरिएको देखिन्छ । सरल भाषामा बिम्ब र प्रतीकहरुको प्रयोग गरी लेखिनु यस सङ्ग्रहमा पाइने कविताका विशेषताहरु हुन् । सङ्ग्रहभित्रका ५१ वटा कविताको विषय र प्रस्तुतिमा विविधता देखिन्छ । यी कवितामा भावनाभन्दा पनि बिचार प्रबल भएर आएका छन् । साहित्य मानिसको आफ्नै भोगाइ पनि हो । मनका भावहरु कहिले खहरेजस्तै उर्लिन्छन् कहिले बादल भएर आकाशमा नै सलबलाउँछन् । जब मानिस आफ्ना र आफन्त अनि आफ्नो देशबाट टाढा हुन्छ ऊ आफ्नो मातृभूमिको मायाले उद्धेलित बन्छ । अनि उनका मनभित्रका भावहरु अक्षर बनेर सलबलाउन थाल्छन् । त्यही अवस्थामा कवयत्री भगवती आबद्ध भइरहेकी छिन् । जीवनलाई अनेक कोणबाट हेर्न बुझ्नका लागि पनि मान्छेले आफन्त र आफ्नो ठाउँबाट टाढा हुनुपर्ने रहेछ भन्ने भगवतीलाई भान हुन्छ ।

नारी जागृत पारेर स्नेह सद्भाव भर्दछु
महिला वर्गका कष्ट प्रयत्नले निखार्दछु 

कवयत्री भगवतीका कविताले नारी चेतनासँग गाँसिएर जीवनको गतिशीलतालाई पनि देखाएका छन् । उनीद्वारा रचिएका कवितामा नारी स्वतन्त्रताको उद्घोष छ । उन्मुक्तताको आकाङ्क्षा र आफूलाई नदी जस्तै प्रवाहशील बनाउने चाहना पनि उनीसँग छ । जे भए पनि परम्परागत रुढतालाई त्यागेर जीवन सापेक्ष आदर्श र यथार्थ भने भगवतीका कवितामा जीवन्त रुपमा आएका छन् । कविता लेखनमा उनको आफ्नै मौलिक भाषाशैली छ । एकताको दिई नारा भावनाभित्र भर्दछ प्रज्ञा र प्रविधिबाट देश पुुष्पित पार्दछ इजरायल शीर्षकको कवितामा भगवती लेख्दछिन् ।

कविता कविको माया गरौँ हामी मिलीजुली
काव्यमा चाहना राखौँ दृखकष्टहरु भुली 

प्रेम आकाशजस्तै छ अनन्य अति निर्मल प्रेम प्रसून झैँ दिव्य छ सुन्दर सुकोमल प्रेम शीर्षकको कवितामा भगवती लेख्दछिन् । कवयत्री भगवतीका कवितामा मनहरु पीडा भोग्दै छन् । अपमान भोग्दै छन् । तिरस्कार भोग्दै  छन् । अचेल मनहरु लोप हुँदै र भासिदै छन् । सरल र स्वाभाविक भाग सम्प्रेषणका कविताले आफ्नै समाज, संस्कृति र जीवनसंसारको अनुभूति प्रकट गरेको छ । ती अनुभूतिमा हाम्रै जीवनभोगाइ, हाम्रै परिवेश र हाम्रै दृष्टिकोणहरु छन् । प्रत्येक कविताले प्रकृति र जीवनको मीठो संयोजन गरेको छ । कवयत्री भगवती आफूसँगको अभेद्य सङ्घर्षको अर्थपूर्णताले उनको काव्यजीवनमा धेरै नै उथलपुथल मच्चाएको छ । जीवन भोगाइका क्रममा विभिन्न घात–प्रतिघात सँहदै अगाडि बढेकी कवयत्री भगवतीका यस सङ्ग्रहका कवितामा जीवन यथार्थका विविध पक्षको अभिव्यक्ति छ ।

तिमी शान्ति देऊ म निष्ठा दिनेछु
तिमी फूल होऊ म माला हुने छु
तिमी तीर्थ बन्नु रमाएर घुम्छु
तिमी वन्धु जाती मभित्रै समेट्छु ।

कवयत्री भगवती सामाजिक परिवेशमा राम्ररी भिजेकी र सामाजिक कार्यकर्ताका रुपमा समेत अग्रसर रहेकी हुुनाले पनि उनमा विषयको कमी देखिन्न । विषयलाई उनले बटार्न, खुम्चयाउन, विस्तार गर्न र समयसापेक्ष चिन्तनमा ढाल्न समुचित ढाँचामै जानेकी छिन् । स्मृतिबिम्ब उनका कवितामा गाढा बिम्ब बनेर आउँछन् । यस सङ्ग्रहभित्र सङ्गृहीत रचनाले सामन्ती सोच, देश प्रेम र भातृत्व प्रेमलाई प्रश्रय दिएर लेखिएको यथार्थपरक रचना हो भन्ने मैले ठानेको छु । कविता भनेको कवितै हो र सधँै कविताजस्तै रहनुपर्छ भन्ने मेरो स्वबिचार हो । समाजभन्दा पर रहेर कुनै पनि स्रष्टाले सही सिर्जना गर्न सक्तैन जस्तो मलाई लाग्छ । कविको दृष्टिकोण उच्च हुनुपर्छ काव्यमा । नवीनतम पङ्क्तिले नयाँ धर्को कोर्नुपर्छ । कवयत्री भगवतीले सिर्जना गरेका कविताहरु यस कृतिभित्र बेजोडले कुदिरहेको देख्न पाइन्छ । बहुप्रतिभाशाली भगवती बस्नेतको काव्यिक यात्रा पनि दु्रतगतिमा अघि बढ्न खोजेको देखिन्छ । बिरानो पथको यात्रीका पाइला कहिले सलल्ल पनि बग्न सक्छ र कहिले कतिपय बाधाअड्चनले रोकिन पनि सक्छ । कवयत्री भगवतीका कविता नयाँ हुँदाहुँदै पनि पटक्कै नयाँ लाग्दैनन् ।

दुरा जातिलाई दया गर्नुपर्छ
दुराचार छाडी गुणी बन्नुपर्छ
पुराना कुरा भावमा भर्नुपर्छ
सुरामान पर्ने कठै ठान्नुपर्छ  

यस सङ्ग्रहभित्र कवयत्री भगवतीले विभिन्न छन्द प्रयोग गरेकी छिन् । शार्दूलविक्रीडित र अनुष्टुप छन्दका कविता अरुका तुलनामा बढी सङ्ख्यामा रहेका छन् । छन्दप्रयोगकै सन्दर्भमा कवितामा अनुप्रास, श्लेष, यमक, उत्प्रेक्षा, दृृष्टान्त, स्वभावोक्ति, लोकोक्तिलगायतका अलङ्कार र वीर, शान्त, रौद्र, शृङ्गार, करुण, अद्भुतलगायतका रसको पनि प्रयोग भएको देखिन्छ । उनका कविता ज्यादै मार्मिक र पढ्न योग्य नै छन् । आगामी दिनमा उनका थुप्रै कृतिहरु प्रकाशित भईरहुन् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु ।

कृतिकारः भगवती बस्नेत
प्रकाशकः नइ प्रकाशन
कृतिः विश्वम्भरा ९कवितासङ्ग्रह०                           
प्रथम संस्करणः २०७९ 
मूल्यः रु। ३००।– 
पृष्ठः १२८

  • No tags available
प्रकाशित मिति : २०८२ चैत १८ गते बुधबार