तीन युगबीच अल्झिएको हाम्रो समाज



डा. डक्टप्रसाद धिताल

मानव सभ्यताको इतिहास हेर्दा एउटा कुरा बारम्बार प्रमाणित भएको देखिन्छ, मानिस केवल उपकरण बनाउने प्राणी होइन, अर्थ बनाउने प्राणी पनि हो । उसले आगो बाल्न सिक्यो, चक्का बनायो, कृषि ग¥यो, उद्योग खडा ग¥यो, अन्तरिक्षमा पुग्यो र आज कृत्रिम बुद्धिमत्ताको युगमा उभिएको छ । तर प्रत्येक युगले हामीलाई एउटा असहज प्रश्न पनि सोधेको छः के मानिसले आफूले बनाएका साधनहरूलाई चलाइरहेको छ कि साधनहरूले मानिसलाई ? आजको विश्वमा विज्ञानले अद्भूत भौतिक सुविधा दिएको छ । हाम्रो हातको मोबाइलमा पुस्तकालय, बैंक, नक्सा, क्यामेरा, बजार, मनोरञ्जन र संवादको संसार समिटिएको छ । केही क्लिकमै खाना आउँछ, उपचार सम्भव हुन्छ, कारोबार हुन्छ र समाचार विश्वको एक छेउबाट अर्को छेउमा सेकेन्डमै पुग्छ । तर यस भौतिक प्रगतिको समानान्तर रूपमा दर्शन, नैतिकता, आलोचनात्मक चेतना र सार्वजनिक विवेक त्यही गतिमा विकसित भएन । यही असन्तुलनले हाम्रो समयलाई जटिल, बेचैन र विरोधाभासले भरिएको बनाएको छ ।विज्ञानले सामथ्र्य दियो तर दर्शनले दिशा दिनुपर्ने थियो । समस्या यहीँबाट सुरु हुन्छ । जब समाजसँग शक्ति हुन्छ तर त्यसलाई कसरी प्रयोग गर्ने भन्ने गहिरो नैतिक–दार्शनिक आधार हुँदैन, तब उपलब्धिहरू विकासका साधनभन्दा नियन्त्रणका हतियार बन्छन् ।

प्रविधि निष्पक्ष हुन सक्छ तर त्यसको प्रयोग कहिल्यै निष्पक्ष हुँदैन । यही कारणले आजको समय केवल प्रगतिको समय होइन, अर्थ–संकटको समय पनि हो । मानिससँग धेरै सूचना छ, तर कम स्पष्टता । धेरै सुविधा छ, तर कम शान्ति । धेरै पहुँच छ, तर कम आत्मबोध । धेरै विकल्प छन्, तर कम दिशा । र, यही अवस्थालाई बुझ्नका लागि केवल विज्ञान पर्याप्त हुँदैन । यहाँ दर्शन, समाजशास्त्र, राजनीति, मनोविज्ञान र इतिहासको संयुक्त दृष्टि चाहिन्छ । मूल चिन्ता–‘हामी एउटै समयमा तीनवटा फरक युगमा बाँचिरहेका छौँ’—वास्तवमा आजको समाजलाई बुझ्ने अत्यन्त शक्तिशाली रूपक हो । हाम्रो वरिपरि अझै पनि सामन्तवादको मानसिकता जीवित छ । अर्थतन्त्र र आकांक्षाको केन्द्रमा पूँजीवादको तर्क काम गरिरहेको छ र हाम्रो जीवनको ठूलो हिस्सा विस्तारै कर्पोरेट सामन्तवादको नियन्त्रणमा गइरहेको छ । बाहिरबाट हामी आधुनिक देखिन्छौँ, तर भित्रभित्रै पुरानो मानसिकता, बजारको लोभ र डिजिटल नियन्त्रणको त्रिकोणमा बाँधिएका छौँ । के मानव सभ्यता प्रविधिमा अगाडि बढ्दै जाँदा चेतना, दर्शन र आलोचनात्मक विवेकमा पछि पर्दै गएको छ ? यदि हो भने, त्यसको परिणाम के हो ? र अझ गम्भीर कुरा—हामी अझै फर्कन सक्ने ठाउँमा छौँ कि ढिलो भइसकेको छ ?

विज्ञानले साधन दियो, दर्शनले दिशा दिन सकेन

विज्ञानको काम सत्यको खोज हो, प्रमाण, परीक्षण, पुनरावृत्ति र तर्कका आधारमा । विज्ञानले ‘के सम्भव छ ?’ भन्ने प्रश्नको उत्तर दिन्छ । तर ‘के उचित छ ?’ भन्ने प्रश्न विज्ञानको दायराभन्दा बाहिरको हो । त्यो प्रश्न दर्शन, नैतिकता, साहित्य, अध्यात्मको विवेकशील पक्ष र सामाजिक चेतनाले सोध्ने हो । उदाहरणका लागि परमाणु ऊर्जा विज्ञानको चमत्कार हो । त्यसले बिजुली दिन सक्छ, उद्योग चलाउन सक्छ, चिकित्सा क्षेत्रमा उपयोग हुन सक्छ । तर त्यसै विज्ञानले परमाणु बम पनि सम्भव बनायो । अब प्रश्न उठ्छ—विज्ञानले बम बनायो, तर बम झार्ने निर्णय कसले ग¥यो ? त्यो निर्णय वैज्ञानिक सूत्रले होइन, राजनीतिक स्वार्थ, शक्ति–मनोविज्ञान र नैतिक असफलताले ग¥यो । यही कुरा आजको डिजिटल युगमा पनि लागू हुन्छ । कृत्रिम बुद्धिमत्ता, डाटा एनालिटिक्स, एल्गोरिद्मिक शासन, बायोटेक्नोलोजी—यी सबै चमत्कारिक उपलब्धि हुन् । तर जब तिनको प्रयोग नागरिक स्वतन्त्रता सीमित गर्न, उपभोक्ताको मनोविज्ञान कब्जा गर्न, झुटो सूचना फैलाउन, बाश्रमलाई असुरक्षित बनाउन प्रयोग हुन्छ, तब समस्या प्रविधिमा होइन, दिशाहीन समाजमा हुन्छ । हामीले विज्ञानलाई अत्यधिक सम्मान दियौँ, जुन उचित पनि हो । तर हामीले दर्शनलाई ‘अनुपयोगी’ ठान्यौँ । परिणामतः आज इन्जिनियरहरू धेरै छन्, तर नैतिक वास्तुकारहरू कम छन् । डाटा वैज्ञानिकहरू धेरै छन्, तर ‘मानव हुनुको अर्थ के हो ?’ भनेर प्रश्न गर्ने सार्वजनिक बुद्धिजीवी कम छन् । यही कारणले आधुनिक समाजमा एउटा खतरनाक भ्रम जन्मिएको छ, ‘यदि कुनै कुरा सम्भव छ भने त्यो गर्नै मिल्छ ।’ तर सबै सम्भव कुरा उचित हुँदैनन् । सबै उपयोगी कुरा न्यायपूर्ण हुँदैनन् । सबै दक्षता मानवीय हुँदैनन् । विज्ञानले गतिको युग ल्यायो तर दर्शनको अनुपस्थितिले समाजलाई ब्रेकविहीन बनायो । हामी छिटो दौडिरहेका छौँ, तर कहाँ जाँदैछौँ भन्ने निश्चित छैन ।

विचारको खडेरीः सूचना धेरै, स्पष्टता कम

आजको मानिसले सायद इतिहासकै सबैभन्दा धेरै सूचना उपभोग गरिरहेको छ । तर विरोधाभास के छ भने यही समय सबैभन्दा धेरै अन्यौलको समय पनि हो । किन ? किनकि सूचना र विचार एउटै कुरा होइनन् । समाचार, पोस्ट, भिडिओ, रील, भाषण, स्टाटस, फर्वार्ड, ट्रेन्डिङ ह्यासट्याग—यी सबैले हामीलाई ‘अपडेट’ राख्न सक्छन्, तर ‘समझदार’ बनाउँदैनन् । विचारको खडेरी भएको समाजमा मानिसहरू तथ्यभन्दा प्रतिक्रियामा बाँच्न थाल्छन् । गहिरो पढाइको साटो हेडलाइन संस्कृतिले कब्जा गर्छ । तर्कको साटो नारा आउँछ । विश्लेषणको साटो अतिशयोक्ति आउँछ । संवादको साटो ध्रुवीकरण आउँछ । यस्तो समाजमा सत्य सजिलै हराउँछ, किनकि मानिसहरू सत्य खोज्दैनन् । उनीहरू आफूलाई मनपर्ने निष्कर्ष पुष्टि गर्ने सामग्री खोज्छन् । यसलाई आजको भाषामा अयलाष्चmबतष्यल दष्बक भनिन्छ, तर यसको सामाजिक रूप अझ खतरनाक छ, मानिस अब विचार होइन, आफ्नो ‘पहिचान’ बचाउन तर्क गर्छ । यस्तो समाजमा सबैभन्दा धेरै सफल हुने व्यक्ति सधैँ सत्यवादी हुँदैन । धेरैपटक सबैभन्दा आकर्षक भ्रम बेच्न सक्ने व्यक्ति सफल हुन्छ । यो अवस्था केवल राजनीतिमा मात्र होइन, धर्म, शिक्षा, मिडिया र परिवारसम्म फैलिएको छ । शिक्षकले प्रश्नभन्दा पाठ्यक्रमलाई प्राथमिकता दिन थाले, अभिभावकले संवादभन्दा आज्ञाकारितालाई, नेताले नीतिभन्दा नारा, धर्मगुरुले विवेकभन्दा भावुकता, मिडियाले सत्यभन्दा सनसनीलाई प्राथमिकता दिए । फलतः समाजमा स्पष्टता आउनुको साटो अन्यौल बढ्यो । आज मानिससँग उत्तर धेरै छन्, तर सही प्रश्न कम छन् । र जहाँ सही प्रश्न हराउँछ, त्यहाँ चेतना कमजोर हुन्छ ।

एउटै समयमा तीन युगः सामन्तवाद, पूँजीवाद र कर्पोरेट सामन्तवाद

आजको समाज बुझ्न सबैभन्दा उपयोगी फ्रेममध्ये एउटा यही हो कि हामी एकै समयमा तीनवटा फरक युगमा बाँचिरहेका छौँ । बाहिरबाट आधुनिकता छ, तर संरचनाभित्र पुरानो सत्ता, बजारको नियन्त्रण र डिजिटल दासत्वको मिश्रण छ ।

क. सामन्तवादः पुरानो सोच, दास मानसिकता

सामन्तवाद केवल ऐतिहासिक शासन प्रणाली होइन । त्यो एउटा मानसिक संरचना पनि हो । जहाँ मानिस स्वतन्त्र नागरिकभन्दा कसैको कृपा–आश्रित प्रजा जस्तो बाँच्न अभ्यस्त हुन्छ, त्यहाँ सामन्तवाद जीवित हुन्छ । आज पनि हाम्रो समाजमा यसको धेरै रूपहरू छन््ः व्यक्ति पूजा, प्रश्न नगर्ने संस्कार, ‘ठूलाले भनेपछि सही’ भन्ने मानसिकता, शक्ति र पहुँचवालाको अगाडि आत्म समर्पण, परिवार, संस्थान वा दलभित्र अन्ध–आज्ञाकारिता, जात, वर्ग, लिङ्ग वा वंशका आधारमा श्रेष्ठता–हीनताको सोच । सामन्तवादको सबैभन्दा खतरनाक पक्ष के हो भने यसले मानिसलाई आफ्नो दासत्व नै स्वाभाविक लाग्ने बनाउँछ । मानिसलाई स्वतन्त्रता डर लाग्न थाल्छ, किनकि स्वतन्त्रतासँग जिम्मेवारी आउँछ । दास मानसिकताले भन्छ, ‘तिमी सोच्नुभन्दा मान्न सजिलो छ ।’ ‘प्रश्न गर्नुभन्दा झुक्न सुरक्षित छ ।’

ख. पूँजीवादः बजार र नाफाको होडबाजी

पूँजीवादले इतिहासमा उत्पादन, नवप्रवर्तन, प्रतिस्पर्धा र व्यक्तिगत आकांक्षालाई बल दियो । यसले सामन्तवादका धेरै जकड तोड्यो पनि । तर नियन्त्रणविहीन पूँजीवादले अर्को समस्या जन्मायो—मानवजीवनलाई पनि बजारको तर्कमा रूपान्तरण गर्ने प्रवृत्ति । आजको संसारमा लगभग सबै कुरा बजार–वस्तु बन्दै गइरहेको छः समय, ध्यान, भावना, शरीर, सौन्दर्य, सम्बन्ध, शिक्षा, स्वास्थ्य, यहाँसम्म कि आध्यात्मिकता पनि । अब प्रश्न ‘यो सत्य हो कि होइन ?’ भन्दा पहिले ‘यो बिक्छ कि बिक्दैन ?’ आउँछ । ‘यो समाजका लागि राम्रो हो कि होइन ?’ भन्दा पहिले ‘यसबाट नाफा हुन्छ कि हुँदैन ?’ आउँछ । यही कारणले शिक्षा पनि धेरै ठाउँमा बौद्धिक निर्माणभन्दा करिअर–उत्पादनको कारखाना बन्दै गएको छ ।
मिडिया लोकतान्त्रिक निगरानीभन्दा ध्यान–व्यापारमा बदलिँदैछ । कलाले सौन्दर्य र प्रतिरोधभन्दा एल्गोरिद्मिक लोकप्रियता पछ्याउन थालेको छ । पूँजीवादको सबभन्दा गहिरो चाल के हो भने यसले मानिसलाई स्वतन्त्र देखिन्छ, तर भित्रभित्रै असन्तुष्ट उपभोक्ता बनाइराख्छ ।

ग. कर्पोरेट सामन्तवादः नयाँ मालिक, नयाँ बन्धन

यदि सामन्तवादमा जग्गाधनी मालिक थियो, पूँजीवादमा उद्योगपति÷पूँजी मालिक भयो भने आजको युगमा शक्ति क्रमशः ठूला कम्पनीहरू, प्लेटफर्महरू, डाटा–साम्राज्यहरू र एल्गोरिद्मिक संरचनाहरूमा केन्द्रित हुँदैछ । यसलाई कर्पोरेट सामन्तवाद भन्नु अतिशयोक्ति होइन ।
यहाँ ‘जमिन’को ठाउँमा डाटा आएको छ । ‘हली–मजदुर’को ठाउँमा गिग–वर्कर, कन्ट्र्याक्ट–लेबर, एल्गोरिद्म–निर्भर कामदार र स्क्रिन–आश्रित उपभोक्ता आएका छन् । ‘दरबार’को ठाउँमा डिजिटल प्लेटफर्म छन् । हामीलाई लाग्छ हामी स्वतन्त्र छौँ, किनकि हामी आफैँले एप खोल्छौँ, सामग्री छान्छौँ, किनमेल गर्छौँ, पोस्ट गर्छौँ । तर वास्तविकता के हो भने हाम्रो ध्यान, व्यवहार, रुचि, डर, राजनीतिक झुकाव, किनमेल–आदत, सम्बन्ध–मोडेल सबै विस्तारै ट्र्याक, विश्लेषित र निर्देशित भइरहेका छन् ।

स्वेच्छिक दासत्वः आधुनिक मानिस किन आफ्नै बन्धनमा रमाउँछ ?

दासत्वको पुरानो रूप बलपूर्वक हुन्थ्यो । नयाँ रूप सहमतिको भ्रमबाट चल्छ । आज मानिसहरू आफूलाई नियन्त्रण गर्ने संरचनाहरूको विरुद्ध उठ्नेभन्दा तिनमै समाहित हुन उत्सुक देखिन्छन् । किन ? किनकि आधुनिक सत्ता अब केवल बाहिरी दमन होइन, आन्तरिक इच्छाको रूपमा काम गर्छ । यदि कसैले तिमीलाई भन्छ, ‘यो गर, होइन भने सजाय हुन्छ,’ तिमी प्रतिरोध गर्न सक्छौ । तर यदि तिमीलाई भनिन्छ, ‘यो गर, तिमी अझ सफल, अझ आकर्षक, अझ प्रभावशाली, अझ आधुनिक देखिन्छौँ,’ भने तिमी खुसीसाथ त्यसतिर जान्छौँ । यही कारणले आधुनिक दासत्व आज्ञाबाट होइन, आकर्षणबाट चल्छ । मानिसहरू काममा जलेर खत्तम हुन्छन्, तर ‘हसलकल्चर’को गौरवमा रमाउँछन् । सामाजिक सञ्जालले उनीहरूको आत्मसम्मान चुस्छ तर उनीहरू त्यसलाई ‘कनेक्टेडनेस’ ठान्छन् । ऋणले जीवन थिचिन्छ तर उपभोगलाई ‘लाइफस्टाइल’ भनिन्छ । निजी समय समाप्त हुन्छ, तर २४÷७ उपलब्ध हुनुलाई ‘प्रोफेशनलिज्म’ मानिन्छ । आधुनिक मानिसलाई थाहा छ ऊ थाकेको छ, चिन्तित छ, असुरक्षित छ—तर उसलाई यसका संरचनात्मक कारण देखाइँदैनन् । बरु भनिन्छः ‘तिमीले अझ राम्रो प्लानिङ गर ।’

 बौद्धिक पाखण्ड

जब विज्ञान पढाउनेले तर्क छाड्छ, आजको समाजको अर्को गम्भीर विडम्बना के हो भने उच्च शिक्षित हुनु र बौद्धिक हुनु एउटै कुरा रहेन । डिग्री, पद, प्रतिष्ठा, अनुसन्धान वा प्राविधिक दक्षता भएका धेरै मानिसहरू सार्वजनिक जीवनमा आइपुग्दा तर्क, प्रमाण र आलोचनात्मक विवेक को पक्षमा उभिनुको साटो अन्धविश्वास, चाटुकारिता, मिथ्या–महिमा वा सतही लोकप्रियतामा रमाइरहेका देखिन्छन् । यसको उदाहरण—क्वान्टम फिजिक्स पढाउने प्रोफेसरले तर्क र प्रमाण छाडेर अन्धविश्वास वा स्तुति साहित्यमा रमाउनु, यो केवल व्यक्तिगत विरोधाभास होइन, बौद्धिक संस्कृतिको संकट हो । किनकि विज्ञान पढाउनुको अर्थ केवल सूत्र सम्झाउनु होइन । त्यो भनेको सत्यको खोजी गर्ने विधि सिकाउनु हो। प्रयोगशालामा प्रमाण माग्ने व्यक्ति यदि सार्वजनिक जीवनमा दाबीहरूको प्रमाण नखोजी भावुक निष्ठामा बहन्छ भने त्यो ज्ञानको नैतिक विश्वासघात हो । समस्या के हो भने हाम्रो समाजमा ‘विद्वान्’को छवि धेरैपटक प्रमाणको अनुशासनभन्दा पदको प्रतिष्ठामा आधारित हुन्छ । यदि कोही प्रोफेसर हो, डाक्टर हो, लेखक हो, नेता हो, धर्मगुरु हो भने समाजले धेरैपटक उसको हरेक कथनलाई स्वतः ‘सत्य’ ठान्छ । यहीँबाट प्रामाणिकताको नाटक सुरु हुन्छ । व्यक्ति आफ्नो विशेषज्ञताको क्षेत्रभन्दा बाहिर पनि ‘अन्तिम सत्य’ बोल्ने भूमिकामा जान्छ । र समाजले उसको पद देखेर प्रश्न गर्न छोड्छ । यस्तो वातावरणमा बौद्धिक पाखण्ड बढ्छ । वैज्ञानिक भाषा प्रयोग गरेर अवैज्ञानिक दाबी गरिन्छ, आध्यात्मिकताको नाममा तर्कविहीनता बेचिन्छ, राष्ट्रवादको नाममा आलोचना दबाइन्छ, संस्कृतिको नाममा असमानता जोगाइन्छ, परम्पराको नाममा प्रश्न गर्ने अधिकारलाई अपराध बनाइन्छ । यसको दीर्घकालीन असर अत्यन्त गम्भीर हुन्छ ।

वैज्ञानिक चेतना भनेको के हो ?

यहाँ एउटा कुरा स्पष्ट हुनुपर्छ—वैज्ञानिक चेतना भनेको धर्मद्वेष, संस्कृतिविरोध वा केवल ‘आधुनिक’ देखिने मुद्रा होइन । वैज्ञानिक चेतना भनेको दाबीको प्रमाण खोज्ने बानी, अधिकारभन्दा तर्कलाई प्राथमिकता दिने संस्कार, ‘म गलत पनि हुन सक्छु’ भन्ने बौद्धिक इमानदारी, व्यक्तिगत अनुभव र वस्तुगत सत्यबीच भिन्नता छुट्याउने क्षमता, जटिल समस्यामा सरल नारा नखोज्ने धैर्य । वैज्ञानिक चेतना भएको समाजमा मानिसहरू अन्ध–अनुकरण गर्दैनन्; उनीहरू सोध्छन्, ‘यसको प्रमाण के हो ?’ ‘यसले कसलाई फाइदा गर्छ ?’ ‘यो दाबी परीक्षणयोग्य छ कि छैन ?’ ‘यो भावना हो कि तथ्य ?’

दर्शन हराउँदा राजनीति केवल शक्तिको खेल बन्छ

राजनीति मूलतः शक्ति, संशाधन, अवसर, न्याय र सामूहिक भविष्यबारे निर्णय गर्ने प्रक्रिया हो । तर जब राजनीति दर्शन, मूल्य, विचार र दीर्घदृष्टिबाट खाली हुन्छ, तब त्यो केवल सत्ताप्राप्ति र संरक्षणको खेलमा सीमित हुन्छ । आज धेरै ठाउँमा यही भइरहेको छ । राजनीतिले ‘हामी कस्तो समाज चाहन्छौँ ?’ भन्ने प्रश्न सोध्न छोडेको छ । बरु राजनीति ‘कसरी जित्ने ?’, ‘कसरी नियन्त्रण गर्ने ?’, ‘कसरी कथानक कब्जा गर्ने ?’ भन्ने प्राविधिक कलामा समिटिएको छ । विचारहीन राजनीतिका केही स्पष्ट लक्षण छन्ः घोषणापत्र हुन्छ, तर दर्शन हुँदैन । नारा हुन्छ, तर नीति हुँदैन । भिड हुन्छ, तर चेतना हुँदैन । शत्रु निर्माण हुन्छ, तर समाधान हुँदैन । यस्तो राजनीतिले नागरिकलाई सहभागी होइन, भावनात्मक भिड बनाउँछ । उनीहरूको क्रोध, डर, असुरक्षा, आक्रोश, जातीय÷धार्मिक÷सांस्कृतिक पहिचान—सबैलाई व्यवस्थित रूपमा प्रयोग गरिन्छ । यसरी राजनीति विचारको विद्यालय हुनुको साटो मनोवैज्ञानिक सञ्चालनको मेसिन बन्छ । जब दर्शन हराउँछ, शक्ति नै सत्य जस्तो देखिन थाल्छ । जससँग माइक्रोफोन छ, ऊ नै सही देखिन्छ । जससँग संगठन, पैसा, पहुँच, प्रचार र नेटवर्क छ, ऊ नै ‘राष्ट्रको आवाज’ जस्तो प्रस्तुत हुन्छ ।

८. स्वतन्त्रताको नाममा नियन्त्रण

आधुनिक शासनको नयाँ रूप आज हामी स्वतन्त्रता, अधिकार, विकल्प, खुलापन, लोकतन्त्र, व्यक्तिगत अभिव्यक्ति जस्ता शब्दहरू धेरै सुनिरहेका छौँ । तर वास्तविकता के हो भने धेरैपटक नियन्त्रणको नयाँ रूप स्वतन्त्रताको भाषामै आउँछ । उदाहरणका लागि ‘तपाईँको अनुभव सुधार्न’ भनेर डाटा संकलन, ‘सुरक्षाका लागि’ भनेर निगरानी, ‘सुविधाका लागि’ भनेर निर्भरता, ‘व्यक्तिगत करणका लागि’ भनेर व्यवहार–प्रभाव, ‘अभिव्यक्तिको स्वतन्त्रता’को नाममा झुटो सूचनाको व्यापार । आधुनिक सत्ता अब केवल जेल, डण्डा, बन्दुक र प्रतिबन्धबाट मात्र काम गर्दैन । यो मनोवैज्ञानिक, एल्गोरिद्मिक, सांस्कृतिक र आर्थिक नियन्त्रणको सूक्ष्म जालबाट काम गर्छ । आजको नागरिकलाई सधैँ प्रत्यक्ष दमन नचाहिन सक्छ; उसलाई ध्यान विचलित राख्न सकिन्छ । उसलाई विकल्पहरूको भिडमा यति व्यस्त राख्न सकिन्छ कि उसले संरचनात्मक प्रश्न नै नउठाओस् । यसलाई बुझ्न एउटा सरल कुरा पर्याप्त छ ।

९. शिक्षाः ज्ञानको मन्दिर कि प्रमाणपत्रको बजार ?

समाजको भविष्य बुझ्न विद्यालय र विश्वविद्यालय हेर्नु पर्याप्त हुन्छ । यदि शिक्षा प्रणालीले स्वतन्त्र विचारकभन्दा आज्ञाकारी प्रतिस्पर्धी उत्पादन गरिरहेको छ भने त्यो समाज दीर्घकालीन संकटतर्फ जाँदैछ । आज हाम्रो धेरै शिक्षा प्रणालीको संकट यही हो । विद्यार्थीहरूलाई पढाइन्छ तर धेरैपटक सोच्न सिकाइँदैन । उनीहरूलाई उत्तर याद गराइन्छ तर प्रश्न निर्माण गर्न सिकाइँदैन । उनीहरूलाई परीक्षा पास गर्न प्रशिक्षित गरिन्छ तर बौद्धिक चरित्र बनाउन कम ध्यान दिइन्छ । फलतः डिग्रीधारीहरू बढ्छन् तर विवेकशील नागरिकहरू कम जन्मिन्छन् । शिक्षा यदि केवल रोजगारीको साधन बन्यो भने समाज प्रविधिका रूपमा सक्षम हुन सक्छ तर नैतिक रूपमा असुरक्षित बन्छ ।

१०. मिडिया, मिथ्या र सार्वजनिक विवेकको पतन

आजको समाजमा मिडियाको भूमिका केवल सूचना दिनु होइन । यो सार्वजनिक चेतना निर्माण गर्ने शक्ति पनि हो । तर जब मिडिया सत्य खोज्ने संस्थाभन्दा ध्यान बेच्ने उद्योग बन्छ, तब समाजको बौद्धिक स्वास्थ्य बिग्रिन थाल्छ । आजको डिजिटल मिडिया–परिदृश्यमा धेरै कुरा ‘साँचो’ भएर होइन, उत्तेजक भएर फैलिन्छ । जो कुरा क्रोध, डर, घृणा, सनसनी, भावुकता वा विभाजन पैदा गर्छ, त्यो एल्गोरिद्मिक रूपमा फाइदाजनक हुन्छ । यही कारणले झुटो सूचना केवल गलत सूचना भएर मात्र होइन, लाभदायक सामग्री भएर टिक्छ । सार्वजनिक विवेक कमजोर हुँदा मानिसहरू स्रोत जाँच्दैनन्, शीर्षक पढेर निष्कर्ष निकाल्छन्, क्लिप हेरेर व्यक्ति मूल्यांकन गर्छन्, नारा सुनेर इतिहास निर्णय गर्छन् । यस्तो समाजमा सत्यलाई समय चाहिन्छ तर झुटलाई केवल ‘फर्वार्ड’ चाहिन्छ ।

११. डायनासोरको रूपकः आकार ठूलो, अनुकूलन सानो

डायनासोरको रूपक अत्यन्त शक्तिशाली छ । डायनासोर विशाल थिए, शक्तिशाली थिए, पृथ्वीमा प्रभुत्वशाली थिए । तर अन्ततः उनीहरू समयको परिवर्तनसँग अनुकूलन गर्न नसक्दा हराए । आज मानव सभ्यता पनि एउटा समान खतराको छेउमा उभिएको देखिन्छ । हामी प्रविधिमा विशाल हुँदैछौँ । अधिक उत्पादन, अधिक नियन्त्रण, अधिक पहुँच, अधिक सूचना, अधिक शक्ति । तर प्रश्न यो हो, के हामी चेतनामा पनि त्यत्तिकै विकसित हुँदैछौँ ? यदि हाम्रो नैतिकता, दर्शन, सामूहिक विवेक, पारिस्थितिक जिम्मेवारी, सामाजिक न्यायबोध र आत्म–समझ पुरानै स्तरमा रह्यो भने हामीसँग भएको शक्ति नै हाम्रो विनाशको कारण बन्न सक्छ ।

१३. निष्कर्ष

सभ्यताको भविष्य प्रविधिमा होइन, विवेकमा तय हुनेछ । आज मानवता एउटा निर्णायक मोडमा छ । हामीसँग पहिलेभन्दा धेरै शक्ति छ । तर इतिहासले बारम्बार देखाएको छ, शक्ति आफैँमा प्रगति होइन । प्रगति तब हुन्छ जब शक्ति विवेक, न्याय, सहानुभूति, स्वतन्त्र चिन्तन र सार्वजनिक नैतिकताले निर्देशित हुन्छ । यदि विज्ञानले गाडी बनायो भने दर्शनले स्टियरिङ समात्नु पर्छ । यदि प्रविधिले गति दियो भने नैतिकताले दिशा दिनु पर्छ । यदि ज्ञानले क्षमता दियो भने चेतनाले सीमा र जिम्मेवारी सिकाउनु पर्छ । आजको सबैभन्दा ठूलो संकट बाहिरी अभाव होइन । भित्री दिशाहीनता हो । हामी आधुनिक उपकरण बोकेका पुराना मनहरू पनि हुन सक्छौँ । हामी डिजिटल नागरिक भएर पनि सामन्ती मानसिकता बोकेका हुन सक्छौँ । हामी स्वतन्त्रताको भाषा बोल्दै नियन्त्रणको जालमा बाँचिरहेका हुन सक्छौँ । हामी विज्ञानको युगमा बसेर पनि मिथकले सञ्चालित हुन सक्छौँ । त्यसैले आजको सबैभन्दा गम्भीर प्रश्न यो होइन कि ‘हामी कति अगाडि पुग्यौँ ?’ बरु यो हो । ‘हामी के बन्दैछौँ ?’
यदि मानव सभ्यता प्रविधिमा मात्र विशाल बन्दै जाने तर चेतना, दर्शन र आत्म–आलोचनामा सानो रहने हो भने डायनासोरको कथा केवल जीवाश्म शास्त्रको विषय रहने छैन । त्यो सभ्यताको भविष्यवाणी पनि बन्न सक्छ । तर अझै आशा बाँकी छ । जबसम्म मानिस प्रश्न गर्न सक्छ, सत्य खोज्न सक्छ, मिथ्यालाई अस्वीकार गर्न सक्छ, शक्तिलाई चुनौती दिन सक्छ र ‘कस्तो समाज चाहिन्छ ?’ भन्ने प्रश्नलाई जीवित राख्न सक्छ, तबसम्म सभ्यता बच्न सक्छ । अन्ततः मानवताको भविष्य चिप, कोड, मेसिन, बजार वा साम्राज्यले तय गर्ने छैन । त्यो तय हुनेछ, हामीले तर्कलाई कति जोगायौँ, दर्शनलाई कति सम्मान ग¥यौँ र स्वतन्त्रताको अर्थलाई कति गहिराइमा बुझ्यौँ भन्ने कुराले । मानिसले संसार बदल्ने क्षमता त धेरै पहिले पाइसकेको हो । अब प्रश्न केवल यति हो, के उसले आफूलाई बदल्ने बुद्धि पनि राख्छ ?

  • No tags available
प्रकाशित मिति : २०८२ चैत १८ गते बुधबार