सुर्खेत ।
कर्णाली युवा महोत्सवको अवसरमा कर्णालीलाई कर्मथलो बनाएर सामाजिक रुपान्तरणका क्षेत्रमा काम गरेका १० जना युवालाई कर्णाली युथ आइकन अवार्डबाट सम्मान गरिएको छ । सोमबार महोत्सव समापन समारोहमा कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीको स्वास्थ्य क्षेत्रमा योगदान पु¥याएबापत नेत्ररोग विशेषत्र डाक्टर आकांक्षा रानालाई युथ आइकन अवार्ड प्रदान गरेका हुन् ।
उक्त अवार्ड पत्रकारिताको तर्फबाट चाँदनी कठायत, गीत संगीततर्फ इब्सल सन्ज्याल, शिव संगीत, युवा व्यवसायीतर्फ मनिषजंग शाही, युवा उद्यमीतर्फ प्रमिला बुढा र सामाजिक क्षेत्रबाट हिक्मत वादीले प्राप्त गरेका छन् । यस्तै समाजसेवीका रूपमा हरि कँडेल, चलचित्रतर्फ केशव थापा र युवा उत्प्रेरक आदर्शविक्रम सिंहले पनि युथ अवार्ड प्राप्त गरेका छन् ।
उनीहरू सबैलाई प्रदेश प्रमुख जोशीले अवार्ड प्रदान गरेका थिए । अवार्ड प्रदान गर्दै कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णाली गरिब र अशिक्षित छ भन्ने पुरानो मानसिकता त्यागेर समृद्धिको नयाँ बाटोमा लाग्न युवाहरूलाई आह्वान गरेका छन् । कर्णाली सम्भावनाले भरिपूर्ण रहेको र ती सम्भावनालाई उजागर गर्ने जिम्मा युवाहरूको भएको उनले बताए ।
‘कर्णालीको हीनताबोध त्याग्नुपर्छ । कर्णाली गरिब छ, अशिक्षित छ भन्ने मनोवृत्तिबाट हामी टाढा रहनुपर्छ । कर्णाली समृद्ध छ र यहाँ उज्ज्वल भविष्य छ भन्ने सोचका साथ अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘यो युग युवाहरूको हो । अहिलेको परिस्थितिमा निराश नभई उत्साहित भएर काम गर्न युवाहरूलाई प्रेरणा दिनुपर्छ ।’
साथै कर्णालीको समृद्धिको मुख्य आधार नै कृषि भएको उनले बताए । युवाहरू रोजगारीका लागि भारत र अन्य देशमा जानुपर्ने बाध्यताको अन्त्य गर्न कृषि क्षेत्रमा क्रान्ति ल्याउनुपर्ने उनको तर्क थियो । ‘कर्णालीमा सबैभन्दा पहिले कृषिमा जोड दिनुपर्छ, जसले यहाँका युवाहरूलाई आफ्नै माटोमा स्वरोजगार बनाउँछ,’ उनले थपे, ‘हाम्रा युवाहरू यहाँका सम्भावना छाडेर मुग्लान पस्नुपर्ने अवस्था दुःखद छ । सरकारले कृषिमा युवाहरूलाई लाग्न प्रेरित गर्ने ठोस कार्यक्रम ल्याउनुपर्छ ।’
कृषि क्षेत्रमा युवालाई आकर्षित गर्न धेरै ठूलो लगानीभन्दा पनि सही नीति र समन्वय आवश्यक रहेको जोशीको भनाइ थियो । प्रदेश र स्थानीय सरकारले संयुक्त प्रयास गरेमा कर्णालीलाई समृद्ध बनाउन र युवाहरूलाई रोजगारी दिन असम्भव नरहेको उनले दाबी गरे । ‘कृषितर्फ युवाहरूलाई उन्मुख गराउन ठूलो लगानी लाग्दैन,’ उनले भने, ‘यसका लागि संघीय, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारबीच नियमित र प्रभावकारी समन्वय हुनु आवश्यक छ ।’ गत शनिबारदेखि सुरु भएको कर्णाली युवा महोत्सवमा प्रदेशभरका युवाहरूको सहभागिता थियो । उत्सवमा विकास, नेतृत्व र उद्यमशीलताका विषयमा गहन छलफल भएका थिए ।









प्रतिक्रिया दिनुहोस्