पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ



नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई प्रहरीले पक्राउ गरेको छ । खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार बिहान बुढानीलकण्ठबाट पक्राउ परेको हो । सीआईबीका अनुसार खड्कामाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गर्न पठाएको पत्रका आधारमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।
२४ भदौमा भएको तोडफोड र आगजनीमा खड्कासहित पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको निवासबाट जलेका नोटका भग्नावशेष भेटिएका भिडियो तथा तस्बिर बाहिरिएका थिए । त्यसपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अघि बढाएको अनुसन्धानपछि विस्तृत रूपमा हेर्न सीआईबीमा फाइल पठाएको बताइएको छ ।
खड्का ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भएका बेला जलस्रोत उत्पादनको अनुमति पत्र र ठेक्का दिलाउन ‘मन्त्री क्वार्टर र मन्त्रालयमै बसेर’ चेक लेनदेन गरेको आरोप उनीमाथि लागेको थियो । यसैगरी लैनचौरस्थित नेपाल स्काउटको जग्गा हिनामिनामा पनि उनी मुछिएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत १५ गते आइतबार