सन्दीपपछि दीपेन्द्र ईयू टी–२० लिगमा



काठमाडौँ ।

बेल्जियमको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता ईयू ट्वान्टी–२० लिगमा नेपाली राष्ट्रिय टोलीका मुख्य खेलाडी दीपेन्द्रसिंह ऐरी आबद्ध भएका छन् । ऐरीलाई टिममा अनुबन्ध गरिएको जेबी ब्रुग्सले जनाएको छ । जेबी ब्रुग्स नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली जनकपुर बोल्ट्समा आबद्ध रहेको ड्रिम स्पोट्र्स स्वामित्वको टोली हो ।

दीपेन्द्र यसअघि यूएईको आईएल टी–२० मा गल्फ जायन्ट, पाकिस्तानको पीएसएलमा इस्लामाबाद युनाइटेड र क्यानडा लिगमा भ्यान्कुबर नाइट्समा आबद्ध भइसकेका छन् । ड्रिम स्पोट्र्सका मालिकमध्येका एक उत्सव सिग्देलले दीपेन्द्रलाई आफ्नो टोलीमा ल्याउन पाउँदा खुसी व्यक्त गरेका छन् । उनले अरू क्लबमा नेपाली खेलाडीलाई आबद्ध गराउन निरन्तर प्रयास गरिरहेको पनि बताए ।

यसअघि, सन्दीप लामिछाने बेल्जियमका ६ मध्येको एक टिम लिइज रेड लायन्समा आबद्ध भएका थिए । न्युजिल्यान्डका आक्रामक ओपनर कलिन मनरो र दक्षिण अफ्रिकाका राशि भान डेर डुसेन यसअघि नै ब्रुग्समा अनुबन्धित भइसकेका छन् । ईयू टी–२० लिग बेल्जियममा आयोजना हुन लागेको पहिलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता हो ।

लिग आउँदो जुन ६ देखि १४ सम्म आयोजना गरिँदै छ । नेपाली खेलाडीलाई प्राथमिकता दिने उद्देश्यले बेल्जियमको लिगमा लगानी गरेको ड्रिम स्पोट्र्सले पहिलो सिजनमा १० लाख अमेरिकी डलरसम्म खर्च हुने जनाएको छ । प्रतियोगितामा ६ फ्रेन्चाइज टोली छन् ।

बेल्जियमका प्रमुख सहर जेबी ब्रुजेजसहित आन्थ्रोप एङकर्स, ब्रसेल्स, हेन्ट, लुभेन र लिइज रेड लायन्स टिमहरूले राउन्ड–रोबिन लिग चरण खेल्नेछन् । शीर्ष चार टिमले प्लेअफमा प्रतिस्पर्धा गर्ने तालिका छ । एउटा टोलीले कम्तीमा चार एसोसिएट खेलाडी लिनुपर्ने नियम छ । यसकारण यसमा धेरै नेपाली खेलाडीले मौका पाउने अनुमान गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत ७ गते शनिबार