मिसन समाचारदाता ११ पुस कोहलपुर नगरपालिकाका प्रमुख लूट बहादुर रावतले सोमबार एक कार्यक्रम बीच कोहलपुर नगरपालिकालार्ई सुर्तिजन्य पदार्थ (गुट्का) निषेधित क्षेत्र घोषणा गरेका छन् । कोहलपुरको न्यूरोड मैदानमा थोरै संख्यामा उपस्थित सहभागीहरु बीच उनले यो घोषणा गरेका हुन । कोहलपुर नगरपालिकामा प्रमुख , उपप्रमुख , वडा अध्यक्षहरु र सदस्यहरु गरी ७७ जना र कार्यपालिकामा जननिर्वाचित वाहेक बाहिरबाट आएका ३ जना सहित गरी ८० जना जनताका प्रतिनिधिहरु रहेका छन् तर यति महत्वपूर्ण कार्यक्रममा जनप्रतिधिहरुको नै राम्रो सहभागिता नदेखिएको उपस्थित सर्वसाधारणले गुनासो गरे । केही सरकारी कार्यालयका प्रतिनिधि, केही व्यापारी र केही सर्वसाधारण सहित मुस्किलले ३० देखि ४० जना सम्मको सहभागितामा सो घोषणा गरिएको हो । घोषणा कार्यक्रम नै फितलो भए पछि यसको कार्यान्वयनमा ठूलै चुनौती रहेको र यसलाई कोहलपुर नगरपालिका एक्लैले कार्यन्वयन गर्न नसक्ने स्वतहः स्पष्ट देखिएको कोहलपुरका एक व्यवसायीले प्रतिक्रिया दिए ।
कोहलपुर नगरपालिकाका प्रमुखले कार्यान्वयनमा थुप्रै चुनौतीहरु रहेको स्वीकार्दै यसको कार्यान्वयनमा सबै पक्ष लाग्नु पर्ने बताउदै त्यसमा कोहलपुर नगरपालिकाले सबैको सहयोगको अपेक्षा राखेको समेत प्रष्ट पारे । सुर्तिजन्य पदार्थ घोषणा पत्र (अपिल) मा भनिएको छ – ‘ स्वच्छ र हरित नगरीको रुपमा यस नगर क्षेत्रलाई विकास गराउन सुर्ति जन्य पदार्थ (गुटका) को निषेधका नगरपालिकाले चालेको पहल कदमीलाई ुबै सरोकारवाला निकाय, व्यवसायी , नागरिक समाजका अगुवा,सञ्चार जगत ,वुद्धिजिवी, पेशाकर्मी , उपभोगकर्ता,स्थानीय प्रशासन, सुरक्षा निकाय सोतको सहयोग र सहकार्य आवश्यक रहेको छ ’ ।
त्यस्तै उप–प्रमुख सन्जु कुमारी चौधरीले सुर्तिजन्य पदार्थ निषेधित नगरपालिका घोषणालाई कार्यान्वयन नगरपालिकाले एक्लैले गर्न नसक्ने बताउदै त्यसको सफल कार्यान्वयनका लागि सबै पक्षको सहयोग आवश्यक रहेको र त्यसमा पनि व्यापारी र मिडियाको विशेष भूमिका हुने बताइन् । कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीले सुर्तिजन्य वस्तु बिक्री बितरणमा निषेध गरिसकेपछि त्यस्तो व्यवसाय गर्ने व्यापारीलाई वाणिज्य संघले संरक्षण नगर्ने बताउदै बरु त्यस्ता व्यापारीहरुको पहिचान गरी कोहलपुर नगरपालिकाको सुर्तिजन्य पदार्थ निषेधित क्षेत्र घोषणा कार्यक्रमलाई कार्यान्वयनमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । सोमबार देखि ७ दिन सम्म गुट्काको बिक्री वितरण गर्ने व्यापारीहरुले आफूसँग भण्डारण रहेका सो वस्तु नष्ट गर्ने वा सम्बनिन्धत कम्पनीहरुलाई फिर्ता पठाइ सक्नु पर्ने समय सीमा समेत तोकिएको छ । त्यस पछि पनि सुर्तिजन्य पदार्थ (गुटका) कोहलपुर नगरपालिका क्षेत्र भित्र विक्री वितरण, आपास–पसार तथा सेवन गरेको भेटिएमा प्रचलित कानून अनुसार कारबाही हुने नगरपालिकाका प्रमुख रावतले घोषणा सभामा जानकारी गराएका छन् ।
प्रकाशित मिति : २०७४ पुस ११ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्