परियार मित्रता समाज बाँकेको साधारणसभा सम्पन्न



कोहलपुर (बाँके) ।

परियार मित्रता समाज बाँकेको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । ‘हातमा हात काँधमा काँध मिलाइ अघि बढौँ र बढाऔँ’ भन्ने मूल नारासहित समाजको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको हो । साधारणसभाकोे प्रमुख अतिथि रहेका ज्येष्ठ सदस्य खड्क नेपालीले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

उनले परियार मित्रता समाजलाई जिल्लाभर विस्तार गर्नुपर्ने बताउँदै परियार समुदायबीच एकता आवश्यक रहेको उल्लेख गरे ।समाजको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै जिल्ला सचिव भिमबहादुर परियारले समाजले विभिन्न कार्यक्रम सञ्चालन गरेको बताए । उनका अनुसार परियार मित्रता समाज बाँकेका १९ जना आजीवन सदस्य र ११० जना साधारण सदस्य रहेका छन् ।

समाजले कोहलपुर नगरपालिकामा रहेका विपन्नलाई ४५ जनालाई पोसाक वितरण गरेको र तीन वटा पालिकामा समाजका शाखा रहेको जानकारी दिए । जिल्लास्तरीय समितिका साथै पालिकास्तरीय शाखा नेपालगन्ज, कोहलपुर र बैजनाथमा छन् । अन्य पालिकामा विस्तारको क्रममा रहेको सचिव परियारले जानकारी दिए । यस्तै बैजनाथ ३ का १५ जनालाई शैक्षिक सामग्री वितरण गरिएको उनको भनाइ छ ।

२०८० मा एसईई उत्तीर्ण ६२ जना परियार समुदायका बालकालिकाहरूलाई सम्मान गरिएको र एकजना क्यान्सर पीडितलाई पाँच हजार नगद प्रदान गरिएको छ । ‘आगामी दिनमा पनि शैक्षिक क्षेत्रमा काम गर्नेछौँ । शिक्षा, स्वास्थ्य र रोजगारीमा लगानी र कला संस्कृति संरक्षणमा समेत काम गर्ने योजना छ,’ सचिव परियारले भने ।

समाजका कोषाध्यक्ष दिपककुमार नेपालीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले परियार मित्रता समाज बाँकेका अध्यक्ष जीवनसिंह परियार समाज केही वर्षअघि मात्रै स्थापना भएको र अहिले जिल्लाका आठवटै स्थानीय तहमा विस्तारको क्रममा रहेको बताए । सामाजिक सशक्तीकरणका लागि समाजले जिल्लाभर युवा क्लब र महिला समूह गठन गर्ने योजना अघि सारेको उनको भनाइ थियो ।

बाँके जिल्लामा अन्दाजी ९ हजार जना परियार समुदाय रहेको र सबैलाई क्रमशः समाजमा जोड्दै जाने उनले बताए । उनले भने, ‘यो कुनै राजनीतिक संगठन होइन । यो त विशुुद्ध परियार समुदायका नागरिकहरुको जमघट हुने थलो हो । यसको उद्देश्य परियार समुदायको एकता हो । सोहीअनुसार हामी अघि बढिरहेका छौँ ।’

समाजको दोस्रो वार्षिक साधारणसभामा जिल्ला सदस्य जनक नेपालीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । साधारणसभामा नेपालगन्ज, कोहलपुर र बैजनाथका एक सय जनाभन्दा बढीको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत १ गते आइतबार