नयाँ सरकार चैत दोस्रो सातातिर



काठमाडौँ ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा घण्टी चुनाव चिन्ह् भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले करिब दुईतिहाइ मत प्राप्त गरेपछि आमसर्वसधारणमा नयाँ सरकार कहिले बन्छ र त्यो सरकारले के काम गर्छ भन्ने चासो बढ्न थालेको छ । चुनावी मैदानमा प्रतिस्पर्धा गरेका राजनीतिक दलहरूले कति मत पाउँछन् भन्ने चासो मंगलबारसम्म लगभग मतगणना कार्य सकिएसँगै सर्वसाधारणको नयाँ सरकार गठनमा चासो बढेको हो ।

देशमा भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्ने र मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लैजाने प्रमुख एजेन्डाका साथ निर्वाचनमा होमिएका राजनीतिक दलहरूमध्ये अधिकांश मतदाताले रास्वपाका एजेन्डालाई मन पराएर अत्यधिक मत दिएका छन् । अत्यधिक मत प्राप्त गरेकाले अबको सरकार रास्वपाले बनाउनेमा कुनै शंका छैन । र, निर्वाचनअघि रास्वपाले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको रूपमा अघि सारेर मत मागेकाले अबको प्रधानमन्त्री पनि सम्भवतः उनी नै बन्नेछन् ।

तर बालेन नेतृत्वको सरकारले देशलाई कसरी अघि बढाउँछ ? भ्रष्टाचार न्यूनीकरणमा कस्ता कार्ययोजना तय हुन्छन् ? तथा मन्त्रीपरिषद्मा राजनीतिक वा गैरराजनीतिकमध्ये कस्ता व्यक्ति चयन गरिन्छन् भन्ने जस्ता विषय सर्वसाधारणका लागि निकै चासो छन् । समृद्ध मुलुक बन्नका लागि अधिकांश विशेषता गुमाइसकेको बेला आमसर्वसाधारणले यसरी कुनै पनि दललाई स्पष्ट बहुमत दिनु भनेको मतदाता पुराना राजनीतिक दल, उम्मेदवार र उनका कार्यशैलीप्रति आजित भइसकेका छन् भन्ने अर्थमा बुझ्नुपर्ने राजनीतिक विश्लेषकहरू बताउँछन् ।

त्यसैले अब बन्ने सरकारले सुरुको दिनदेखि नै एकातिर आमसर्वसाधारणको मन जित्ने गरी कार्ययोजना बनाउनु पर्ने छ भने अर्को उत्पादन वृद्धिका लागि विशेष योजना बनाएर राष्ट्रिय हितमा काम गर्नुपर्नेछ । सरकार गठन भएको दिनदेखि नै अनेकखाले चुनौती झेल्नुपर्ने भएकाले त्यस्ता समस्या समाधान नभएसम्म अब बन्ने सरकारलाई आमसर्वसाधारणको विश्वास प्राप्त गर्न कठिन हुनसक्छ ।

मंगलबार मिसन टुडेसँग कुरा गर्दै धादिङ नौबिसेको शिव दवाडीले अब बन्ने सरकारले भारतका विभिन्न ठाउँबाट कृषि उपजलगायतका सामान बोकेर आउने कुनै पनि भारतीय गाडीलाई काठमाडौँ भित्रिन दिन नहुने सुझाव दिएका छन् । भारतबाट विभिन्नखाले सामान बोकेर आउने गाडीलाई सीमावर्ती क्षेत्रसम्म आउन दिने र त्यसपछिको ढुवानी नेपालकै सवारीसाधनले मात्र गर्ने व्यवस्था मिलाउने हो भने कम्तीमा ५ लाख रोजगारी सिर्जना हुने उनको भनाइ छ ।

त्यस्तै उनले अब बन्ने सरकारले स्थानीय तहका वडाअध्यक्ष लगायतका जनप्रतिनिधिलाई मोटरसाइकल लगायतका सवारीसाधन खरिद गर्न रोक लगाएर आफ्नोे गाउँमा के कस्ता उत्पादन छन् र त्यस्ता उत्पादन वृद्धिका लागि आवश्यक योजना र कार्यक्रममा मात्र केन्द्रित गर्नुपर्ने सुझाव दिए । अहिले आँप फुलेको उदाहरण दिँदै उनले यस्तो बेला आँपमा कस्ता खाले रोग लाग्छन् र के कुराको आवश्यकता हुन्छ ? किसानलाई सबै कुराको जानकारी तिनै जनप्रतिनिधिले दिने व्यवस्था मिलाउनुपर्छ नकि सर्वसाधारणले तिरेको करबाट सवारीसाधन खरिद अनावश्यक घुमफिर गर्र्न नपाउने हुनुपर्छ भने ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १६५ सिटको मतपरिणाम घोषणा भइसकेको छ । जसमा रास्वपाले प्रत्यक्षतर्फ १२५ सिट जितेको छ । समानुपातिकतर्फ पनि सोही पार्टी सबभन्दा ठूलो बन्दै करिब ५८ सिट प्राप्त गर्ने अनुमान गरिएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सरकार गठनको प्रक्रिया सुरु हुनुअघि अझै पूरा गर्नुपर्ने केही कानुनी तथा प्राविधिक प्रक्रिया बाँकी छन् ।

नले समानुपातिक मतगणना सम्पन्न भएपछि आयोगले दलहरूले पाएको मतका आधारमा अन्तिम सिट संख्या निर्धारण गर्ने बताए । सोही आधारमा आयोगले सम्बन्धित राजनीतिक दलहरूलाई समानुपातिक सिटमा पठाउने सांसदहरूको नामावली उपलब्ध गराउन सूचना दिनेछ । उक्त सूचनापछि चुनावअघि नै राजनीतिक दलहरूले बुझाएको बन्द सूचीबाट महिला, दलित, जनजाति, मधेसी, खसआर्यलगायत विभिन्न समुदायको सहभागिता संविधानअनुसार सुनिश्चित गरी प्रतिनिधिसभा सदस्यहरू छनोट हुनेछन् ।

भट्टराईले यति सबै प्रक्रिया पूरा गरी प्रतिनिधिसभा निर्वाचनको पूर्ण विवरणसहितको प्रतिवेदन तयार पारेर राष्ट्रपतिसमक्ष बुझाउन कम्तीमा साढे एक साता लाग्ने बताए । आयोगले उक्त प्रतिवेदन बुझाएपछि मात्र नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छ । ‘अहिलेलाई नयाँ सरकारका लागि कम्तीमा चैत दोस्रो साता लाग्ने देखिन्छ,’ उनले भने ।

नेपालको संविधानको धारा ७६ (१)अनुसार प्रतिनिधिसभामा बहुमतप्राप्त दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ । सरकार गठनको बाटो खुलेपछि रास्वपाले पहिलो चरणमा आफ्नो संसदीय दलको नेता चयन गर्नुपर्छ । निर्वाचनअघि घोषणा गरेझैँ रास्वपाले औपचारिक रूपमा बालेन शाहलाई संसदीय दलको नेता चयन गरेपछि राष्ट्रपतिले उनलाई प्रधानमन्त्री नियुक्त गर्ने संवैधानिक प्रक्रिया अघि बढ्नेछ ।

स्थिर सरकार बन्ने भएपछि सेयरबजारमा उछाल

प्रतिनिधिसभा निर्वाचनको मतगणना कार्य अन्तिम चरणमा पुगेर अब देशमा रास्वपको एकल सरकार बन्ने भएपछि सेयरबजारमा उछाल आएको छ । मंगलबार सेयर बजारमा एक सय अंकसम्मको उछाल आयो । कारोबार सुरु भएपछि केही बेरमै नेप्से २९११ विन्दु आसपासमा पुग्यो ।

तर दिनको अन्त्यमा भने अघिल्लो दिनको तुलनामा नेप्से ३२ अंकले बढेर २८४३ विन्दुमा कारोबार बन्द भयो । कारोबार रकम पनि उल्लेख्य रूपमा बढ्यो । यसदिन २१ अर्ब ५० करोड रूपैयाँ बराबरको सेयर कारोबार भयो । जुन पछिल्लो सात महिनायताकै उच्च हो । यसअघि गएको साउन ११ गते २६ अर्ब ५७ करोड रूपैयाँ बराबरको कारोबार भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन २७ गते बुधबार