नेपालगन्ज ।
लगातार एकै दललाई नतिजाउने बाँकेका मतदाताले यसपटक पनि अघिल्लो निर्वाचनमा जितेका दलभन्दा फरक दललाई निर्वाचित गरेका छन्। देशभर आएको रास्वपाको लहरअनुसार बाँके जिल्लाका दुईवटा निर्वाचन क्षेत्रमा रास्वपा र एउटा क्षेत्रमा नेकपा एमालेका उम्मेदवार विजयी भए ।
बाँके १ मा रास्वपाका सुरेशकुमार चौधरी, बाँके २ मा एमालेका मोहम्मद इश्तियाक राई र बाँके ३ मा रास्वपाका खगेन्द्र सुनार निर्वाचित भएका छन् । बाँके क्षेत्र नम्बर १ मा चौधरीले ३२ हजार सात सय ९२ मत ल्याएर निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका नारायणप्रसाद गौडेललाई करिब साढे १७ हजार मतान्तरले पराजित गरेका छन् ।
काँग्रेस बाँकेका सभापतिसमेत रहेका गौडेलले १५ हजार तीन सय १ मत ल्याउँदा एमालेका केन्द्रीय सदस्य एवं विघटित संसद्का सदस्य सूर्य ढकालले ११ हजार ९५ मतमात्रै पाए । यसैगरी क्षेत्र नम्बर ३ मा निर्वाचित भएका रास्वपाका सुनारले निकटतम प्रतिस्पर्धी एमालेका सुमन मल्लसँग नौ हजार नौ सय ३६ मतान्तरसहित २९ हजार पाँच सय ५१ मत ल्याएर जिते ।
मल्लले १९ हजार ६ सय १५ मत ल्याउँदा नेपाली काँग्रेसका लुम्बिनी प्रदेश सभापतिसमेत रहेका अमरसिंह पुनले जम्मा १३ हजार दुई सय १५ मतमात्रै पाए । यता नेपालगन्जसमेत पर्ने बाँकेको क्षेत्र नम्बर २ मा एमालेका राईले २४ हजार ६ सय २८ मत ल्याएर निर्वाचित भएका छन् । पूर्वमन्त्रीसमेत रहेका उनले निकटतम प्रतिस्पर्धी रास्वपाका विवेक श्रेष्ठलाई पाँच हजार नौ सय ४६ मतान्तरले पराजित गरे ।
श्रेष्ठले १८ हजार ६ सय ८२ मत ल्याउँदा नेपाली काँग्रेस बाँकेका सचिवसमेत रहेका सुधांशु कोइरालाले १७ हजार पाँच सय ९६ मत पाए । अघिल्लो पटक २९ हजार बढी मत ल्याएर जितेको राप्रपाका ऋषिराज देवकोटाले यसपटक निकै कम मत ल्याएका छन् । २०७९ मा डा. धवलशमशेर राणाले २९ हजार पाँच सय ७७ मत ल्याएर जितेकोमा देवकोटाले एक हजार सात सय २३ मत मात्रै पाएका छन् ।
देवकोटा राप्रपाका सहायक सहमहामन्त्री पनि हुन् । बाँके जिल्लामा २०४८ यताका निर्वाचनमा लगातार एकै दलका तथा उही उम्मेदवारले जित हासिल गरेको इतिहास छैन । २०७९ को निर्वाचनमा बाँके क्षेत्र नम्बर १ मा एमालेका ढकाल, क्षेत्र नम्बर २ मा राप्रपाका राणा र क्षेत्र नम्बर ३ मा काँग्रेसका किशोरसिंह राठौर निर्वाचित भएका थिए ।
को हुन् निर्वाचितहरु ?
बाँके १ बाट निर्वाचित रास्वपाका चौधरी ५६ वर्षका भए । उनले नेकपा एमाले निकट अखिलबाट राजनीति सुरु गरेकोमा विभिन्न दल हुँदै उनी यसपटक रास्वपामा संलग्न भई उम्मेदवार बनेका थिए । आईकम गरेका चौधरीले शिक्षण पेशा अंगालेका थिए । साथमा राजनीति पनि गरेका उनले एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी (नाउपा)जस्ता दलमा आबद्ध थिए ।
२०७९ मा नाउपाबाट उनी बाँके–१ मै उम्मेदवार बनेर तेस्रो बढी मत ल्याएका थिए । २०७९ मा उनले ११ हजार चार सय ६५ मत पाएका थिए । उनी यसपटकको चुनावअघि २०८२ पुसमा रास्वपामा प्रवेश गरेका थिए । यता बाँके–२ मा एमालेबाट उम्मेदवार बनेका मोहम्मद इश्तियाक राई २०७९ मा बाँके २ मै जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार थिए । त्यसबेला उनले २३ हजार पाँच सय २० मत पाएर दोस्रो भएका थिए ।
राईले आफ्नो राजनीतिक यात्रा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट सुरु गरेकोमा मधेशी जनअधिकार फोरमबाट २०६४ सालको पहिलो संविधानसभामा निर्वाचित भएका थिए । त्यसपछि २०६७ मा झलनाथ खनाल नेतृत्वको सरकारमा श्रम तथा यातायात व्यवस्था मन्त्री बनेका राई त्यसयताका सबै निर्वाचनमा उम्मेदवार बन्दै आएका छन् । तर २०७० को दोस्रो संविधानसभा निर्वाचनमा भने उनी पराजित भएका थिए ।
२०७४ को संसदीय निर्वाचनमा पुनः जितेका राई सहरी विकास मन्त्री र भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका थिए । बाँके–३ बाट निर्वाचित भएका रास्वपाका सुनार दलित अभियानकर्मीको पृष्ठभूमिबाट राजनीतिमा आएका व्यक्ति हुन् । कलाकारिता र पत्रकारितासमेत गरेका उनले राजनीतिशास्त्र र इतिहासमा स्नातकसम्म अध्ययन गरेका छन् ।
‘दलितका लागि दलित अभियान’ चलाएका उनी २०७७ जेठमा रुकुम पश्चिमका नवराज विकसहित ६ युवाको हत्या भएपछि त्यसविरुद्ध खरो बोलेपछि चर्चामा आएका थिए । कतिपय अवस्थामा अभिव्यक्तिका कारण विवादमा पर्दै आएका उनले जेनजी आन्दोलनपछि खगेन्द्रले आफ्नै नेतृत्वमा ‘हाम्रो पार्टी नेपाल’ नामक दल दर्ता गरेका थिए । तर निर्वाचनको केही समयअघि मात्रै रास्वपामा प्रवेश गरेर उम्मेदवार बनेका सुनारलाई दैलेख स्थायी ठेगाना भएपनि बाँकेका मतदाताले निर्वाचित गराएर संसद्मा पठाएका छन् ।








प्रतिक्रिया दिनुहोस्