चिन्तामणि घिमिरे
आठ मार्चलाई विश्वभरका श्रमिक महिलाहरुले विभिन्न कार्यक्रमहरु आयोजना गरि मनाउने गर्दछन् । यो विश्वभरका श्रमिक महिलाहरूको संघर्षको प्रतीक हो । आठ मार्च महिलाहरुको वीरताले कोरिएको दिवस हो । आन्दोलनहरु, क्रान्तिहरु उत्पीडित वर्गका लागि उत्सव बनेका हुन्छन् । विश्वमा क्रान्तिबिना कहिँ पनि उत्पीडित वर्गले आफ्नो अधिकार प्राप्त गरेको छैन् । ब्यालेटबाट मात्र उत्पीडित वर्गको अधिकार सुनिश्चित र संस्थागत हुन सक्दैन् । ब्यालेट सुधारको एउटा जलप मात्र हो जहाँ उत्पीडित वर्ग ठगिइरहेको पाइन्छ । उत्पीडित वर्गले अधिकार प्राप्त गर्नको लागि संघर्षको मैदानमा विजय हासिल गर्नुपर्दछ । आठ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रुपमा मनाउने घोषणा दोश्रो अन्तर्राष्ट्रिय समाजवादी महिला सम्मेलनमा कमरेड क्लारा जेटकिनको पहलमा गरिएको थियो । यो सम्मेलन २६–२७ अगस्त १९१० को कोपेनहेगनमा आयोजना गरिएको थियो । जसमा १७ देशका १०० प्रतिनिधिहरुले भाग लिएका थिए । तबदेखि विश्वभरका श्रमिक महिलाहरुले आठ मार्चको दिनलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रुपमा मनाउँदै आइरहेको देखिन्छ । प्रथम विश्वयुद्धको दौरान आठ मार्चलाई रुसका मेहनतकश महिलाहरुले कारखानामा हडताल गरेर युद्धको विरुद्धमा प्रदर्शन गरेका थिए । हजारौँ महिलाहरुले सडकमा उत्रेर नाराहरु लगाएका थिए ‘हामीलाई रोटी र शान्ति चाहिएको छ, जनतालाई बर्बाद पार्ने युद्ध चाहिएको छैन् ।’
आठ मार्च अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस हो, जसलाई विश्वभरका श्रमिक महिलाहरुले विभिन्न कार्यक्रम गरि मनाउने ंगर्दछन् । यसको इतिहासको बारेमा कमैले मात्र जानकारी लिने गरिएको पाइन्छ । सन् १९०८ मा अमेरिकामा कपडा कारखानामा काम गर्ने महिला मजदुरहरुद्वारा कामको अवस्थाको बारेमा सुधार कामको घन्टालाई कम गर्ने र उचित ज्याला पाउनु पर्ने जस्ता मागहरू लिएर हडताल गरे ।चौध हप्ताको यस लामो हडतालमा २० हजार महिला मजदुर सहभागी थिए । प्रहरीद्वारा गरिएको लगातारको दमनले यस ऐतिहासिक हडताललाई कुल्चिने काम गरियो । यस घटनाको यादमा दोश्रो कम्युनिस्ट अन्तर्राष्ट्रियले सन् १९१० मा आठ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रुपमा मनाउने निर्णयको शुरुवात ग¥यो । यसप्रकार यसदिनको इतिहास महिलाहरुको जुझारु संघर्षको परिणाम हो । जसलाई आत्मसात् गर्दै उनीहरूले आजको समयमा आफ्नो दासताको जन्जीर तोडने कामलाई पूरा गर्नुपर्ने छ । अहिलेको एक्काइसौँ शताब्दीको पूँजीवादले महिलालाई एक हातले अधिकार दिए जस्तो गरेको छ भने अर्को हातले पुनः खोसेको छ । पूँजीवादले महिलाहरुलाई किनबेचको वस्तु बनाइरहेको छ । सुन्दरी प्रतियोगिता यसको एउटा ज्वलन्त उदाहरण हो । महिला विज्ञापन, फेसन र सौन्दर्यको साधन बनेकी छन् । महिलालाई शृङ्गार पटारतिर भुलाइएको छ । महिलाको लागि मात्र भनेर विभिन्न डिजाइनका छोटा कपडाहरुको उत्पादन गरिएको पाइन्छ । विभिन्न वस्तुहरुमा महिलाको फोटो राखेर सामानको विज्ञापन गरिन्छ । पूँजीवादको यो हर्कतलाई श्रमिक महिलाहरूले सही ढंगले बुझ्न अब ढिलाइ गर्नु हुँदैन ।
समाजवादमा मात्र महिलाहरुले विभिन्न प्रकारको शोषणबाट मुक्ति प्राप्त गर्दछन् । सेक्स टुरिज्म पूँजीवादको अभिन्न अंग बनेको छ ।महिलाहरूलाई जबर्जस्ती यौन व्यवसायमा धकेल्ने काम पूँजीवादले नै गरेको छ । समाजवादले मात्र महिलाहरुलाई सम्मान र इज्जत दिएको हुन्छ । महिलामाथिका सबै प्रकारका विभेदलाई अन्त्य गरिएको हुन्छ । सन् १९१७ को रुसको समाजवादी क्रान्तिपछि महिलाहरूलाई वेश्यावृत्तिबाट मुक्त गरि काम गर्न कारखानामा पठाइएको थियो र वेश्यावृत्तिलाई गैरकानुनी घोषणा गरिएको थियो । रूस मात्र संसारको एउटा मात्र यस्तो पहिलो देश थियो । जहाँ महिलाहरुमाथि हुने सबै प्रकारका शोषण, अन्याय र भेदभावहरुको अन्त्य गरिएको थियो । सोभियत संघ रुसले थुप्रै महिला वैज्ञानिकहरु उत्पादन गरेको थियोे । राज्यले महिलाहरुको प्रतिभालाई प्रोत्साहन गरिरहेको हुन्थ्यो । एनजीओ र आइएनजीओहरुले पनि आठ मार्चलाई औपचारिकताको लागि भए पनि मनाउने गरिएको पाइन्छ । तर उनीहरूलाई उक्त दिवस मनाउने अधिकार छैन । किनभने एनजीओ र आइएनजीओहरु पूँजीवादका सेफ्टी वल्व हुन् । गैरसरकारी संस्थाहरुले जनतामा भ्रम सिर्जना गर्नुबाहेक अरु काम जान्दैनन् । जनताको आलोचनात्मक चेतनालाई मत्थर पार्ने काम गैससहरुले नै गर्दछन् । गैसस जनताको क्रान्तिकारी चेतनालाई ध्वस्त पार्नको लागि योजनाबद्ध रुपमा निर्माण गरिएको एउटा हतियार हो । जसले मानिसहरूको सिर्जनशील सोचलाई भुत्ते बनाइदिन्छ ।
संसदीय पूँजीवादको घेराभित्र बसेर महिला मुक्ति सम्भव हुँदैन । त्यसको लागि संसदीय पूँजीवादको घेरालाई तोड्न जरुरी छ । त्यसका लागि उत्पीडित वर्गको संगठित संघर्षभन्दा अर्को विकल्प छैन । मतदानको बाटो एउटा सुधारवादी बाटो हो । जहाँ उत्पीडित वर्गलाई रनभुल्लमा पार्ने काम हुन्छ । शोषक वर्गको राज्यसत्तामा शोषित वर्गले सम्मानपूर्वक बाँच्न पाउने भन्ने कुरा एउटा हवाई कल्पना मात्र हो । अब श्रमिक वर्गले आफ्नो अधिकार कसरी पाउने भन्ने कुरामा नयाँ ढंगले सोच्ने हो कि ।









प्रतिक्रिया दिनुहोस्