कैलालीबाट सुरू भयो ‘ग्रासरुट टू ग्लोरी’ अभियान



कैलाली ।

आगामी दश वर्षमा नेपाललाई क्रिकेट विश्वकप दिलाउने उद्देश्यसहित क्रिकेटको सहर कैलालीबाट ‘च्याम्पियन्स ३६– ग्रासरुट टू ग्लोरी’ अभियान सुरु भएको छ । सन् २०३६ मा टी२० विश्वकप क्रिकेट उपाधि उचाल्ने खेलाडीहरू तयार गर्ने उदेश्यसहित गो ड्रीमर्सले उक्त अभियानको सुरुवात गरेको छ ।

सुरुवाती चरणमा उक्त अभियानअन्तर्गत गो ड्रीमर्स र ऐश्वर्य विद्या निकेतनबीच १० वर्षे रणनीतिक सहकार्य घोषणासमेत भएको छ । ऐश्वर्य विद्या निकेतनका प्राचार्य सञ्जय पन्त र गो ड्रीमर्सका अध्यक्ष सुवाश शाहीले दशवर्षे सम्झौतापत्रमा हस्ताक्षर गर्दै उक्त अभियानको सुरुवात गरे । ‘यस अभियानले आधारभूत तहबाटै प्रतिभाशाली युवा क्रिकेट खेलाडी उत्पादन गरी सन् २०३६ सम्म नेपाललाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी र विश्वस्तरीय टोलीका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ,’ शाहीले भने, ‘आज सुरुवात भएको छ । यसलाई देशभरि नै अभियानका रूपमा सञ्चालन गरिनेछ ।’

कैलालीमा एकातिर फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्रामको इआईएसमेत सम्पन्न भई निर्माणको चरणमा अघि बढिसकेको अवस्थामा सुरु भएको यस अभियानलाई अर्थपूर्ण रूपमा हेरिएको छ । पूर्वाधारसँगै दक्ष खेलाडीहरू समेत सँगसँगै उत्पादन गर्नु अभियानको उद्देश्य रहेको शाहीले बताए ।

प्रदेशभरि खेल विकास कार्यक्रम सञ्चालन गर्दै आएको गो ड्रीमर्स युवा पतिभा पहिचान र विकासमा सक्रिय संस्था हो । नेपाल सुपर लिगको प्रमुख क्लब कैलाली एफसी गो ड्रीमर्सकै स्वामित्वमा रहेको छ । यसका साथै, गो ड्रीमर्स प्रतिष्ठित अर्जुन ट्रफीको आयोजक संस्था पनि हो । यसअघि कैलाली उपमहानगरपालिकासँगको सहकार्यमा गो डिमर्सले कैलालीको फुलबारी र जुगेडामा पनि ग्रासरुट लेभल क्रिकेट परियोजना सञ्चालन छ ।

कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै ऐश्वर्य विद्या निकेतनका अध्यक्ष तथा पूर्वनगरप्रमुख निर्पबहादुर वडले सबै सरोकारवाला निकाय, अभिभावक, प्रशिक्षक तथा खेलाडीहरूलाई एकजुट भएर अभियानलाई सफल बनाउन आह्वान गरे । उनले सुदूरपश्चिमको खेल इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित अघि बढिएको यो पहलले भविष्यमा राष्ट्रिय गौरवको विषय बन्ने विश्वास व्यक्त गरे ।

‘दश वर्षमा विश्वकप जित्न सक्ने लक्ष्यका साथ योग्य खेलाडी उत्पादन गर्ने दीर्घकालीन लक्ष्यसहित यो अभियान सुरु गरिएको छ,’ वडले भने, ‘यो अभियान केवल प्रतिस्पर्धामा सहभागिता जनाउने उद्देश्यले मात्र नभई समग्र खेल संस्कृतिको विकास, अनुशासन, नेतृत्व क्षमता र स्वस्थ जीवनशैली प्रवद्र्धन गर्ने उद्देश्यमा पनि खरो उत्रने विश्वास व्यक्त गर्दछु ।’ ऐश्वर्य विद्या निकेतन सुदूरपश्चिमकै प्रतिष्ठित र गौरवशाली शैक्षिक इतिहास बोकेको संस्था हो ।

शैक्षिक उत्कृष्टता, सुदृढ पूर्वाधार तथा विद्यार्थीहरूको रोजाइका कारण विद्यालय देशव्यापी रूपमा परिचित छ । हजारौँ विद्यार्थीको भविष्य निर्माणमा भूमिका निर्वाह गर्दै आएको यस संस्थाले अब खेल विकासमार्फत पनि युवा सशक्तीकरणमा योगदान पु¥याउने प्राचार्य सञ्जय पन्तले बताए । ‘सुदूरपश्चिम प्रदेश क्रिकेटको उर्बरभूमि हो । यहाँ आयोजना हुने साना–ठूला प्रतियोगितामा दर्शकको उल्लेख्य उपस्थितिले यस क्षेत्रको क्रिकेट क्रेज प्रस्ट पार्छ,’ प्राचार्य पन्तले भने, ‘पहिलो पटक अक्सन प्रणालीमार्फत फ्रेन्चाइजी क्रिकेटको सुरुवातसहित क्रिकेटको व्यवसायिक विकास भएको यस भूमिबाट नै हामीले दश वर्षको विश्वकप उचाल्ने सपनाको बीउ रोप्न लाग्दा निकै हर्षित छौँ ।’

घोषित अभियानअन्तर्गत विद्यालय तथा समुदायस्तरबाट क्रिकेट प्रतिभा खोजी तथा छनोट प्रक्रिया सुरु गरिनेछ । नियमित ट्रायल, अन्तरविद्यालय प्रतियोगिता तथा विशेष छनोट कार्यक्रममार्फत सम्भावनाशील खेलाडी पहिचान गरिनेछ । छनोट भएका खेलाडीलाई व्यवस्थित र व्यावसायिक प्रशिक्षण प्रदान गरिनेछ, जसमा नेपाल क्रिकेट संघबाट विभिन्न स्तर पार गरेका प्रशिक्षक तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभव भएका खेलाडीहरूको सहभागिता रहने जनाइएको छ ।

प्रशिक्षण कार्यक्रमअन्तर्गत प्राविधिक सीप विकास, खेल रणनीति, फिटनेस, मानसिक सुदृढता, दबाब व्यवस्थापन, अनुशासन, टीमवर्क र नेतृत्व विकासलाई प्राथमिकता दिइनेछ । खेलाडीलाई आधुनिक प्रशिक्षण प्रणाली, प्रदर्शन विश्लेषण तथा चरणबद्ध विकास मोडेलमार्फत दीर्घकालीन रूपमा तयार गरिने योजना छ ।

खेलाडीहरूलाई ‘म्याच एक्सपोजर’ दिन नेपालभित्र विभिन्न स्तरका प्रतियोगितामा नियमित सहभागिता गराइनुका साथै भारतका प्रतिष्ठित क्रिकेट एकेडेमी र प्रतियोगितामा प्रशिक्षण तथा मैत्रीपूर्ण खेलको अवसर उपलब्ध गराइनेछ । आवश्यकताअनुसार अन्य क्रिकेट राष्ट्रहरूमा समेत प्रशिक्षण क्याम्प तथा अन्तर्राष्ट्रिय भ्रमणको व्यवस्था गरिने र आमन्त्रण गरिने पनि जानकारी दिइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन १२ गते मंगलबार