यस्तो रहयो सुदूरपश्चिममा जेनजी आन्दोलन



शेरबहादुर ऐर । धनगढी ।

सुदूरपश्चिम प्रदेशको धनगढी उप–महानगरपालिका क्याम्पस रोड हुँदै मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसम्म नाराबाजीसहित सडकमा उत्रिए । सोमबार सरकारको दमनमा परी मारिएका जेनजी समुहहरुका प्रदर्शनकारीहरुले न्याय पाउनुपर्ने मागसहित सडकमा शान्तिपूर्ण ढंगमा नाराबाजी गरिरहेका उनीहरु विस्तारै उग्र बन्यो । बिहान १० बजेसम्म नाराबाजीमात्र गरिरहेका उनीहरुले मुख्यमन्त्री कार्यालयमा ढुङ्गा प्रहारसहित तोडफोडमा आए । समूहहरु मुख्यमन्त्री कार्यालयभित्र छिरेर गाडीमाथि तोडफोड गरे ।

मंगलबार बिहानैदेखि विभिन्न समूह बनाएर प्रदर्शनमा उत्रिएका जेनजी पुस्ताका युवाहरुको आक्रोश नियन्त्रण बाहिर गएपछि धनगढीको अवस्था जटिल बन्यो । सयौँको संख्यामा प्रदर्शनमा सहभागी जेनजीले पार्टी कार्यालय, सरकारी कार्यालय र सवारीसाधनमाथि आगजनी गरिरहेका छन् । प्रदेशको मुख्ययमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय नियन्त्रणमा लिएर तोडफोड सुरु गरेका उनीहरुले सरकारी कार्यालय निसाना बनाएका हुन् । उनीहरुले प्रदेश प्रमुखको कार्यालयमा आगो लगाउदै दुई वटा गाडी समेत जलाए ।

धनगढीकै टेम्पल रिसोर्टमा पार्किङ गरिएका आधा दर्जन सरकारी गाडीमा आगजनी गरियो । प्रदर्शनकारीहरुले सुदूरपश्चिम प्रदेश सभा सचिवालयको भवनमा प्रवेश गरेर त्यहाँ समेत आगो लगाइदिएका छन् भने मोटरसाइकल,फर्निचर लगायतका सामान जलाएका छन् । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय,उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालय,भौतिक पुर्वाधार मन्त्रालय,आर्थिक मामिला तथा कानुन मन्त्रालय,भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा आगजनी गरेका छन् ।

धनगढीमा उनीहरुले प्रदेश सरकार मातहत रहेका मन्त्रालय र निकायमात्र नभई संघीय सरकार मातहत रहेका कार्यालयहरुमापनि उनीहरु आगजानी गर्न पुगेका हुन् । सत्ता गठबन्धन दलदेखि रुष्टता युवा समूहहरुको आन्दोलन धनगढीमै सीमित बनेन । उनीहरु स्थानीय तहमा पनि आगजनी र तोडफोड गरेका छन् । कैलालीको गोदावरी नगरपालिका,गौरीगंगा नगरपालिका,घोडाघोडी नगरपालिका,लम्की चुहा नगरपालिका लगायतको भवन र सवारीमा आगजनी गरेका छन् ।

आक्रोशित जेनजीहरुले छानीछानी सरकारी कार्यालयमा तोडफोड र आगजनी गरेपनि सुरक्षाकर्मीले भने मुखदर्शक भएर हेर्न बाहेक नियन्त्रणमा लिन सकेको अवस्था छैन । जिल्ला प्रशासन कार्यालयले दिउँसो साढे १२ बजेदेखि कफ्र्यु आदेश जारी गरेको भएपनि त्यसको बेवास्ता गरिएको छ । कफ्र्यु आदेशबीच प्रदर्शन भइरहेको थियो । उनीहरुले धनगढी चौराहा सरकारी मोटरसाइकल पनि जलाएका छन् ।

भन्सारदेखि प्रशासनसम्म तोडफोड

अहिलेपनि सरकारी कार्यालयहरु प्रविधिमा जान सकेको छैन । आम सेवाग्राहीहरुले अहिलेपनि भन्सार कार्यालय,मालपोत कार्यालय,नापी कार्यालय,जिल्ला प्रशासनमा कागजपत्रकै आधारमा सेवा लिनुपर्ने अवस्था रहेको छ । शान्तिपूर्ण प्रदर्शनीमा उत्रिएका उनीहरु मंगलबार प्रदेश सरकार र स्थानीय तहका कार्यालयमा मात्र नभई कागजपत्र सुरक्षित राख्नुपर्ने कार्यालयमा तोडफोड र आगजनी गरेका छन् । उनीहरुले धनगढीस्थित जिल्ला प्रशासन कार्यालय,भन्सार कार्यालय,आन्तरिक राजश्व कार्यालय, नापी कार्यालय,मालपोत कार्यालय लगायतमा आगजनी र तोडफोड गरेका हुन् । जसका कारण त्यहाँ रहेका सेवाग्राहीका दस्तावेजहरुपनि नष्ट हुन सक्ने कार्यालयहरु बताउँछन ।

धनगढी उपमहानगरपालिकाको संरचना जोगियो

स्थानीय तह,प्रदेश र संघीय सरकार मातहत रहेका कार्यालयमा तोडफोड गरेको जेनजी समूहहरुले धनगढीभित्र रोपिएका बोटविरुवा र भौतिक संरचनामा क्षति पु¥याएपनि भएपनि धनगढी उपमहानगरपालिकाको कार्यालयमा कुनैपनि क्षति पु¥याएनन् । धनगढी नगर प्रमुख गोपाल हमालले जेन–जीको आन्दोलनमा आफनो समर्थन रहेका्रअभिव्यक्ति सार्वजनिक गरेसंगै उपमहानगरपालिकाको कार्यालय र सवारी साधनमा न तोडफोड भयो । न त कुनै आगजनी भयो ।

तीन दलका कार्यालयमा आगजनी

धनगढीमा सुरुमा प्रदेशको मुख्यमन्त्री कार्यालयमा प्रदर्शनी गरेको जेनजी समूहहरुले तीन दलका कार्यालयमा आगजनी गरेका छन् । धनगढीस्थित नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र र नेकपा एमाले कार्यालयमा आगजनी गरेका हुन । केपी ओली र शेरबहादुर देउवाविरुद्ध नाराबाजी गर्दै उनीहरुले पार्टी कार्यालयमा आगजनी गर्दा त्यहाँ सटर भाडामा लिई पसल सञ्चालन गरेका व्यवसायीहरुलाई मार परेको छ ।

देउवा निवास र प्रदेश सभा सदस्यहरुको घरमा आगजनी

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको कैलालीको धनगढीस्थित घरमा जेनजी प्रदर्शनकारी प्रवेश गरेका थिए । धनगढी उपमहानगरपालिका–४ मा रहेको घरमा प्रदर्शनकारी प्रवेश गरेका हुन् । उनीहरुले त्यहाँ ढुंगामुढा गरेका छन् भने आगोपनि लगाइएको छ । देउवाको उक्त घरमा अहिले मर्मतको काम चलिरहेको छ । सो घरमा सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा नेपाली काँग्रेसका नेता प्रकाश देउवा बस्दै आएका थिए । तर,अहिले मर्मत भइरहेकोले उनी अहिले त्यहाँ बस्दैनन ।

आन्दोलनरत जेनजी समूहले संघीय सरकारका पूर्वमन्त्री तथा एमाले सुदूरपश्चिमका इञ्चार्ज लेखराज भट्टको घरमा आगजनी गरेको छ । कैलालीको अत्तरियास्थित घरमा प्रदर्शनकारीले आगजनी गरेका हुन् । पूर्वगृहमन्त्री रमेश लेखकको घरमा पनि तोडफोड गरिएको छ । जेनजी समूहका युवा विद्यार्थीले सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलको घरमा तोडफोड र आगजनी गरेका छन् । भीमदत्त नगरपालिका–६, ऐठपुरस्थित पूर्वमुख्यमन्त्री रावलको घरमा आगजनी र तोडफोड गरेका हुन् ।आन्दोलनकारीले भित्रै पसेर सामान तोडफोड गर्दै नाराबाजी गरेका थिए । प्रशासनले निषेधाज्ञा जारी गरेपछि आन्दोलनकारीले रावलको घरमा तोडफोड गरेका हुन् ।

कैलाली र कञ्चनपुरबाहेक अन्य जिल्लामा प्रदर्शनी

जेनजी समूहले सुरु गरेको प्रदर्शनबाट कैलाली र कञ्चनपुरमा बढी क्षति भएको छ । कैलालीमा रहेका स्थानीय तह र प्रदेश सरकारका संरचनामा क्षति पुगेको छ भने अन्य जिल्लामा तीन दलको कार्यालयमा आगजनी र तोडफोड गरिएको छ । शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामापनि दिनभर प्रदर्शन गरिएको छ । जिल्ला प्रशासन कार्यालय घेराउ गरेका त्यहाँका प्रदर्शनकारीले सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरुले एमाले पार्टी कार्यालयमा पनि तोडफोड गरेका हुन् ।

उता, दार्चुलामा पनि पार्टी कार्यालयमा तोडफोड र आगजनी गरिएको छ । कञ्चनपुरपनि बिहानैदेखि अशान्त बन्यो । प्रमुख जिल्ला अधिकारीले त्यहाँ निषेधाज्ञा जारी गरेका छन् । त्यहाँ पार्टी कार्यालय र सरकारी कार्यालयमा आगजनी गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको प्रवेशद्धारमासमेत तोडफोड गरिएको छ ।

भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखक जोशीको घरमा पनि तोडफोडपछि आन्दोलनकारीले नगरप्रमुख पदम बोगटीको घरमा पनि तोडफोड गरेका हुन् । डोटीमा नेकपा एमाले र काग्रेसको पार्टी कार्यलयमा तोडफोड र आगजनी, दिपायल सिलगढी नगरपालिकाको नगरबसमा आगजनी, भेटनरी कार्यालयमा तोडफोड भएको छ ।सुदूरपश्चिमका अन्य जिल्लामा पनि भ्रष्टाचार, वेथिति र सामाजिक सञ्जालमाथिको प्रतिबन्दविरुद्व आन्दोलन भएको छ ।

कैलाली कारागारबाट निस्किए सबै कैदी बन्दी

कैलाली कारागारका सबै कैदी बन्दी निस्किएका छन् । आन्दोलनमा उत्रिएका जेनजीसहितका प्रदर्शनकारीले कारागार कब्जा गरेपछि उनीहरू निस्किएका हुन् । यो कारागारमा केही समयअघि मात्रै दुई समूहबीच झडप भएको थियो । त्यतिबेला पनि कैदीबन्दीले नियन्त्रणमा लिएका थिए।

स्थानीय तह प्रमुखपनि राजिनामा दिँदै

जेनजी आन्दोलनपछि कैलालीका स्थानीय तहका प्रमुखले समर्थन जनाउँदै पदबाट राजीनामा दिन लागेका छन् । जेनजी आन्दोलनको समर्थन जनाउँदै कैलालीको टिकापुर नगरपालिका प्रमुख रामलाल डंगौरा थारुले पदबाट राजीनामा दिएका हुन् । नागरिक उन्मुक्ति पार्टीबाट २०७९ सालको निर्वाचनमा नगर प्रमुखमा निर्वाचित भएका थारुले पदबाट राजीनामा दिएपछि टिकापुर नगर प्रमुखविहस्न बन्न पुगेको छ ।

धनगढीमा युवाले मागे मुख्यमन्त्रीको राजीनामा

धनगढीमा जारी युवाहरूको आन्दोलनमा मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा मागिएको छ । आन्दोलनमा उत्रिएका युवाहरूले प्रदेश सरकारले भ्रष्टाचार संस्थागत गरेको भन्दै राजीनामा मागेका हुन । केन्द्रमा संघीय सरकारले भ्रष्टाचार गरेको तथा प्रदेशमा प्रदेश सरकार भ्रष्टाचारको अखडा रहेको युवाहरूको आरोप लगाएका छन् । धनगढीका युवाहरूले प्रधानमन्त्री केपी शर्मा ओली र सुदूरपश्चिमका मुख्यमन्त्रीले एकैपटक राजीनामा दिनुपर्ने बताएका हुन् ।

घाइतेको उपचार धनगढीले गर्ने

धनगढी उपमहानगरपालिकाले जेनजी आन्दोलनको क्रममा घाइते भएका नागरिकको उपचार गर्ने भएको छ । उपमहानगरले काठमाडौं लगायत देशका विभिन्न स्थानमा भएको आन्दोलनमा घाइते भएका धनगढीका स्थानीयको निशुल्क उपचार गर्ने जनाएको छ । नगरप्रमुख गोपाल हमालले धनगढीका नागरिकको उपचार गर्ने दायित्व स्थानीय सरकारको भएको भन्दै आन्दोलनमा घाइते भएका नगरवासीको उपचार गरिने घोषणा गरेका छन् ।

कैलालीको धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय अगाडि जेन–जी समुहमाथि प्रदर्शनीका क्रममा सुरक्षाकर्मीबाट प्रहार अश्रुग्याँसबाट घाइते भएकाहरुको सारथी अस्पतालले निशुल्क उपचार गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आगजनी गर्न पुगेका प्रदर्शनकर्मीमाथि सुरक्षाकर्मीले अश्रुग्याँस फयाकेर रोक्ने क्रममा घाइते भएका युवाहरुको अस्पतालले निशुल्क उपचार गरेको हो ।

जेनजीको आक्रोश ः गणतन्त्रका नाममा लुटतन्त्र मच्चाइयो 

मुलुकमा बढ्दो भ्रष्टाचार, बेथिति र सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको भन्दै जेनेरेसन जी (जेनजी) पुस्ताले सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमापनि सशक्त प्रदर्शन गरेको छ । सोमबार युवाहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र जिल्ला प्रशासन कार्यालय अगाडि भेला भएर संघीय तथा प्रदेश सरकारविरुद्ध चर्को नाराबाजी गरेका हुन् ।‘गणतन्त्र र समाजवादका नाममा लुटतन्त्र’ चलाइएको भन्दै आक्रोशित युवाहरूले प्रधानमन्त्री र मुख्यमन्त्रीविरुद्ध नाराबाजी गर्दै तत्काल भ्रष्ट प्रणाली अन्त्यको माग गरेका हुन् ।

कुनै राजनीतिक दलको ब्यानर बिना स्वतन्त्र रूपमा सडकमा उत्रिएका उनीहरूले देशमा नेता र तीनका आसेपासेले राज्यको दोहन गरेको र युवाहरूलाई बिदेसिन बाध्य पारेको आरोप लगाएका छन् । प्रदर्शनको मुख्य कारणहरूमध्ये एक सरकारले हालै गरेको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयपनि हो । भ्रष्टाचारका काण्डहरू बाहिर आउन थालेपछि नागरिकको आवाज दबाउन सरकारले यस्तो कदम चालेको प्रदर्शनकारीहरूको आरोप छ ।

‘भ्रष्टाचार विरुद्धका अनेक काण्ड बाहिर आउन थालेपछि नागरिकको आवाज रोक्न सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो,’ कैलालीको बौनियाका वसन्त राज जैसीले भने, ‘हामी सरकारमा बसेर गरिने अत्याचार र बेथितिलाई हेरेर बस्ने पक्षमा छैनौँ ।’ बैतडीको पाटनका युवा राजेश चन्दले सरकारले सामाजिक सञ्जाल बन्दको निर्णय तत्काल फिर्ता लिनुपर्ने माग गरे ।‘सरकारले सामाजिक सञ्जाल बन्द गरेर जनताको आवाज थुन्न खोजेको छ,’ उनले भने, ‘भ्रष्टाचार नियन्त्रण गर्नुपर्नेमा सरकारले जनताको आवाज थुन्ने बाटो समातेको छ ।’

प्रदर्शनमा सहभागी युवाहरूले देशका नेताहरू भ्रष्ट भएको र उनीहरूले आफ्ना र आफ्ना मान्छेका लागि मात्र अकुत सम्पत्ति आर्जन गरेको आरोप लगाएका छन् । ‘नेताहरूले आफ्ना सन्तानका लागि मात्रै धन आर्जन गर्ने काम गरे,’ आन्दोलनमा भेटिएकी उषा मालाकारले आक्रोश पोखिन् । नेताहरूले युवाहरूलाई विदेश लखेट्ने वातावरण बनाएको भन्दै उनीहरूले समग्र राजनीतिक प्रणालीप्रति नै असन्तुष्टि व्यक्त गरेका छन् । बझाङका प्रकाशकुमार ढाँटले नेताहरूले गणतन्त्र र समाजवादको नाममा ‘लुटतन्त्र’ चलाएको टिप्पणी गरे ।‘देशमा अहिले गणतन्त्र र समाजवादको नाममा लुट्ने काम भएको छ । युवाहरूले देशमा बसेर काम गर्ने अवस्था छैन,’ उनले भने, ‘अहिलेकै अवस्थामा सरकारमा जो आए पनि भ्रष्टाचार नियन्त्रण हुँदैन । सिस्टम नै भ्रष्ट भयो ।’

यो भावना प्रदर्शनमा सहभागी अधिकांश युवाको थियो । विद्यालयको पोसाकमै रहेका ‘समन्वय’ नामका एक युवाले पनि भ्रष्टाचार विरुद्ध सबैले आवाज उठाउनुपर्ने र सरकारका गलत कदम विरुद्ध खबरदारी गर्नुपर्ने बताए । प्रदर्शन अहिले तत्कालको आक्रोश मात्र नभएर भविष्यको राजनीतिक परिवर्तनको सङ्केत पनि भएको युवाहरूले बताएका छन् । उनीहरूले पुराना राजनीतिक दलहरूलाई आगामी निर्वाचनमा जवाफ दिने चेतावनी दिएका छन् । ‘सरकार र पुराना दलहरूले अत्याचार गरे अब युवाहरूले देशको नेतृत्व गर्नुपर्छ,’ राजेश चन्दले भने, ‘हामीले यी पार्टीहरूलाई २०८४ मा हिसाब गर्ने र स्वतन्त्र युवाहरूले सत्तामा आउनुपर्ने कुरा सोच्न थालेका छौँ ।’ सोमवार धनगढीका दुई स्थानमा भएको प्रदर्शन शान्तिपूर्ण रहेको थियो । युवाहरूको यो स्वतन्त्र र संगठित आन्दोलनले देशव्यापी रूपमा भ्रष्टाचार र कुशासनविरुद्ध एक नयाँ उभार ल्याएको देखिन्छ, जसले स्थापित राजनीतिक शक्तिलाई गम्भीर चुनौती दिएको छ ।

 

 

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ २५ गते बुधबार