नन्दराम जैशी । सुर्खेत ।
दैलेख निर्वाचन क्षेत्र नम्बर–२ विगतका निर्वाचन परिणाम हेर्दा नेपाली कम्युनिस्ट पार्टी तथा तत्कालीन नेकपा माओवादी केन्द्रका लागि अझैसम्म ‘अनटेस्टेड’ क्षेत्रकै रूपमा चिनिँदै आएको छ । स्थानीय तहदेखि प्रदेश र प्रतिनिधिसभासम्म माओवादीले यहाँ जित निकाल्न सकेको छैन ।
२०७९ को स्थानीय तह निर्वाचनमा क्षेत्र नम्बर–१ मा दुई स्थानीय तह जिते पनि क्षेत्र नम्बर–२ मा भने माओवादीको खासै पकड छैन ।
२०५१ सालभन्दा अघि यहाँ नेपाल मजदुर किसान पार्टी र नेपाली काँग्रेसबीच प्रतिस्पर्धा हुने गथ्र्यो । त्यसपछिका निर्वाचनमा भन नेकपा एमाले र काँग्रेसबीच मुख्य प्रतिस्पर्धा हुँदै आएको छ । २०६० को दशकपछि यो क्षेत्र एमालेको बलियो आधार क्षेत्रका रूपमा पनि विकसित भयो । तर २०७९ को प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनको बलमा काँग्रेसका दीक्पालकुमार शाही विजयी हुँदै एमालेको लामो समयदेखिको पकड तोड्न सफल भए ।
करिब तीन दशकसम्म काँग्रेस–एमालेले पालैपालो चुनावी मैदान बनाएको यस क्षेत्रमा अहिले दुवै दल असुरक्षित महसुस गरिरहेका छन् ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि यो क्षेत्रमा ११ जना उम्मेदवार चुनावी मैदानमा छन् । तर मुख्य प्रतिस्पर्धा एमाले, काँग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच त्रिपक्षीय हुने देखिएको छ । त्यसमाथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले परम्परागत दलहरूको मत काट्न सक्ने आंकलन गरिएको छ ।
काँग्रेसबाट निवर्तमान सांसद दीक्पाल शाही पुनः उम्मेदवार बनेका छन् भने एमालेले लक्ष्मीप्रसाद पोखरेललाई अघि सारेको छ । नेकपाबाट योगेन्द्रबहादुर शाही चुनावी मैदानमा छन् भने रास्वपाबाट बखतबहादुर शाही उम्मेदवार छन् । अन्य उम्मेदवारको तुलनामा यी चार उम्मेदवारको सामाजिक पहुँच, शैक्षिक पृष्ठभूमि र राजनीतिक सक्रियता फरक–फरक भएकाले प्रतिस्पर्धा कडा र रोचक हुने अनुमान गरिएको छ ।
एमाले र काँग्रेसले पुनः पुरानै अनुहारलाई अघि सार्दा नेकपा र रास्वपाले भने बौद्धिक पृष्ठभूमि तथा प्राविधिक क्षेत्रमा अनुभव भएका उम्मेदवार उतारेका छन् । विशेषगरी इन्जिनियरिङ र व्यवस्थापन पृष्ठभूमिका उम्मेदवार मैदानमा उत्रिएपछि युवा मतदाता आकर्षित हुने सम्भावना देखिएको छ । स्थानीय मतदाताहरूका अनुसार यसपटक विकास, रोजगारी, सडक पूर्वाधार, खानेपानी र स्वास्थ्य सेवा मुख्य चुनावी एजेन्डा बनेका छन् ।
वैदेशिक रोजगारीमा गएका युवाको सङ्ख्या उच्च भएकाले रोजगारी सिर्जना र लगानी भित्र्याउने योजनाले मत प्रभावित पार्न सक्ने विश्लेषण गरिएको छ । तर एमालेको परम्परागत संगठनात्मक संरचना अझै बलियो रहेकाले मत विभाजन भएमा परिणाम फेरिन सक्ने आंकलन छ । त्यस्तै नेकपा र रास्वपाले उल्लेख्य मत पाए पुराना दलको जितको अंकगणित बिग्रिन सक्ने देखिन्छ । यसरी हेर्दा दैलेख–२ मा यसपटकको चुनाव केवल पुराना दलबीचको प्रतिस्पर्धा मात्र नभई नयाँ शक्ति र पुरानो आधारबीचको परीक्षणका रूपमा समेत हेरिएको छ । मत परिणामले आगामी दिनमा जिल्लाको राजनीतिक शक्ति सन्तुलन निर्धारण गर्ने निश्चित छ ।
मुख्य चार प्रतिस्पर्धीको पृष्ठभूमि
काँग्रेस उम्मेदवार शाहीले यसअघि ०७९ को निर्वाचनमा यही क्षेत्रबाट एमालेका लक्ष्मीप्रसाद पोखरेललाई वाम–लोकतान्त्रिक गठबन्धनको बलमा पराजित गरेका थिए । यस पटक पनि एमालेले उनै लक्ष्मीप्रसाद पोखरेललाई पुनः चुनावी मैदानमा उतारेको छ । एमालेका पोखरेल पुराना अनुभवी नेता हुन्, पहिलो पटक ०५६ सालमा मालेबाट चुनाव लडेका उनले दुई हजार ७१२ मतसहित चौथो स्थान पाएक थिए ।
त्यसपछि एमालेमै फर्किएका उनी ०७० को दोस्रो संविधानसभा चुनावमा १५ हजार ६१९ मतसहित निर्वाचित भए । ०७९ मा पुनः टिकट पाएका उनले १६७ मतान्तरले काँग्रेसका शाहीसँग पराजय भोगे । उनी दैलेखमा संघर्षशील र इमानदार नेताकै रूपमा गनिन्छन्, तर उनलाई यो पटक सबैभन्दा डर बाह्यसँगै आन्तरिकको पनि छ । उम्मेदवार छनोटका क्रममा भएको प्रतिस्पर्धाका एक नम्बरमा विष्णु रिजालले भोट पाए पनि दोस्रोमा भएका पोखरेलले टिकट पाउनुलाई रिजाल पक्षले चित्त दुखाउका छन् ।
सांगठनिक र एकताबद्ध रूपमा नेताहरूको साथ पाएको खण्डमा चुनाव आफूले जित्ने उनको दाबी छ । उनले यसअघि संविधानसभा सदस्य हुँदा धेरै विकासे आयोजना पनि अघि बढाएका थिए । उक्त क्षेत्रमा काँग्रेसका धेरैजसो आकांक्षी भए पनि विशेष महाधिवेशनमा खुलेपछि काँग्रेस सभापति गगनकुमार थापाले दीक्पाल शाहीलाई टिकट दिएका थिए । उनी पार्टीको केन्द्रीय सदस्य पनि बनेका छन् ।
विशेषतर्फ खुल्नुको फाइदा उठाए पनि शाहीलाई आन्तरिक पक्ष मिलाउन निकै हम्मे पर्ने देखिएको छ । यहाँ यसअघि देउवा पक्षकी सीता राना केन्द्रीय सदस्य थिइन्, उनी प्रत्यक्ष चुनाव लड्न चाहन्थिन्, तर उनी विशेषतर्फ खुलिनन् । यस्तै साविक शेखर पक्षधर मानिने अधिकांश नेताहरू विशेषतर्फ खुलेका छैनन्, जसको प्रत्यक्ष प्रभाव चुनावमा पर्ने देखिन्छ ।
यसअघि सांसद हुँदा संसद्मा खासै नबोलेको जस्ता विषयले उनलाई यो चुनाव सजिलो छैन, तर उनले आफूले यसअघि सांसद हुँदा निर्वाचन क्षेत्रमा करोडौँ बजेटका योजना ल्याएको र तिनलाई पूरा गर्न आफू पुनः मैदानमा आएकाले आफूले नै जित्ने ‘ब्रिफिङ’ गर्दै आएका छन् ।
यता नेकपाबाट उम्मेदवार रहेका योगेन्द्रबहादुर शाही जवाहरलाल नेहरू विश्वविद्यालयबाट क्षेत्रीय विकासमा एमफिल गरेका उनी अहिले पनि विद्यावारिधि गर्दैछन् ।
कर्णाली योजना आयोगको सदस्य हुँदै उपाध्यक्ष भएर प्रदेशको रणनीतिक योजना निर्माण गरेको अनुभव उनीसँग छ । दैलेख–२ को विगत ४० वर्षको राजनीतिक इतिहास हेर्दा (०४८–०७९ सम्म) ७ वटा चुनावमध्ये ३ वटा प्रतिनिधिसभा चुनाव काँग्रेसले जितेको छ । एमालेले ३ र नेमकिपाले एक पटक चुनाव जितेको छ । उनको राजनीतिक पृष्ठभूमि एमाले नै हो । पञ्चायतविरोधी आन्दोलनमा सक्रिय उनी १८ वर्षकै उमेरमा सुर्खेत शिक्षा क्याम्पसको स्ववियु सभापति (०५१) भएर इतिहास रचेका थिए ।
एमालेको अर्थ तथा योजना विभाग सचिव भएर काम गरिसकेका उनी ओलीको स्वेच्छाचारी र निरंकुश कार्यशैलीका कारण एमाले परित्याग गरेको बताउँछन् । अन्तर्राष्ट्रिय राजनीतिक पार्टीहरूको सम्मेलनका लागि तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको राजनीतिक सल्लाहकारको भूमिका उनले निर्वाह गरेका थिए भने विश्व प्रजातान्त्रिक युवा संघको उपाध्यक्ष भएर विश्वका ६० बढी देशमा वक्ताको रूपमा सहभागी छन् ।
विगत लामो समय एमालेमा गरेको संघर्ष, योजना आयोगमा हुँदा गरेको काम र यसअघि पराजयको सहानूभूति यो चुनावमा पाउने उनले अपेक्षा गरेका छन् । त्यसैले चुनाव जितेर यो क्षेत्रमा नेकपाले इतिहास रच्ने उनको दाबी छ । तर अहिले रास्वपा उम्मेदवार बखतबहादुर शाहीले पनि पार्टीप्रति मतदाताको आकर्षणका कारण काँग्रेस–एमालेको राम्रै भोट काट्नसक्ने आंकलन गरिएको छ ।
उनले विगतका पुराना दलहरूले काम गर्न नसकेको र रास्वपा नै अहिलेको परिवर्तित शक्ति भएको बताएका छन् । रास्वपाप्रति बढ्दो आकर्षण र उनको इन्जिनियर पृष्टभूमिका कारण पनि उनी निर्वाचन जित्ने चुनौतीका साथ लागिपरेका छन् ।
तथ्यांकमा चुनावी विश्लेषण
दैलेख–२ को विगत ४० वर्षको राजनीतिक इतिहास हेर्दा (०४८–०७९ सम्म) ७ वटा चुनावमध्ये तीन वटा प्रतिनिधिसभा चुनाव काँग्रेसले जितेको छ । एमालेले तीन र नेमकिपाले एक पटक चुनाव जितेको छ । २०६० को दशकपछि कर्णालीका अन्य क्षेत्रमा माओवादीको उदय हुँदा यो क्षेत्रमा भने एमाले पहिलो शक्तिका रूपमा उदाएको थियो । त्यसको कारण, युद्धको समयमा ‘दुल्लु विद्रोह’ भएको थियो, जसको असरस्वरूप अहिलेसम्म पनि माओवादीले आफ्नो स्थान लिन सकेको छैन ।
पछिल्लो निर्वाचन २०७९ मा वाम–लोकतान्त्रिक गठबन्धन हुँदा काँग्रेसका दीक्पालकुमार शाहीले २० हजार १८३ मत पाएर निर्वाचित हुँदा एमालेका लक्ष्मीप्रसाद पोखरेलले २० हजार १६ मत ल्याएका थिए । उक्त चुनावमा नेमकिपाले तीन हजार मत ल्याउँदा रास्वपाले ७०० मत प्राप्त गरेको थियो । २०७९ मा दलहरूले पाएको समानुपातिक मत हेर्दा प्रत्यक्षमा पराजित एमालेले सबैभन्दा बढी १७ हजार ३१७, काँग्रेसले १५ हजार ५०४, तत्कालीन माओवादीले ६ हजार ३५४ मत पाएको छ ।
हाल माओवादी र नेकपा एकीकृत समाजवादी मिल्दा बनेको नेकपाको मत झण्डै साढे सात हजार पुगेको छ । यो क्षेत्रमा दुल्लु, चामुण्डाबिन्द्रासैनी र आठबिस नगरपालिका तथा भैरवी र ठाटीकाँध गाउँपालिका पर्दछन् । २०७९ को चुनावमा यहाँ तीन स्थानीय तह काँग्रेसले जितेको छ भने एउटामा एमालेले जितेको छ । तर अहिलेको चुनावलाई विगतमा दलहरूले पाएको मतलाई आधार मान्न नहुने विश्लेषकहरू बताउने गर्छन् । अहिले यो क्षेत्रमा नेकपा र रास्वपा, काँग्रेस–एमालेलाई चुनौती बन्ने देखिएको छ ।
यो क्षेत्रमा ८१ हजार ५०३ मतदाता सङ्ख्या छ । तर अहिले मत विगतभन्दा निकै न्यून मत खस्ने आंकलन छ । सबै दल एक्लाएक्लै चुनावी मैदानमा होमिँदा १५ हजार बढी मत ल्याउनेले चुनाव जित्ने सम्भावना देखिएको छ । सबै उम्मेदवारहरूले चुनाव जित्ने आआफ्नै दाबी गरे पनि मुख्यतया काँग्रेस, एमाले, नेकपा र रास्वपाबीच कडा प्रतिस्पर्धा हुनेछ ।









प्रतिक्रिया दिनुहोस्