अनुदान कटौती गरिएको भन्दै स्थानीय सरकारहरुको विरोध



देशभरका स्थानीय सरकारहरुले संघीय सरकारले वित्तीय समानीकरणको अनुदान कटौती गर्ने निर्णय गरेको भन्दै विरोध जनाएका छन् । गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल र नेपाल नगरपालिका संघले आइतबार संयुक्त विज्ञप्ति निकालेर करिब पाँच प्रतिशत रकम कटौतीको निर्णय भएको भन्दै विरोध जनाएका हुन् ।

दुवै संगठनले यो आर्थिक वर्षमा समानीकरण अनुदानमा स्थानीय सरकारमा निकासा हुनुपर्ने तेस्रो किस्ताको बजेट कटौती भएको जनाएका छन् । तेस्रो किस्तामा २५ प्रतिशत रकम निकासा हुनपर्नेमा २० दशमलक ४३ प्रतिशत रकम निकासा हुने अवस्था आएको उनीहरुको भनाइ छ ।

सरकारले गरेको प्रतिवद्धता एवं अर्थमन्त्रीले पटकपटक गरेको बाचा विपरित अनुदान कटौतीको निर्णयले आफूहरुलाई दुःखी बनाएको भन्दै स्थानीय सरकारका छाता संगठनहरुले संयुक्त रुपमा विरोध गरेका हुन् ।

निर्वाचन सम्पन्न गर्ने सीमित कार्यादेश सहित गठन भएको सरकारले संसदबाट स्वीकृत बजेट कटौती गर्नु गलत हुने भन्दै उनीहरुले निर्वाचन आचारसंहिता लागू भइसकेपछि भएको निर्णयलाई अव्यवहारिक र संघीयता प्रतिकूलको भनी टिप्पणी गरेका छन् । उनीहरुले खर्च कटौतीको निर्णय पुनर्विचार नगरे चरणवद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन ३ गते आइतबार