दबाबबीच इयु नेताहरूको रणनीतिक बैठक



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापारिक दबाब, चीनको आक्रामक आर्थिक रणनीति र रुसको हाइब्रिड खतराको सामना गर्दै युरोपेली सङ्घ (इयु) का २७ राष्ट्रका नेताहरू बेल्जियमको ऐतिहासिक एल्डेन बिसेन महलमा बिहीबार रणनीतिक बैठकमा जुटेका छन् । बढ्दो भू–राजनीतिक चुनौतीले कूटनीति, रक्षा र व्यापारप्रतिको युरोपको दृष्टिकोण पुनर्विचार गर्न बाध्य बनाएको छ ।
बेल्जियमका प्रधानमन्त्री बार्ट डे वेभरले ‘हामीले मार्ग परिवर्तन गर्नुपर्छ भन्ने सबैलाई थाहा छ, तर कहिलेकाहीँ जहाजको पुलमा उभिएर दिशा समात्न नसकेको अनुभूति हुन्छ’ भन्दै परिस्थितिको गम्भीरता व्यक्त गरेका छन् ।  बिहीबारको छलफलले मार्च अन्त्यमा हुने अर्को शिखर सम्मेलनका लागि ठोस प्रस्ताव तयार गर्ने अपेक्षा गरिएको छ ।
जर्मन चान्सलर फ्रेडरिक मेर्ज र इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनीले वासिङ्टनसँग सम्बन्ध पुनर्जीवित गर्दै दक्षिण अमेरिकाका मर्कोसुर राष्ट्रहरूसँग जस्तै थप व्यापार सम्झौतामार्फत नियन्त्रणमुक्त र खुला अर्थनीति अघि बढाउनुपर्ने धारणा राख्नुभएको छ । मेर्जले ‘हामीले प्रत्येक क्षेत्रमा नियमन घटाउनुपर्छ’ भनेका छन् । तर फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग यस विषयमा मतभेद देखिएको छ ।
रक्षा खर्चको कति भाग इयुका हतियार कम्पनीबाटै खरिद गर्नुपर्ने भन्नेमा विवाद छ । म्याक्रोनले युरोपेली कम्पनीलाई प्राथमिकता दिनुपर्ने तर्क गर्नुभएको छ भने मेर्ज र मेलोनीले विदेशी तथा युरोपेली दुवै स्रोतबाट खरिद खुला राख्नुपर्ने बताएका छन् । म्याक्रोनले क्लिनटेक, रसायन, इस्पात, अटो उद्योग र रक्षा क्षेत्रमा ‘युरोपेली प्राथमिकता’ लागू गरी उद्योग जोगाउनुपर्ने धारणा सार्वजनिक गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २९ गते बिहीबार