विकासको फेहरिस्तसहित उद्योगपति चौधरी पुनः जनतामाझ



बुटवल–नारायणगढ सडकखण्ड र हुलाकी सडकजस्ता राष्ट्रिय गौरवका आयोजनालाई गति दिन तथा अन्य स्थानीय सडक सञ्जाल विस्तारमा नेतृत्वदायी भूमिका खेलेको, चिसापानी अस्पतालमा ट्रमा सेन्टर निर्माणको पहल गरेको, साथै व्यक्तिगत रूपमा चौधरी फाउन्डेसनमार्फत चिसापानी अस्पताल, चौपत्ता सामुदायिक अस्पताल र सुस्ताका स्वास्थ्य संस्थाहरूमा आवश्यक चिकित्सा उपकरण र स्वास्थ्य सामग्री सहयोग गरेको उनी बताउँछन् ।

पुरुषोत्तम सुवेदी । नवलपरासी ।

नवलपरासी जिल्लाको क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी निकै बढेको छ । यस क्षेत्रबाट ‘हेभिवेट’ उम्मेदवारका रूपमा चर्चित उद्योगपति एवं राजनीतिज्ञ विनोद चौधरी आफ्नो विरासत जोगाउने र अधुरा काम पूरा गर्ने दाउमा पुनः चुनावी मैदानमा उत्रिएका छन् । यसअघि प्रतिनिधिसभा सदस्यको जिम्मेवारीमा रहँदा चौधरीले जिल्लाको भौतिक पूर्वाधार र स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण पहल गरेको दाबी गरेका छन् ।

उनले आफ्नो कार्यकालमा अलपत्र परेका विकास निर्माणका आयोजनाहरूलाई सक्रिय बनाउन सरोकारवाला निकायसँग निरन्तर पैरवी गर्दै आएको बताउँछन् । बुटवल–नारायणगढ सडकखण्ड र हुलाकी सडकजस्ता राष्ट्रिय गौरवका आयोजनालाई गति दिन तथा अन्य स्थानीय सडक सञ्जाल विस्तारमा नेतृत्वदायी भूमिका खेलेको, चिसापानी अस्पतालमा ट्रमा सेन्टर निर्माणको पहल गरेको, साथै व्यक्तिगत रूपमा चौधरी फाउन्डेसनमार्फत चिसापानी अस्पताल, चौपत्ता सामुदायिक अस्पताल र सुस्ताका स्वास्थ्य संस्थाहरूमा आवश्यक चिकित्सा उपकरण र स्वास्थ्य सामग्री सहयोग गरेको उनी बताउँछन् ।

चुनावी मैदानमा रहेका चौधरीले यसपटक मुख्यतया पूर्वाधार विकासका क्षेत्रमा लामो समयदेखि रोकिएका वा सुस्त गतिमा रहेका विभिन्न पूर्वाधार आयोजनाहरूलाई सुचारु गराएको दाबी गर्दै उनले ती योजनाको पूर्णतालाई प्राथमिकता दिएको बताए । ‘हेभीवेट’ उम्मेदवारका रूपमा हेरिएका चौधरीले आफ्नो चुनावी अभियानलाई उनले विगतमा आफूले गरेका कामहरूको फेहरिस्त सुनाउँदै अधुरा योजनाहरू पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिरहेका छन् । चौधरी भन्छन्, ‘नवलपरासीको माटोलाई आर्थिक समृद्धिको केन्द्र बनाउन म प्रतिबद्ध छु ।’

२०७९ को निर्वाचनमा चौधरीले यस क्षेत्रमा २९ हजार ५१९ मतसहित विजय हासिल गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेको समर्थनमा चुनावी मैदानमा रहेका जनता प्रगतिशील पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्वमन्त्री हृदयेश त्रिपाठीले २२ हजार ३२८ मत प्राप्त गरेका थिए । यसपटक पनि यी नेताहरूबीचको प्रतिस्पर्धालाई निकै चासोका साथ हेरिएको छ ।

विशिष्ट उद्योगपति र व्यस्त नेता भएकाले सर्वसाधारणले प्रत्यक्ष भेट्न कठिनाइ हुने जनगुनासोलाई सम्बोधन गर्न चौधरीले जिल्लामा छुट्टै सचिवालय स्थापना गरेका छन् । यस सचिवालयमार्फत उनले जनताको कामकाज र गुनासोलाई सहजीकरण गर्दै आएका छन्, जसले गर्दा मतदाता र सांसदबीचको दूरी कम भएको स्थानीयको बुझाइ छ ।

चौधरीले यसपटकको निर्वाचनमा मुख्यतया ‘पूर्वाधार पूर्णता र आर्थिक समृद्धि’लाई मुख्य एजेन्डा बनाएका छन् । उनी भन्छन्, ‘नवलपरासीको माटोलाई आर्थिक समृद्धिको केन्द्र बनाउन म प्रतिबद्ध छु । विगतमा सुरु गरिएका तर सुस्त गतिमा रहेका आयोजनाहरूलाई सम्पन्न गर्नु नै मेरो पहिलो प्राथमिकता हो ।’

स्थानीय मतदाताहरू पनि विकासप्रतिको हुटहुटी भएको नेताको खोजीमा छन् । स्थानीय मतदाता सरोज थापा भन्छन्, ‘हामीलाई गफभन्दा काम गर्ने नेता चाहिएको छ । उनको विकासप्रतिको हुटहुटीले हामीलाई आशावादी बनाएको छ ।’ आफ्नो राजनीतिक अनुभव र स्थानीय मुद्दाहरूलाई प्राथमिकता दिएका कारण चौधरी यस क्षेत्रमा बलियो उम्मेदवारका रूपमा देखिएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १८ गते आइतबार