ढोरपाटन। बागलुङमा विद्यालयस्तरबाटै मौलिक पन्चैबाजा संरक्षण गर्न थालिएको छ। बाजा बजाउने प्रचलन सङ्कटमा पर्न थालेपछि यसको संरक्षण गर्न जिल्लाका विभिन्न विद्यालय जागरूक भएका छन्। कतिपय विद्यालयले बाजा खरिद गरेर सिकाउन थालेका छन्। बागलुङ नगरपालिका–१२ पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीले दुई वर्षदेखि निरन्तर बाजा बजाउँदै आएका छन्।

उनीहरूले विद्यालयमा हुने कार्यक्रम र विभिन्न मेला पर्वमा बजाउने गर्छन्। विद्यालयले रु एक लाख ५० हजारमा बाजा खरिद गरेर विद्यार्थीलाई सिकाउँदै आएको प्रधानाध्यापक कृष्णप्रसाद पौडेलले जानकारी दिए।
विद्यालयका शिक्षक थमबहादुर परियारले बाजा बजाउन सिकाउँछन्। कक्षा ४ देखि १२ सम्म अध्ययनरत विद्यार्थीले बाजा बजाउने गरेको प्रअ पौडेलले बताए। उनले भने, ‘विद्यार्थीलाई गाउँघरमा हुने परम्परागत पेसाप्रति आकर्षित गराउनुपर्छ र मौलिक संस्कृतिको जगेर्ना गर्नुपर्छ भन्ने उद्देश्यले हामीले पन्चैबाजा संरक्षणमा जोड दिएका हौँ, पढाइसँगै अतिरिक्त क्रियाकलाप पनि भएको छ।’
त्यसैगरी बागलुङ नगरपालिका–८ स्थित सिगाना माध्यमिक विद्यालयका विद्यार्थी पनि पन्चैबाजा संरक्षणमा जुटेका छन्। कक्षा ३ देखि १० सम्मका विद्यार्थीले पढाइसँगै बाजा बजाउन सिकिरहेका छन्। विद्यालयमा करिब १५ जना विद्यार्थीले अहिले बाजा बजाउने गर्छन्। शिक्षक रामबहादुर नेपालीले बाजा बजाउन सिकाउँदै आएका छन्।









प्रतिक्रिया दिनुहोस्