पछिल्ला केही वर्षयता नेपालमा सर्ने रोगभन्दा पनि नसर्ने रोगहरू चुनौतीका रूपमा देखिएको छ । केही वर्ष अघिसम्म समुदायमा झाडापखाला लगायतका अन्य सरुवा रोगहरूका कारण नागरिकहरू पीडित हुने गरेका थिए । सर्ने रोगका कारण कैयौँ नागरिकहरूले अकालमा ज्यान गुमाएका घटनाहरू केही वर्ष अघिसम्म हरेक समुदायमा रहेका पाइन्थ्यो । तर पछिल्ला केही वर्षयता भने सरुवा रोगबाट भन्दा पनि नसर्ने रोगका कारण समाजमा मृत्युदर पनि बढेको देखिन्छ भने सरकार लगायतका सरोकारवाला निकायलाई यो गम्भीर चुनौतीका रूपमा समेत देखा परेको छ । मधुमेह, उच्च रक्तचाप, मिर्गौला, मुटु, क्यान्सर लगायतका नसर्ने दीर्घरोगका कारण आम नागरिकहरू पीडित बनेका देखिन्छन् । अनियमित जीवनशैली, सुर्तीजन्य तथा मदिराजन्य वस्तुको उपभोग, मोटोपना, विषादीयुक्त उपभोग्य सामाग्रीको उपभोग लगायतका कारणहरूबाट नसर्ने रोग समुदायमा आगोजस्तै फैलिँदै गएको देखिन्छ । पछिल्लो समयमा समुदायमा वृद्धि हुँदै गएको विभिन्न नसर्ने रोगहरूलाई नियन्त्रण, रोकथाम तथा व्यवस्थापन गर्नका लागि तीनै तहका सरकार तथा सम्बन्धित सरोकारवाला पक्ष गम्भीर हुनु जरुरी छ । साथै आम नागरिक आफै पनि यस विषयमा सचेत हुनु पनि आवश्यक देखिन्छ ।
नसर्ने रोगको पहिचान गर्ने, शारीरिक मापन, शरीरको उचाइ र तौलको अनुपात जाँच गरी विश्लेषण गर्ने, नसर्ने रोगको समयमै व्यवस्थापन र रोकथामका लागि नागरिकलाई सुसूचित बनाउने अभियान सञ्चालन गर्न आवश्यक छ । यसलाई न्यूनीकरण तथा रोकथामका लागि सरोकारवाला पक्षसँग विभिन्न पैरवी तथा अन्तरक्रिया कार्यक्रम गर्न तथा समुदायमा व्यापक सचेतनाका कार्यक्रमहरू गर्न जरुरी देखिन्छ । नसर्ने रोगलाई रोकथाम तथा न्यूनीकरण गर्नका लागि सरकारले विभिन्न योजनाहरू बनाएर कार्यान्वयन गर्न आवश्यक छ । प्रदेश सरकार, केन्द्र सरकार तथा स्थानीय सरकार मात्रै नभएर सरोकारवाला सम्पूर्ण पक्षसँगको समन्वय र सहकार्यमा विभिन्न सचेतनाका कार्यक्रमहरू गरिनुका साथै नीतिगत रूपमा पनि कार्यक्रमहरू बनाएर कार्यान्वयन गर्न आवश्यक छ । केन्द्र सरकारले गत वर्षदेखि मधुमेह, उच्च रक्तचाप, मिर्गौला, मुटु, क्यान्सर लगायतका नसर्ने रोगको पहिचान गर्ने, शारीरिक मापन, शरीरको उचाइ र तौलको अनुपात जाँच गरी विश्लेषण गर्ने, नसर्ने रोगको समयमै व्यवस्थापन र रोकथामका लागि नागरिकलाई सुसूचित बनाउने अभियान सञ्चालन गरिरहेको छ । यो सकारात्मक पक्ष हो। यो अभियानलाई सम्पूर्ण सरोकारवालाले सहयोग र समन्वय गर्न जरुरी छ । नीति र नियमहरूको प्रभावकारी कार्यान्वयनमा कमी, कमजोर नियमन र अनुगमन प्रणाली, उपभोक्ताहरूमा सचेतनाको कमी तथा क्षेत्रगत समन्वयको अभाव यसका चुनौतीहरू हुन् ।
यसलाई न्यूनीकरणका लागि वकालत, निगरानी, जनचेतना तथा उत्तरदायित्वमा नागरिक समाज संस्थाको भूमिका पनि उत्तिकै मात्रामा हुनुपर्छ। नसर्ने रोगको सुचालक वस्तु सुर्तीजन्य पदार्थ रहेको पाइन्छ । यसैका कारण नेपालमा प्रतिवर्ष ३९ हजार ७०० जना व्यक्तिको मृत्यु हुने गरेको तथ्यांक रहेको छ । सुर्तीजन्य पदार्थसँगै मदिरा सेवन तथा विषादीयुक्त वस्तु पनि मुख्य कारकका रूपमा रहेकाले यसलाई न्यूनीकरण तथा रोकथाम गर्नका लागि कानुनी रूपमा पैरवी र व्यवस्थापन गर्ने कार्य गर्न आवश्यक छ । नसर्ने रोग रोकथामका लागि हरेक व्यक्तिले सुर्ती तथा सुर्तीजन्य पदार्थ र मदिराको हानिकारक प्रयोग नगर्ने तथा अरुलाई गर्न नदिने, बढी नुनिलो, गुलियो र चिल्लो खाना नखाने, हरियो सागसब्जी र फलफूल खाने तथा दैनिक कम्तीमा ३० मिनेट शारीरिक अभ्यास गर्नुपर्छ । समुदायमा हुने भोजभतेर, सामुदायिक स्थलहरूमा सुर्ती तथा सुर्तीजन्य पदार्थ र मदिराको प्रयोगमा निषेध गर्ने, आफ्नो समुदायमा यस्ता वस्तु तथा पदार्थको बेचबिखनलाई निरुत्साहित पार्ने तथा स्थानीय उत्पादित तरकारी र फलफूलहरूको उपभोगमा जोड दिनुपर्छे । सरकारले पनि यस्ता वस्तु तथा पदार्थको विज्ञापनमा रोक लगाउने, कर बढी लगाउने, किशोरकिशोरीहरूलाई खरिदबिक्री गर्न नदिने र खुद्रा बिक्रीमा रोक लगाउनु आवश्यक छ ।









प्रतिक्रिया दिनुहोस्