ट्रम्पको कदमपछि युरोपमा राहत



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डसम्बन्धी आफ्नो कडा अडान नाटकीय रूपमा परिवर्तन गरेपछि युरोपेली देशहरूले बिहीबार राहतको सास फेरेका छन् । स्विट्जरल्यान्डको डाभोसमा जारी विश्व आर्थिक फोरममा सहभागी युरोपेली नेताहरूले एक दिनअघि मात्रै आठ युरोपेली राष्ट्रमा शुल्क लगाउने धम्की दिएका ट्रम्पको पछिल्लो अभिव्यक्तिलाई सकारात्मक सङ्केतका रूपमा लिएका छन् । तर यो नयाँ ग्रिनल्यान्डसम्बन्धी समझदारीले वास्तवमा के जनाउँछ भन्ने विषयमा अझै धेरै प्रश्नहरू अनुत्तरित नै रहेका छन् ।
यसैबीच, डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले आफ्नो देशको सार्वभौमसत्तामा कुनै पनि प्रकारको वार्ता सम्भव नभएको स्पष्ट पारे । अमेरिकी पक्षले ग्रिनल्यान्डमाथि बल प्रयोग नगर्ने र आर्कटिक सुरक्षाका लागि नाटोसँग सहकार्य गर्ने बताएको सन्दर्भमा उनलाई ‘यस्तो कुनै प्रस्ताव नरहेको’ जानकारी दिइएको उनको भनाइ छ । एक वक्तव्यमा उनले आर्कटिक क्षेत्रको सुरक्षा सम्पूर्ण नाटोको साझा विषय भएको र यसबारे अमेरिकी राष्ट्रपति र नाटो महासचिव मार्क रुटबीच छलफल हुनु स्वाभाविक भएको बताए । उनले डाभोसमा राष्ट्रपति ट्रम्पसँग भेटघाट हुनु अघि र पछि समेत महासचिव रुटसँग निरन्तर सम्पर्कमा रहेको जानकारी दिए ।
डाभोसकै कार्यक्रममा अमेरिकी विशेष दूत स्टिभ विटकफले राष्ट्रपति ट्रम्पले युक्रेनका लागि ‘ट्यारिफ–फ्री जोन’ जस्तो अवधारणा विचार गरिरहेको खुलासा गरे । उनका अनुसार यसले युद्धग्रस्त युक्रेनमा उद्योग र अर्थतन्त्रको पुनर्निर्माणमा ठूलो सहयोग पुर्‍याउन सक्छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ८ गते बिहीबार