जीतबहादुर शाह
नेपाललाई प्राचीन कालदेखि नै योगभूमि, तपोभूमि र ऋषिभूमिको हिसाबले चिन्ने गरिन्छ । प्राचीनकालदेखि नै नेपालका हिमालयहरू (जस्तैः कैलाश मानसरोवर, मुक्तिनाथ, खप्तड, र रुरु क्षेत्र) ऋषिमुनिहरूको मुख्य साधना स्थल रहेका छन् । यहाँको शान्त र शुद्ध वातावरण योग र ध्यानका लागि संसारकै उत्कृष्ट मानिन्छन् । हिन्दू दर्शनअनुसार भगवान शिवलाई ‘आदियोगी’ (पहिलो योगी) र ‘आदिगुरु’ मानिन्छ जसले कैलाश मानसरोवार हिमालयको काखमा योग गरेका थिए भनिन्छ । योग किंबदन्ति र प्रचलनका आधारमा नभएर विज्ञानका आधारमा प्रयोग गरिएको स्वस्थकर क्रियाकलाप हो जसको प्रभाव अहिले विश्वभर बढ्दो क्रममा रहेको छ । योगकै विस्तार हुने क्रममा सन् २०१४ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ मा विश्वभर मनाइन्छ । नेपालमा हरेक वर्ष माघ १ गते लाई राष्ट्रिय योग दिवसको रूपमा मनाउने निर्णय गरेको छ । अर्थात् सूर्य उत्तरायण हुने पवित्र दिन (माघे संक्रान्ति)लाई नै योग दिवसको रूपमा मनाउने गरेको छ । उत्तरायण सुरु हुने समय योग साधनाका लागि प्राकृतिक रूपमै उत्तम मानिन्छ । आदियोगी शिवले योगको ज्ञान पहिलो पटक मानसरोवर हिमालयको काखमा रहेका सप्तर्षिहरू (सात ऋषि)लाई दिएका थिए भन्ने कुरा हिन्दू धर्मका ग्रन्थहरूमा भेटिन्छ । ती ऋषिहरूले नै यो ज्ञान विश्वको विभिन्न भागमा फैलाएका हुन् । हिन्दू धर्मग्रन्थका अनुसार आदियोगी शिवबाट पहिलोपटक योग शिक्षा लिने सप्तऋषिहरूमा अगस्त्य, अत्री, अङ्गिराज, जेमदग्नि, भारद्वाज, कश्यप र वशिष्ठ हुन । ऋषि अगस्त्यले योगको ज्ञानलाई दक्षिण भारतसम्म पु¥याए । उनलाई दक्षिण भारतीय योग परम्पराको मुख्य स्तम्भ मानिन्छ । ऋषि अत्रि एक महान द्रष्टा र तपस्वी हुन्, जसले योग र आयुर्वेदको क्षेत्रमा ठूलो योगदान गरे । ऋषि अङ्गिरालाई ज्ञान र बुद्धिका प्रतीक मानिन्छ ।
ऋषि जमदग्नि परशुरामका पिता हुन् र आफ्नो कडा तपस्याका लागि परिचित मानिन्छन् । ऋषि भरद्वाजले योग, आयुर्वेद र सैन्य विज्ञानमा समेत महत्वपूर्ण योगदान दिए । ऋषि कश्यपलाई सृष्टिको विकास र योगको प्रचारमा महत्वपूर्ण भूमिका खेल्ने ऋषिका रूपमा चिनिन्छ । ऋषि वशिष्ठ भगवान रामका गुरु हुन् । उनको र भगवान रामको संवाद ‘योग वशिष्ठ’ नामक ग्रन्थमा समेटिएको छ, जुन योग र वेदान्तको अमूल्य खजाना हो।
माथि उल्लेख गरिएका सप्तऋषिहरू बाहेक नेपालसँग जोडिएका महर्षि पतञ्जली, ऋषि अष्टावक्र, गौतम बुद्ध र बाल्मिकि ऋषिको नाम पनि आउने गर्दछ । महर्षि पतञ्जलीलाई ‘योगका पिता’ मानिन्छ । उनले ‘योगसूत्र’ लेखेर छरिएर रहेका योगका ज्ञानहरूलाई एकै ठाउँमा समेटे । कतिपय इतिहासकारहरूका अनुसार उनको जन्म वा साधना क्षेत्र नेपालको कपिलवस्तु र तराई क्षेत्रसँग जोडिएको छ भनेका छन् । ऋषि अष्टावक्रले ‘अष्टावक्र गीता’मार्फत ज्ञानयोगको व्याख्या गरे । उनको संवाद जनकपुरका राजा जनकसँग भएको थियो, उनलाई राजा जनकका गुरु भनेर पनि चिन्ने गरिन्छ, जसले गर्दा जनकपुरलाई पनि योग र अध्यात्मको ठूलो केन्द्र मानिन्छ । लुम्बिनीमा जन्मिएका बुद्धले योगकै एक अङ्ग ‘ध्यान’ (विपश्यना)लाई परिष्कृत गरेर विश्वभर फैलाए र पूर्वीय दर्शनको रूपमा बुद्धदर्शनलाई समेत विश्वभर चिनाए । धेरै विद्वान् र भक्तजनहरूका अनुसार बाल्मिकी ऋषिको मुख्य आश्रम र साधना स्थल नेपालको चितवन जिल्लाको त्रिवेणी देवघाट (नवलपुर र चितवनको सिमाना) हो भनेर दाबी गरिएको छ । यस स्थललाई ‘बाल्मीकि आश्रम’ पनि भनिन्छ र यो गण्डकी नदीको किनारमा अवस्थित छ । रावणको वधपछि अयोध्या फर्किएकी माता सीतालाई जब वनवास पठाइयो, उनले बाल्मिकी ऋषिको यही आश्रममा शरण लिएकी थिइन् । भगवान् रामका छोराहरू लव र कुशको जन्म र उनीहरूको शिक्षादीक्षा पनि यही बाल्मीकि आश्रममा भएको मानिन्छ । लव र कुशले भगवान रामको अश्वमेध यज्ञको घोडा बाँधेको ठाउँ पनि यही क्षेत्रमा रहेको विश्वास गरिन्छ ।
त्रिवेणी देवघाटमा भएको बाल्मिकी गुफा, माता सीताले मसला पिस्न प्रयोग गरेको प्राचीन ढुङ्गाको सिलौटा र अमृत कुवा र लव–कुशको पाठशालाका जस्ता प्राचीन संरचनाका अवशेषहरू अझै देख्न सकिन्छ । केही भारतीय स्रोतहरूले भारतको उत्तर प्रदेशको ‘बिठूर’ वा अन्य ठाउँलाई पनि बाल्मिकीको जन्मथलो वा आश्रमको रूपमा चर्चा गरे पनि भौगोलिक वर्णन र रामायणमा उल्लेखित तमसा नदी र गण्डकीको सङ्गमको आधारमा भन्नुपर्दा चितवनको त्रिवेणी नै सबैभन्दा प्रमाणिक स्थल मानिएको छ । योग शिक्षा वास्तवमा पूर्वीय दर्शनमा आधारित ज्ञान हो जुन प्राचीन नेपाल हुँदै भारतसम्म फैलिएको थियो र जुन आज कुनै भूगोल वा धर्ममा मात्र सीमित नरही एक विश्वव्यापी जीवनपद्धति बनिसकेको छ । यसको प्रयोग र लोकप्रियता संसारभर फैलिनुका केही मुख्य कारणहरू छन् । पहिलो कुरा त पूर्वीय दर्शनले योगलाई ‘चित्तवृत्ति निरोधः’ अर्थात् मनका विकारहरूलाई शान्त पार्ने माध्यम भन्छ । आजको आधुनिक चिकित्सा विज्ञानले पनि स्वीकार गरिसकेको छ कि योगले ‘कोर्टिसोल’ (तनाव उत्पन्न गर्ने हर्मोन) घटाउँछ र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । यही कारणले गर्दा पश्चिमा देशहरूमा यसलाई तनाव व्यवस्थापनको उत्तम औजार मानिन्छ । दोस्रो कुरा भनेको, मानिसहरूले जिम वा अन्य व्यायामबाट शारीरिक तन्दुरुस्ती त पाउँछन्, तर मानसिक शान्तिका लागि योग र ध्यान नै रोज्ने गरेका छन् । किनभने योगले शरीर, श्वास र मनलाई जोड्ने काम गर्छ, जुन कुरा अन्य व्यायाम पद्धतिमा कमै पाइन्छ । तेस्रो कुरा भनेको संसारभरका मानिसहरू अहिले प्राकृतिक र दिगो जीवनशैलीतर्फ आकर्षित भइरहेका छन् । योगले केवल आसन मात्र सिकाउँदैन, यसले खानपान (आहार), सोच (विचार) र व्यवहार (विहार)लाई पनि अनुशासित बनाउँछ ।
पथिक बाबाका अनुसार योग भनेको शारीरिक, मानसिक र आत्मिक स्वास्थ्य आर्जन गरी आफ्नो स्वभाव हासिल गर्नका लागि उत्तम र वैज्ञानिक उपायको नाम योग हो । श्रीमद्भगबद् गीतामा ज्ञानेन्द्रीय, कर्मन्द्रीय र मनलाई एकीकृत पारी कुनै पनि कर्ममा लगाउँदा योग हुने भनिएको छ । त्यसैगरी योगका पिता मानिने पतञ्जलीका अनुसार मनमा उठ्ने विभिन्न विचार र विकारहरू(तरङ्गहरू)लाई शान्त पारेर मनलाई स्थिर बनाउनु नै योग हो । योगका परिभाषाहरूलाई पुष्टि गर्दै अष्ठाङ्ग योगका नामले योगका आठ अङ्गहरूको चर्चा गरिएको पाइन्छ जसमा यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधी पर्दछन् । यमले सामाजिक अनुशासन (अहिंसा, सत्य आदि)लाई बुझाउँछ भने नियमले व्यक्तिगत अनुशासनलाई । त्यसरी नै आसनले शरीरलाई स्थिर र सुखमय राख्ने मुद्रा, प्राणायामले श्वासप्रश्वासको नियन्त्रण र विस्तार गर्ने तरिका, प्रत्याहारले इन्द्रियहरूलाई बाहिरी संसारबाट भित्रतर्फ मोड्ने प्रक्रिया, धारणाले एकाग्रता, ध्यानले निरन्तरको चिन्तन र समाधिले परमआनन्द वा आत्मज्ञानको अवस्थालाई बुझाउने गर्दछ । यसबाट प्रष्ट हुन्छ कि धेरैले योग भनेको आसनलाई मात्र ठान्छन्, तर आसन त योगको एउटा सानो हिस्सा मात्र हो । योग त त्यो विद्या हो, जसले मानिसलाई हरेक हिसाबले पूर्ण बनाउन योगदान गर्दछ । योग गर्ने क्रममा म स्वयमले पनि अनुभूत गरेँ । योग गुरु समीर पोख्रेल (आचार्य कुलभूषण)बाट पनि जानकारी हासिल गरेँ र दामोदर न्यौपानेको ‘घरको शिक्षा’ नामक पुस्तक पनि पढेँ । सुँगुरले एक मिनेटमा तीस÷बत्तीस चोटी श्वास फेर्छ त्यसकारण यसको आयु दश÷बाह्र वर्ष मात्रै हुन्छ ।
कछुवाले एक मिनेटमा चार÷पाँच पटक मात्र श्वास फेर्छ । गहिरो श्वास फेर्ने हुनाले कछुवा चार÷पाँच सय वर्षसम्म बाँच्छ । मान्छेले सोह्र पटक श्वास फेर्छ एक मिनेटमा । त्यही भएर मान्छेको आयु सरदर पैसठ्ठी वर्ष हुन्छ । रिसाएको बेला मान्छेले एक मिनेटमा चालिसदेखि साठी पटकसम्म श्वास फेर्छ । भन्नुको मतलव मानिस सधै रिसाउने गरिरह्यो भने आयु पनि स्वभावैले घट्छ । पहिलेका ऋषिमुनिहरू प्राणायाम गर्थे त्यही भएर एक सय चालिस वर्षसम्म पनि बाँच्थे । प्राणायामको एउटा तरिका हो भस्त्रिका । यसले फोक्सोको छिद्रहरू खोल्न मद्दत गर्दछ ।मानिसको फोक्सोमा सात करोड तीस लाख कोषहरू हुन्छन् । स्वस्थ मानिसको पनि दुई करोड जति मात्रै कोषहरू सक्रिय हुन्छन् । भस्त्रिका लगायत प्राणायामका विभिन्न तरिकाहरूले मानिसको फोक्सोका बन्द र निस्क्रिय कोषहरू खोलेर सक्रिय बनाउन सहयोग गर्दछन् । मैले माथि चर्चा गरेको योगका आठ भागहरूमध्ये एउटा भाग (प्राणायाम)को मात्र हो जसले मानिसको मस्तिष्कलगायत शरीरका हरेक अङ्गहरूमा प्राणरुपी अक्सिजन पु¥याउन मद्दत गर्दछ र यसबाट मानिसलाई दीर्घजीवि पनि बनाउँछ । योगले दिर्घजीवि मात्रै पनि बनाउँदैन, यसले शरीर शुद्धि, मन शुद्धि र आत्मशुद्धिको हिसाबले पनि मानिसलाई अब्बल बनाउँछ । मानिसलाई काम, क्रोध, लोभ, मोह र हिंसाबाट पनि क्रमशः अलग गराउँछ र परोपकार पुण्याय तर्फ प्रेरित गर्दछ । जीवन र जगतप्रतिको दृष्टिकोणलाई नै सुन्दर र सकारात्मक बनाउँछ । त्यसका लागि योग गर्न भने अल्छी गर्नु हुँदैन । अर्को अर्थमा योग गर्न अल्छी गर्नु भनेको बाँच्न अल्छी गरेजस्तै हो ।
त्यही भएर आज विकसित मुलुकका मानिसहरूले योगअन्तर्गतको प्राणायामलाई दैनिकी र दिनचर्याको रूपमा आत्मसात् गरेर अपनाएको देखिन्छ भने योगको जननी क्षेत्रमा जन्मिएका हामी भने योगसँग जति नजिक हुनु पथ्र्यो त्यत्ति नजिक हुन नसकिरहेको अवस्था छ । त्यसकारण पनि हामी स्वस्थ मानिसहरू पनि अब क्रमशः अस्वस्थ बाटोतिर बरालिएको हो कि भन्ने आभास भइरहेको छ । हाम्रो शरीरका सातवटा चक्रहरू छन् –सहस्रार चक्र (शिरमा अवस्थित), आज्ञा चक्र (निधारमा अवस्थित), विशुद्धि चक्र (घाँटीको भागमा अवस्थित), अनाहत चक्र (ह्दयमा अवस्थित), मणिपुर चक्र (पेटको भागमा अवस्थित), स्वाधिष्ठान चक्र (यौनाङ्गको क्षेत्रमा अवस्थित) मूलाधार चक्र (मलद्वार क्षेत्रमा अवस्थित) । प्राय सामान्य व्यक्ति भोगविलास, कामवासना र खानपानबाट निर्देशित भइरहको देखिन्छ । जीवनका के गर्दा राम्रो हुन्छ भन्ने कुरालाई गौण ठानेर के गर्दा र के खाँदा मस्ती र रमाइलो हुन्छ भन्दैमा कतिपय मानसिहरूको जीवन घर्किरहेको हुन्छ । मानिस विवेकबाट सञ्चालिन नभएर जिब्रो र जनेन्द्रीयहरूबाट सञ्चालित भइरहेको हुन्छ । यस्तो अवस्थामा लामो श्वास तान्ने र फ्याक्ने र त्यसमा पनि शरीरको तल्लो भाग मूलाधार र स्वाधिस्ठान क्षेत्रलाई माथितिर खिच्ने योग अन्तर्गतको प्राणायामले मानिसमा नजाँनिदो किसिमबाट मनलाई खुसीपूर्वक विवेकको अधीनमा राख्न सक्ने क्षमताको विकास हुन्छ । मानिसमा यो क्षमताको विकास हुनु भनेको जीवनमा हुने गलत र पशुवत् कामबाट टाढिनु हो जसले मानिसलाई व्यावहारिक हिसाबले पनि मानिसजस्तो हुन योगदान गर्दछ । बाँकी जो हजुरहरूको मर्जी !









प्रतिक्रिया दिनुहोस्